logo

२०८१ मंसिर २५ मंगलबार

logo
  • मंगलबार, २५ मंसिर २०८१
  • २०२१ मा रेकर्डतोड संख्यामा आईपीओ निष्कासन, यी हुन् ५ सबैभन्दा ठूला

    २०२१ मा रेकर्डतोड संख्यामा आईपीओ निष्कासन, यी हुन् ५ सबैभन्दा ठूला

    2.4K
    SHARES
    २०२१ मा रेकर्डतोड संख्यामा आईपीओ निष्कासन, यी हुन् ५ सबैभन्दा ठूला

    काठमाडौं । सन् २०२० मा अनिश्चितता छाएकाले सन् २०२१ मा विश्वका कम्पनीहरुले रेकर्डतोड संख्यामा आईपीओ जारी गरेका छन्।

    गत डिसेम्बर १४ सम्मको आँकडाअनुसार विश्वभर करिब १ हजार ५०० कम्पनीहरुले ५०० बिलियन डलर मूल्यबराबरको आईपीओ निष्कासन गरेका छन्। यो संख्या र रकम सन् २०२० को तुलनामा आधीले बढी हो। यो वर्ष सर्वसाधारणमा आईपीओ जारी गर्ने विश्वका कम्पनीहरुमा उच्च तहका वित्तीय प्राविधिक कम्पनीदेखि लिएर डेटिङ एप, इलेक्ट्रिक ट्रक मेकर र अनलाइन भिडियो प्लेटफर्मसम्म रहेका छन्।

    यो वर्ष ठूलो मात्रामा आईपीओ जारी गरिए पनि धेरैजसो कम्पनीहरुले पब्लिक मार्केटमा आशाअनुरुप प्रदर्शन भने गर्न सकेका छैनन्। जसका कारण आईपीओ निष्कासनको संख्या र पब्लिक मार्केटमा कम्पनीहरुको प्रदर्शनले मेल खाएको छैन। कम्पनीहरुको कमजोर प्रदर्शनका कारण विश्व आईपीओ मार्केटको ताप कम हुँदै गएको छ। फलस्वरुप केही स्टार्टअप कम्पनीहरुले आईपीओको मिति सार्ने वा आकार घटाउनेसम्मका योजना बनाएका छन्।

    स्टार्टअप कम्पनीहरुलाई मर्जमार्फत आईपीओ निष्कासनमा सहयोग गर्ने ‘स्पेसल–पर्पस एक्युजिसन कम्पनिज’ ९एसपीएसीज०हरुको बढ्दो आकर्षणका कारण यो वर्ष सार्वजनिक निष्कासनमा जाने कम्पनीहरुको संख्या वृद्धि भएको देखिएको हो। आँकडाका अनुसार सन् २०२१ मा करिब ७०० एसपीएसीजहरुले आईपीओ निष्कासन गरेका छन्। एसपीएसीजबाहेक आईपीओ निष्कासन गर्ने कम्पनीहरुको संख्यामा मध्यम वृद्धि भएको छ।

    यो वर्ष सबैभन्दा ठूलो आईपीओ निष्कासनहरु यस प्रकार छन्–

    क्वाइनबेस (क्वाइन)
    क्रिप्टोकरेन्सी एक्सचेन्ज प्लेटफर्म क्वाइबेसको आईपीओ यो वर्षको विश्वको सबैभन्दा ठूलो हो। क्वाइनबेसले २०२१ अप्रिल १४ मा ३७.७ बिलियन डलरबराबरको आईपीओ निष्कासन गरेको थियो। परम्परागत आईपीओ निष्कासनको साटो कम्पनीले आफ्ना स्टेकहोल्डरहरुलाई प्रत्यक्ष सार्वजनिक निष्कासनमार्फत सेयर बिक्री गर्न दिएको थियो।

    आमसर्वसाधारणलाई आईपीओ जारी गर्ने पहिलो क्रिप्टोकरेन्सीका रुपमा कम्पनीले विश्वभर चर्चा बटुलेको थियो। यो आईपीओलाई धेरैजसोले क्रिप्टोकरेन्सीलाई मूल धारले अपनाउने कदमका रुपमा लिएका छन्। यो पब्लिक लिस्टिङले क्वाइनबेसको सेयर खरिदमार्फत क्रिप्टोकरेन्सीमा लगानीकर्ताहरुको अप्रत्यक्ष पहुुँच पुर्याएको छ। कम्पनीको धेरैजसो आम्दानी कारोबार शुल्कमार्फत हुने र क्रिप्टोकरेन्सी बजारसँग सम्बन्ध हुने भएकाले क्वाइबेसको प्रदर्शन हरेक त्रैमासमा फरक देखिएको छ।

