images

सन् २०२१ का ७ घटना, जसलाई विश्वले सम्झिरहनेछ

  • पुष १६ २०७८, शुक्रबार
images

 

काठमाडौँ । आजबाट सन् २०२१ बिदा हुँदैछ। बितेको वर्ष विश्वका केही राजनीतिक परिदृश्य फरक भए। अफगानिस्तानमा २० वर्षपछि तालिबानहरू सत्तामा फर्किए। अमेरिकी राष्ट्रपति जो बाइडेन, अष्ट्रेलियन प्रधानमन्त्री स्कट मोरिसन र बेलायती प्रधानमन्त्री बोरिस जोनसनले नयाँ सुरक्षा साझेदारीको घोषणा गरे।

images

कोरोनाभाइरस महामारीको दोस्रो लहर सन् २०२१ मा संसारभरि नै चल्यो। तर, खोपको सर्वसुलभताले यसको नियन्त्रणमा आशाका किरणहरू उदाएका छन्। वर्षको अन्त्यमा आएको ओमिक्रोन भेरियन्टले फेरि एक पटक संसारलाई त्रसित बनायो। यो वर्ष पनि विश्व व्यापारमा नियन्त्रणका लागि अमेरिका र चीनबीच प्रतिस्पर्धा चल्यो। दुई देशका नेताबीच ‘शीतयुद्ध’ नै चल्यो। विश्वले लामो समयसम्म सम्झने सन् २०२१ का ७ घटना यहाँ प्रस्तुत गरिएको छ।

१) अमेरिकी संसद भवन ‘क्यापिटोल बिल्डिङ’मा ट्रम्प समर्थकको हमला
अमेरिकाको संसद भवन ‘क्यापिटोल विल्डिङ’मा यो वर्षको सुरुवातमै अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरूले हमला गरेका थिए। राष्ट्रपति निर्वाचनमा पराजय बेहोरेका ट्रम्पका समर्थकको भिडले क्यापिटोल बिल्डिङमा अचानक हमला गर्दा संसदको संयुक्त बैठक नै अवरुद्ध भएको थियो।

संसद भवनमा अमेरिकाका राष्ट्रपति जो बाइडेनको जितलाई औपचारिकता दिने काम भइरहेको थियो। हमलापछि संसद भवनलाई तत्कालै बन्द गरेर सांसदहरुलाई सुरक्षित स्थानमा राखिएको थियो। भिडले सुरक्षा अधिकारीमाथि हमला गर्नेदेखि क्यापिटोलको सार्वजनिक सम्पत्तिमा पनि क्षति गरेका थिए। उनीहरुले हमलापछि केही घण्टालाई क्यापिटोल बिल्डिङ नै आफ्नो कब्जामा लिएका थिए। यो घटनापछि त्यसमा संलग्न पाँच जनाको मृत्यु भएको थियो। जसमध्ये एक महिलालाई गोली लागेको थियो। तीन जनाको स्वास्थ्य समस्याका कारण मृत्यु भएको थियो। अन्य एक जनाको मृत्युको कारण पछिसम्म खुल्न सकेन।

यही घटनाको परिणामस्वरुप इतिहासमै पहिलो पटक अमेरिकी राष्ट्रपतिलाई सामाजिक सञ्जालमा प्रतिबन्ध लाग्यो। पूर्वराष्ट्रपति ट्रम्पलाई ट्विटरले आफ्नो नीति विपरीत चलाएको भन्दै सधैँका लागि प्रतिबन्ध लगायो। त्यस्तै, अर्को सामाजिक सञ्जाल फेसबुकले पनि ट्रम्पलाई २०२३ सम्मलाई प्रतिबन्ध लगाएको छ।

२) म्यानमारमा पुनः सैनिक ‘कू’, सुची नजरबन्दमा
म्यानमारमा सेनाले फेब्रुअरी १ को बिहानै ‘कू’ गर्दै सत्ता हत्याएको थियो। सेनाले नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) की नेतृ आङ सान सु ची र राष्ट्रपति विन मिन्ट लगायतलाई गिरफ्तार गर्दै सत्ता नियन्त्रणमा लिएको थियो। सेनाले अधिकांश सांसदलाई पनि गिरफ्तार गरेको थियो।

