अस्पताल नभएका ३९६ वटा स्थानीय तहमा एकैपटक आज आधारभूत अस्पतालको शिलान्यास गरिदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीका अनुसार ग्रामीण क्षेत्रमा आधारभूत स्वास्थ्य सेवा पु-याउने उद्देश्यले आज अस्पताल नभएका ३९६ वटा स्थानीय तहमा एकै पटक अस्पतालको शिलान्यास गरिने भएको हो । ‘ त्योमध्ये १५ वटा स्थानीय तहले जग्गाको व्यवस्थापन गर्न बाँकी रहेकाले त्यो काम सम्पन्न भएपछि केही दिनमा तिनीहरुको काम सुरु हुनेछ’ डा.अधिकारीले भन्नुभयो । स्थानीय तहको माग र आवश्यकताको आधारमा सरकारले ५, १० र १५ शैयाको अस्पताल निर्माण गरिने बताइएको छ ।
नेपालमै उपचारात्मक सेवामा सबैभन्दा ठूलो लगानीको सुरुवात आजबाट भएको भन्दै सरकारी निर्णयको नागरिकस्तरबाटै स्वागत गरिएको छ ।
नेपालका सातवटानै प्रदेशका ३९६ स्थानीय तहमा अस्पतालको भवन निर्माणका लागि यो वर्ष मात्रै नेपाल सरकारले ६ अर्ब १२ करोड २६ लाख बजेट निकासा गरेको छ । अस्पतालमा आवश्यक रहेको भवन तथा उपकरण खरिद गर्नको लागि ५८ अर्ब खर्च हुने अनुमान गरिएको छ । कुन अस्पतालमा कसरी जनशक्ति परिचालन हुने भन्ने बारेमा यसअघि नै निर्णय भैसकेको छ । स्त्री रोग, बाल रोग तथा सामान्य शल्यक्रियाको सुविधा अस्पतालले दिनेछन् । पाँच शैयाको अस्पतालमा एकजना मेडिकल अफिसरसहित १२ स्वास्थ्यकर्मी, १० शैयामा दुईजना मेडिकल अफिसरसहित १७ जना र १५ शैयाको अस्पतालमा तीनजना मेडिकल अफिसरसहित २७ स्वास्थ्यकर्मी खटाउने तयारी गरिएको छ । (गोरखापत्र बाट साभार)
© 2024: मा सुरक्षित । हाम्रो टिम | सम्पर्क | हाम्रो बारेमा
Developed by: Corporate Times