नेपाल ज्योति-संघीय संसद अन्तर्गतको संसदीय सुनुवाइ समितिले संवैधानिक आयोगहरूमा रहेका रिक्त पद पूर्तिका लागि सरकारलाई निर्देशन दिएको छ ।
सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले बिभिन्न संवैधानिक आयोगमा पदाधिकारी नियुक्त नहुँदा कार्यसम्पादनमा समस्या देखिएको भन्दै आयोगहरूमा रहेका रिक्त पद पूर्तिका लागि सरकारलाई निर्देशन दिएको हो ।
महिला, दलितलगायतका आयोगहरू स्थापना भएदेखि पदाधिकारी र सदस्य नियुक्ति नभएका तथा केही आयोगमा अध्यक्ष मात्रै नियुक्त भएको र बाँकी पद रिक्त रहेकाले ती पद पूर्तिका लागि अविलम्ब नियुक्तिको प्रक्रिया अघि बढाउन निर्देशन दिइएको समिति सभापति लक्षमणलाल कर्णले जानकारी दिए ।
त्यस्तै बैठकले समानुपातिक र समावेशी रूपमा संवैधानिक र राजनीतिक पदहरूमा हुने नियुक्ति गर्नका लागि आवश्यक कानून बनाउनपनि सरकारलाई निर्देशन दिएको छ ।
समानुपातिक समावेशी सम्बन्धित संविधानको प्रस्तावना र संविधानको मौलिक अधिकारको धारा ४२ मा गरिएको व्यवस्थाअनुसार विधेयक ल्याउनका लागि निर्देशन दिइएको उनले बताए ।
बैठकमा छलफलका लागि बोलाउदा पनि प्रधानमन्त्री नआएको भन्दै आगामी बैठकमा उपस्थीत हुन प्रधानमन्त्रीलाई आग्रह गर्ने निर्णय गरिएको कर्णले जानकारी दिए ।
© 2025: मा सुरक्षित । हाम्रो टिम | सम्पर्क | हाम्रो बारेमा
Developed by: Corporate Times