नेताहरुलाई पक्राउ गरेको केही घण्टापछि सेनाले टेलिभिजनमार्फत म्यानमारको सत्ता आफ्नो नियन्त्रणमा रहेको र एक वर्षका लागि संकटकाल घोषणा गरिएको जनाएको थियो। सेनाले म्यानमारको सत्ता सेनाप्रमुख मिन आङ ह्लाइङलाई सुम्पिएको जनाएको थियो।

त्यसपछि केही दिन म्यानमार शान्तजस्तै देखिएको थियो। फाट्टफुट्ट प्रदर्शन भएको थियो। तर, केही दिनमा नै त्यहाँका जनता सैनिक शासनविरुद्ध आन्दोलनमा उत्रिए। लामो समयसम्म चलेको आन्दोलनमा सरकारी कर्मचारी र शिक्षकले पनि साथ दिएका थिए। तर, ५०० भन्दा बढी मान्छेको मृत्यु भएको आन्दोलन विस्तारै सेलाएको थियो।

३) अफगानिस्तानमा फर्किए तालिबान
अमेरिकी नेतृत्वको फौजले काबुलबाट बाहिर धपाएको २० वर्षपछि तालिबान फेरि अफगानिस्तानको सत्तामा फर्कियो। तालिबानहरू १५ अगस्टमा काबुलको राष्ट्रपति भवन प्रवेश गरेका थिए। त्यहाँका राष्ट्रपति असरफ गनीले सुटुक्क देश छाडेर भागेपछि तालिबानहरू राष्ट्रपति भवनमा बन्दुकसहित घुसेका थिए।

तालिबानले सत्ता हातमा लिएपछि काबुलमा सर्वसाधारण निकै त्रसित भए। अफगानिस्तान छाड्नेको भिडले काबुल विमानस्थल अस्तव्यस्त बनेको थियो। काबुललाई तालिबानले नियन्त्रणमा लिएपछि पनि आफ्ना कर्मचारी र कुटनीतिज्ञलाई फिर्ता लैजान अमेरिकी सेनाले काबुल विमानस्थल छाडेको थिएन। यसअघि अमेरिकी सेनाले अफगानिस्तानबाट झन्डै २० वर्षपछि पूर्णरूपमा आफ्नो सेना फिर्ता गरेको थियो। त्यही कारण तालिबान सहज रुपमा काबुल पसेको थियो।

४) स्वेज नहरमा पानीजहाज फस्दा विश्वकै महँगो ट्राफिक जाम
विश्वकै व्यस्त व्यापारिक मार्ग इजिप्टको स्वेज नहरमा मार्च २३ मा मालवाहक पानीजहाज अड्किएपछि अवरुद्ध भयो। ६ दिनसम्म उक्त जलमार्ग अवरुद्ध हुँदा ६ देखि १० अर्ब अमेरिकी डलर बराबरको व्यापार रोकिएको समाचार संस्था रोयटर्सले जनाएको थियो। त्यति बेला यो नहरमा कम्तीमा ३६९ वटा पानीजहाज अड्किएका थिए। स्वेज नहरबाट सन् २०२० मा मात्रै १९ हजार पानीजहाज ओहोरदोहोर गरेका थिए।

‘एभर गिभन’ नामक जहाज त्यहाँ अड्किएको थियो। करिब ४०० मिटर लामो तथा ५९ मिटर चौडाइ भएको मालवाहक पानीजहाज तेर्सो परेर अड्किएपछि एसिया र युरोप जोड्ने जलमार्ग ठप्प भएको थियो । पछि यसको पछाडिको भागलाई नहरको किनारातिर तानिएको थियो। त्यसका लागि १४ वटा डुंगाहरू प्रयोग गरिएको थियो ।

अचानक आएको हावाहुरीका कारण विशाल पानीजहाज नहरमा तेर्सिएको थियो। दस वर्ष लगाएर सन् १९६९ मा निर्माण सम्पन्न भएको नहर १९३.३ किलोमिटर लामो छ । एसिया र युरोपबीचको सबैभन्दा छोटो जलमार्गबाट विश्वको १२ प्रतिशत व्यापार हुने गर्छ।

५) कोभिड भ्याक्सिनको सर्वसुलभता 
सन् २०२१ मा कोभिडविरुद्धको खोप सबै देशमा पुग्यो। यसको सर्वसुलभताले महामारी नियन्त्रण गर्न सघाउ पुर्‍यायो। तर, यो वर्ष नै नयाँ भेरियन्टका कारण चिन्ता पनि थपियो।

No description available.

