काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित आन्तरिकतर्फको टर्मिनलबाट स्रोत नखुलेको ५० लाख रुपैयाँ बरामद घटनामा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सौर्य एयरलाइन्स विराटनगरका स्टेसन म्यानेजर प्रकाश पौडेल रहेको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख तथा एसएसपी सुरेन्द्रप्रसाद मैनालीले जानकारी दिए।
स्रोत नखुलेको उक्त रकम लिन आएकी सौर्य एयरलाइन्सकै कर्मचारी रेखा शाक्य पोखरेललाई शनिबार विमानस्थल प्रहरीले पक्राउ गरेको थियो। पक्राउ परेकी रेखाले उक्त रकम विराटनगरका स्टेसन म्यानेजर पौडेलले पठाएको बताएपछि उनलाई पक्राउ गरिएको हो। विराटनगरमा पक्राउ परेका पौडेललाई काठमाडौं ल्याउँदै गरिएको र काठमाडौं ल्याएपछि राजस्व अनुसन्धान विभागको जिम्मा लगाइने एसएसपी मैनालीले बताए।
स्रोत नखुलेको उक्त रकमबारे अनुसन्धान गर्न प्रहरीले राजस्व अनुसन्धान विभाग पठाएको छ। शनिबार सौर्य एयरलाइन्सको एसएयू ७२४ नम्बरको उडानमार्फत् दिउँसो १ः५५ बजे विराटनगरबाट काठमाडौं आएको विमानबाट उक्त रकम बरामद भएको थियो। अवैध रकम आउँदै गरेको भन्ने सूचनाका आधारमा खटिएको सादा पोसाकको प्रहरी टोलीले जाँच गर्दा झोलाभित्र रातो प्लास्टिकले बेरेर राखेको अवस्थामा करेन्ट चाउचाउको कार्टुनभित्र ५० लाख भेटिएको थियो। स्रोत नखुलेको र भन्सार उद्घोषसमेत नगरिएको उक्त रकम लिन रेखा विमानस्थल पुगेकी थिइन्।
© 2024: मा सुरक्षित । हाम्रो टिम | सम्पर्क | हाम्रो बारेमा
Developed by: Corporate Times