    रोबलक्स (आरबीएएक्स)
    क्बाइनबेसजस्तै रोबलक्स पनि परम्परागत आईपीओको साटो डाइरेक्ट लिस्टिङमा गएको थियो। यसको लिस्टिङको आकार १३.८ बिलियन डलर रहेको छ। कम्पनीले मार्च १० मा आईपीओ जारी गरेको थियो। अनलाइन भिडियो गेम प्लेटफर्म सञ्चालन गर्ने कम्पनी नाफामा नभए पनि लगानीकर्ताले कम्पनीप्रति अत्यधिक रुचि देखाएका थिए। यो वर्ष कम्पनीको घाटा गत वर्षको भन्दा बढी भएपनि पब्लिक मार्केटमा भने कम्पनी सफल भएको छ। कारोबारमा आएदेखि कम्पनीको बजार पुँजीकरण दोब्बरले वृद्धि भएको छ। कोरोना महामारीकाबीच सन् २०१९ मा १९.१ मिलियन रहेको आफ्नो दैनिक प्रयोगकर्तालाई सन् २०२१ को तेस्रो त्रैमाससम्म ४७ मिलियन पुर्याएको छ।

    वाइज
    सन् २०२१ मा डाइरेक्ट लिस्टिङ भएको अर्को ठूलो आईपीओ वाइज कम्पनी हो। लन्डनमा आधारित फिनटेक कम्पनी वाइजले अन्तरदेशीय मनी ट्रान्सफर सेवा प्रदान गर्ने सफ्टवेयर बनाउने काम गर्छ। कम्पनीले जुलाई ७ मा आईपीओ ल्याएको थियो। कम्पनीको लिस्टीङको आकार १२.२ बिलियन डलर रहेको छ। कम्पनीको धमाकेदार पब्लिक डेब्युका बाबजुत पछिल्ला केही महिनादेखि कम्पनीको सेयरमूल्यमा ३० प्रतिशतको गिरावट आएको छ। कम्पनीको बजार पुँजीकरण १२.२ बिलियन डलर छ।

    रिभियान
    विद्युतीय अटो निर्माता कम्पनी रिभियानले जारी गरेको आईपीओ अमेरिकी बजारमा जारी गरिएको ५ वर्ष यताकै सबैभन्दा ठूलो परम्परागत आईपीओ हो। कम्पनी उबेरलाई उछिन्दै अमेरिकाको सबैभन्दा ठूलो आईपीओ बन्न सफल भएको हो। कम्पनीले गत नोभेम्बर १० मा ११.९ बिलियन डलरबराबरको आईपीओ निष्कासन गरेको थियो। कम्पनीले जनरल मोटर्स र फोर्डको बजार पुँजीकरणलाई उछिन्दै विश्वको सबैभन्दा ठूलो अटो निर्माताका रुपमा उदाएको छ। कम्पनीको बजार पुँजीकरण १०४.४ बिलियन डलर रहेको छ।

    कुएशोउ
    बेइजिङमा आधारित कम्पनी कुएशोउ एउटा सोसल मिडिया प्लेटफर्म हो। जसमार्फत प्रयोगकर्ताले छाटो भिडियो वा लाइभ स्ट्रिमिङका माध्यमबाट आफ्नो दैनिक जीवनको ‘स्निपेट’ (सानो सूचना)हरु सेयर गर्न सक्छन्। कम्पनीले गत फेबु्रअरी ५ मा ६.२ बिलियन डलरबराबरको आईपीओ निष्कासन गरेको थियो। कम्पनीको सम्पूर्ण आम्दानी चीनबाट मात्रै हुने गर्छ। आईपीओ जारी भएदेखि कम्पनीको सेयरमूल्यमा गिरावट आइरहेको छ। कम्पनीको सेयरमूल्य २८ प्रतिशतले घटिसकेको छ। अहिले कम्पनीको मार्केट क्याप ४३.९९ बिलियन रहेको छ। – एजेन्सी


    artha chautari
  • बिहिबार, १५ पुष २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट