आन्तरिक घुमफिर अहिले नेपालमा ट्रेन्ड बनेको छ । खास गरी पछिल्लो दशकदेखि नेपालीहरुमा नयाँ चेतना फैलिएको छ, रमाइलो गर्न नयाँ ठाउँ घुम्न जाने, रहनसहन हेर्ने थाहा पाउने, ज्ञान बटुल्ने । पर्यटक भनेका विदेशीहरु मात्रै हुन्भन्ने धारणामा परिवर्तन भएको छ । उनीहरु नेपाल घुम्न आएको देखेर घुम्ने चलन अब रहेन, समाजका सबै वर्ग र उमेरलाई रमाइलो अत्यावश्यक भयो । विद्यार्थीहरुको ताजगी (रिफ्रेसमेन्ट) का लागि विद्यालय, क्याम्पस र विश्वविद्यालयहरुले नियमित शैक्षिक भ्रमणका तालिका नै बनाएर घुमाउने गरेका छन्भने विभिन्न संघसंस्था, सहकारी, बैंक, अस्पताल लगायत सामुहिक वा ब्यक्तिगत रुपमा सबैले वर्षको एक–दुई पल्ट घुमघाम गर्ने गरेका छन ।
नेपालमा घुम्नका लागि केही वर्ष अघिसम्म सिमित ठाउँहरु मात्रै परिचित थिए, धेरै विकल्प थिएनन् शायद त्यसैले होला पछिल्लो समय नयाँनयाँ ठाउँहरु विकल्पका रुपमा विकास भइरहेका छन्, भइसकेका छन् यो अवश्य पनि सकारात्मक कदम हो । पर्यटकीय स्थलहरुको विकास देखेर, त्यहाँको प्राकृतिक सुन्दरता देखेर, त्यहाँको जस्तै फरक संस्कृति भएको अनुभव गरेर होला अहिले स्थानीय निकायहरु आप्mनो क्षेत्रमा भएका नौला कुराहरु उजागर गरेर बाह्य र आन्तरिक पर्यटक लोभ्याउने मनसायले नेपालमा नयाँ ठाउँहरुलाई चिनाउँदै पर्यटकहरु आकर्षण गर्ने क्रम बढ्दो छ । यस परिपाटीले स्थानीय तहमा लुकेर बसेका एकआपसका चालचलन, रहनसहन, भाषा र संस्कृति अर्को स्थानबाट आउनेले प्रत्यक्ष रुपमा आदान प्रदान गर्न पाएका छन् जसको कारणले विभिन्न जातजातिहरुको लोपोन्मुख संस्कृतिको जगेर्नामा ठुलो टेवा पुगेको छ । साथै यस्ता ठाउँहरुमा पुगेर विदेशीहरुले भन्दा नेपालीहरुले बढी रमाइलो र खर्च गर्ने गरेको पनि पाइएको छ ।
यस्तै फरक अनुभव हुनेछ ओखलढुंगा र रामेछापको सिमानामा बग्ने लिखु आसपास क्षेत्र अनि ओखलढुंगाको लिखु गाउँपालिमा पर्ने पोकली झरना । यस क्षेत्रमा घुम्न जाने पर्यटकहरुलाई फरक यस अर्थमा लाग्छकी सुन्दा टाढा लागे पनि दुरी र समयको हिसाबले नजिक छ अनि पहिलो पटक पुग्नेहरुका लागि प्रकृतिसँग तरेली खेल्दै सुसाइरहेको झरनाको नजिक पुग्दाको आनन्द नै बेग्लै । सुन्दर झरनामा पुग्नु अघि निरन्तर सुसाउँदै गरेको लिखुले स्वागत गर्ने छ । लिखुकिनार हुँदै पहाडी खोँच छिचोल्दै पोकली झरना पुग्दा काठमाडौंदेखि ८, १० घण्टाको गाडिको यात्राले थकित शरीर पुर्नताजगी हुँदै स्वर्गीय