काठमाडौं । सरकारले रासायनिक मल खरिदका लागि थप १२ अर्ब ७१ करोड विनियोजन गरेको छ। अन्तर्राष्ट्रिय बजारमा मलको मूल्य वृद्धि भएकाले चालु आवमा मल खरिदका लागि विनियोजित १५ अर्बमा १२ अर्ब ७१ करोड थप गरेको हो।
कृषि तथा पशुपक्षी मन्त्रालयद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री महिन्द्रराय यादवले अन्तर्राष्ट्रिय बजारमा मलको उत्पादनमा कमी आएकाले मूल्य वृद्धि भएको बताए। १२ हजार ५०० मेट्रिक टन मल मौज्दात रहेको बताउँदै उनले आगामी दिनमा हुने मलको चाप धान्न सक्ने अवस्था नरहेकाले थप रकम विनियोजन गरेको जानकारी दिए।
आगामी तीन महिनासम्म ७५ हजार मेट्रिक टन मल आवश्यक पर्ने देखिएको उनको भनाइ छ। मल खरिदका लागि टेण्डर भइसकेको बताउँदै मन्त्री यादवले अन्तर्राष्ट्रिय बजारमा देखिएको विषम परिस्थितिले आयात हुन नसकेकाले अभाव भएको बताए। कृषि सचिव डा गोविन्दप्रसाद शर्माले मलको समस्या निराकरणका लागि मन्त्रालयबाट प्रयास भइरहेको उल्लेख गर्दै आगामी दिनमा मलको सहज व्यवस्थापन तथा आपूर्तिमा प्रदेश र स्थानीय तहसमेतलाई व्यवस्थित बनाइने जानकारी दिए।
© 2024: Arthachautari मा सुरक्षित । हाम्रो टिम | सम्पर्क | हाम्रो बारेमा
Developed by: Corporate Times