सन् २०२१ मा नै डेल्टा भेरियन्टका कारण विश्वभरि नै कोरोना महामारीको दोस्रो लहर चल्यो। वर्षको अन्त्यमा दक्षिण अफ्रिकाबाट सुरु भएको भनिएको ओमिक्रोन भेरियन्टले त्रास थप्यो। तर, यो भेरियन्ट धेरै घातक नभएको चर्चासँगै त्रास कम भएको छ। यद्यपि, भारत, बेलायतलगायत देशमा यात्रा प्रतिबन्धमा कडाइ गरिएको छ। नयाँ दिल्लीमा रात्रिकालीन कर्फ्यु सुरु गरिएको छ।

६) उत्तर कोरियामा ११ दिनसम्म हास्न र किनमेलमा प्रतिबन्ध
उत्तर कोरियाका पूर्वनेता तथा किम जोङ उनका बुवा, किम जोङ इलको १०औं पुण्यतिथिको अवसरमा ११ दिनसम्म शोकको घोषणा गरिएको थियो। शोकको घोषणा गर्दै उत्तर कोरियाले आफ्नो नागरिकलाई डिसेम्बर १७ देखि ११ दिन हाँस्न, रक्सी पिउन र किनमेलका लागि प्रतिबन्ध लगाएको थियो।

No description available.

यी ११ दिनमा कसैको मृत्यु भएमा रुनसमेत अनुमति थिएन। त्यस्तो परिवारले शवलाई राष्ट्रिय शोकपछि मात्र घरबाट निकाल्नु पर्ने बीबीसीले समाचारमा उल्लेख गरेको थियो। यस अवधिमा जन्मदिनसमेत मनाउन प्रतिबन्धित थियो।

१७ डिसेम्बर दिउँसो पूरै देशमा एक साथ साइरन बजाइएको थियो र मानिसहरु तीन मिनेटका लागि कुमसुसान दरबारको दिशामा उभिएर इललाई श्रद्धाञ्जली दिएका थिए। किम जोङ इलको मृत्यु २०११ डिसेम्बर १७ मा भएको थियो। उनको मृत्युको दुई दिनसम्म कुनै आधिकारिक घोषणा गरिएको थिएन। दुई दिनपछि सरकारी सञ्चारमाध्यममा यसबारे घोषणा गरिएको थियो।

७) मनोरन्जनमा स्क्विड गेमको प्रभाव
२०२१ मा विश्वले याद गर्ने अर्को घटना हो, ‘स्क्विड गेम’ वेब सिरिजको प्रदर्शन। नेटफिल्क्समार्फत रिलिज भएको यो सिरिजले विश्वलाई नै चकित बनाइदियो।

No description available.

नेटफिल्क्सको इतिहासकै सबैभन्दा सफल र धेरै आम्दानी गर्ने सिरिज बन्यो। दक्षिण कोरियाली यो सिरिजमा बालबालिकाले खेल्ने विभिन्न ६ वटा खेलहरुमार्फत जीवन र मृत्युको कथालाई देखाइएको छ। ह्वाङ दुक ह्युकको निर्देशनमा बनेको यो सिरिज सेप्टेम्बर १७ मा प्रदर्शनमा आएसँगै ऋणैऋणमा डुबेको नेटफिल्क्सलाई उकास्ने मात्रै नभएर मानिसबाट हराइरहेको यसको साखलाई पनि जोगाउनमा उत्तिकै भूमिका खेल्यो।

तथ्यांकका अनुसार नेटफिल्क्सले कुल १ बिलियन अमेरिकी डलर आसपासको आम्दानी गरेको छ। सिरिजको निर्माण भने २१ मिलियन अमेरिकी डलर खर्च गरेर बनाइएको थियो।

images