आभास प्राप्त हुने छ । वर्षादमा गए अलि परैबाट प्राकृतिक ‘सावर बाथ’ लिन सकिन्छभने हिउँदमा नजिकबाट । स्थानीय परिकारहरुको स्वाद चाख्दै दुई–तीनदिनको बसाई सम्झन लायक बन्ने छ । यहाँ बसोबास गर्ने सुनुवार जातिहरुको संस्कृतिको चण्डिनाच, तामाङहरुको डम्फु सेलो, पुरुषहरुको बजारे नाच, खाल्टे र डाँडाखर्कका मगरहरुको मगरनाच, महिलाहरुको रत्यौली, मारुनी, ब्राम्हाणहरुको बालनभजन नाच हेर्दै रापिलो दाउराको आगोमा पकाएको सिस्नु र मकैको च्याँलाको भात अनि कोदोको ढिँढो अझ स्मरणीय बन्ने छ । पोकली र लिखुको चिसो पानीको असला माछा पाइयो भने त माछाका पारखीहरुका लागि अविश्मरणीय बन्ने छ । अनुसन्धान गर्नेहरुका लागि यस झरनामा बनझाँक्रि बस्छ भन्ने कुरा चासो पक्कै बन्न सक्छभने यो भेगमा पाइने विभिन्न जडिबुटिहरुको खोजी र संवद्र्धन अर्को विषय अवश्य बन्नेछ ।
यस क्षेत्रको यात्रामा जानुअघि ट्रेकिङको कन्सेप्टमा जानु उत्तम हुन्छ । किनभने हेर्न लायक स्थानहरु दुग्धेश्वर मन्दिर, पोकली झरनाको शिर (बोल्कती,मल्खु) दोस्रो हलेसी, चण्डीथान, थानीथान, मैनाकुन्ता–गाम्नाङ्ग, भकारेढुंगा–टार आदि ठाउँ पुग्न उकालो ओरालो हिँड्नु पर्ने हुन्छ । खान र बास बस्नका लागि केही ससाना पाहुना घर खुलेका छन्भने निकट भविष्यमा होमस्टेको व्यवस्थाका लागि स्थानीय महिलाहरुले तयारी गरिरहेका छन् ।
आप्mनो जन्मभूमिका लागि केही सामाजिक काम गर्ने उद्देश्यले २०६३ सालमा गाउँबाट राजधानी काठमाडौंमा बसोबास गर्ने स्थानीय युवाहरुको पहलमा ‘पोकली झरना सेवा समाज’ नामक सामाजिक संस्था स्थापना गरेर यस क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउने कार्य सुरु भएको हो । सेवा समाज र तत्कालीन जनप्रतिनिधिहरुको समेत सक्रियतामा पहल गर्दै त्यस क्षेत्रमा पर्यटनका आधारभूत भौतिक पुर्वाधार निर्माण कार्यहरु हुँदैआएका छन्। यसै क्रममा २०७५ सालमा नेपाल सरकारबाट १०० वटा पर्यटकीय गन्तव्यभित्र परेको यो स्थान पक्कै पनि यस क्षेत्रको लागि मुख्य गन्तव्य त हुनेनै छ, दिम्बा डाँडा र सोलु–पिके पुग्ने ट्रेकिङ् रुट यही मार्ग हुँदै तय गर्नुले पनि यो क्षेत्र अवश्य आन्तरिक एवम्बाह्य पर्यटकहरुको नजरमा पर्ने छ ।
– लेखक बुद्धिमान ढुंगाना,पोकली झरना सेवा समाजका संस्थापक उपाध्यक्ष तथा पूर्व अध्यक्ष हुनुहुन्छ ।
© 2024: मा सुरक्षित । हाम्रो टिम | सम्पर्क | हाम्रो बारेमा
Developed by: Corporate Times