काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले प्रमुख प्रतिपक्षी दल एमालेलाई संसद अवरुद्ध नगर्न आग्रह गरेका छन्। उनले निरन्तर सदन अवरुद्ध हुँदा जनप्रतिनिधिहरुको अधिकार नै खोसिएको टिप्पणी पनि गरेका छन्।
सदनमा देखिएको अवरोधबारे गम्भीर बहस गरौं, बहस गर्न संघीय संसद हुनुपर्यो’,पोखरामा आजबाट सुरु भएको २३औं सडक महोत्सवको उद्घाटन गर्दै उनले भने,‘ सरकारले सल्लाह, सुझाव माग्न खोज्छ, सदन चल्दैन। नयाँ ऐन–विधेयक ल्याउनुपर्यो। सदन नै छैन। जनप्रतिनिधि जानुहुन्छ, बोल्नै पाउनुहुन्नँ।’
उनले सरकारमा रहँदा र नरहँदा पनि राजनीतिक दलहरु राज्यकै अंग हुनुपर्नेमा जोड दिँदै उनले अगाडि भने, ‘निर्वाचनमा सहभागी भएका र बेलाबेला सरकारमा गएका नेताहरुसँग आग्रह गर्न चाहन्छु, मुलुकका समस्याप्रति संवेदनशील बनौँ, सदन सुचारु गरौँ, समयको गाम्भीर्यतालाई मनन गरेर नीति बनाऊँ।’
गृहमन्त्री खाँणले सदन नचल्दा साह्रै गाह्रो भएको र अध्यादेश पनि ल्याउन नसकिएको स्वीकारे। उनले निर्वाचनको माध्यमबाट जनप्रतिधि चुन्ने र जनप्रतिनिधिमार्फत् सरकार बनाउने प्रणालीलाई सबै राजनीतिक दलले स्वीकारेको बताउँदै अगाडि भने, ‘सरकारले यो गर्नुपर्छ, यो गर्न सकेन, यो गर्नुपर्छ भन्न पाउनुपर्यो। आलोचना गर्न त पाउनुपर्यो। संविधान हामीले नै बनाएको हो। यो प्रणालीलाई आत्मसात गरौँ र अगाडि बढाऔँ भन्ने म आग्रह गर्न चाहन्छु।’
उनले अहिले पनि केही दल र समूहहरु छिटफुट रुपमा हतियार प्रयोग गर्ने मानसिकता रहेको उल्लेख गर्दै सबै समूहलाई वार्तामा आउन आग्रह पनि गरे। ‘लोकतान्त्रिक पद्दति अनुसार नै मुलुकलाई अगाडि बढाउने हाम्रो चाहना छ। हामी मूलधारमा आउनुभएका राजनीतिक दलहरुलाई संवादबाटै समस्या हल गर्न सकिन्छ भन्ने विश्वास दिलाउन चाहन्छु। वार्तामा नआएका दलहरुलाई पनि वार्तामै आउन आग्रह गर्छु। शान्तिको विकल्प शान्ति नै हो।’ उनले दलहरुबीच फरक विचारका वावजुद पनि संविधान बनेको र यसलाई जोगाउने दायित्व दलहरुकै भएकोमा जोड दिए। ‘संविधानको अपनत्व लिने हो, अपनत्व लिन संशोधन आवश्यक भए समयसँगै संशोधन हुँदै जानेछ।’