काठमाडौं । देशका विभागीय मन्त्रालय कसले चलाउला ? उत्तर सामान्य छ मन्त्री । तर संघिय सरकारको शहरी विकास मन्त्रालयनै विगत १० बर्षदेखि एक सुब्बाले चलाएका छन् भन्दा अच्चम लाग्न सक्छ । यो साँचो हो । विगतका सरकारको चर्को विरोध गर्ने नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुकमारी झाँक्रीको यो मन्त्रालयनै विगत एक दशक देखि एक जना सुब्बाकै भरमा चलिरहेको छ ।
धनकुटा स्थायि घर भएका मन्त्रालयको स्टोर शाखामा कार्यरत सुब्बा युवराज गिरी लामो समयदेखि मन्त्रालय चलाइरहेका छन् । उनी मन्त्रालयको स्टोर शाखामा कार्यरत भए पनि अधिकांश समय मन्त्रीकै अघिपछि भेटिन्छन् । मन्त्रीको दैनिक कार्यतालिकाको विषयमा सचिव, सहसचिव र सचिवालयका कर्मचारी भन्दा बढी उनी जानकार हुन्छन् । अझ भन्दा, मन्त्रीको सबै कार्यक्रम उनैले तय गर्ने गरेको मन्त्रालयका कर्मचारी बताउँछन् ।
झाँक्री मन्त्री भएको बेलामा मात्रै होइन, उनको रवाफ अरु मन्त्री हुँदा पनि उत्तिकै थियो । तर, मन्त्रालयमै पूरै हालीमुहाली गर्न भने पाएन थिएनन् । यसपटक मन्त्रीको आगमनसँगै उनलाई यत्ति सजिलो भयो कि उनी सचिवालयका कर्मचारी, सचिव, सहसचिव सबैभन्दा माथिल्लो तहमा पुगेर काम गर्न थाले । गिरी २०७२ सालको भुकम्पमा शहरी विकास मन्त्रालयले हतारमा त्रिपाल खरिद गरेर अनियमितता गरेको आरोप लागेको थियो । सोही क्रममा उनी तीन वर्षसम्म निलम्बनमा पनि परेका थिए । यद्यपि उनले उक्त मुद्दामा भने सफाइ पाएका थिए ।
त्यस्तै गिरीले मन्त्रालयमा कर्मचारी खटन पटन देखि मन्त्रालयको सेवा सुविधा उपयोग सम्म आफ्नै नियम बनाएका छन् । उनले २०७२ पछि मन्त्रालयबाट चालक सहितको सवारी सुविधा लिएका छन् । गिरीले सरकारी सम्पत्तिको चरम दुरूपयोग गर्दै सिंहदरबारमै बसेर ऐन र कानुको खिल्ली उडाइरहेका छन् । सामान्यतया एक, डेढ वा दुई वर्षमा सरकारी कर्मचारीहरूको सरुवा हुने गर्छ । तर, गिरी भने १० वर्षभन्दा लामो समयदेखि मन्त्रालयको स्टोर प्रमुखको रूपमा कार्यरत छन् । तर, त्यत्ति हुँदा पनि उनलाई निलम्बन गर्ने त परै जाओस् स्पष्टीकरण समेत कसैले सोध्न सकेका छैनन् । उनलाई यसअघिका मन्त्रीले सरुवा गर्न नखोजेका पनि होइनन् । तर, सुब्बासापको पावरको अगाडि कसैले केही पनि चलेन ।
दर्ताचलानी शाखामा भएका उनका नातेदारका कारणले उनको सरुवाको पत्र प्रशासनसम्म कहिल्यै पनि पुग्न नसकेको स्रोत बताउँछ । ‘उहाँ ९युवराज गिरी०लाई सरुवा गर्नका लागि धेरैपटक सरुवाका पत्र आए,’ स्रोतले भन्यो, ‘तर बिडम्बना के भने, त्यो पत्र कहिल्यै पनि प्रशासन पुग्न पाएन, दर्ताबाट च्यातेर फालिए ।’
मन्त्री झाक्रीसँग भाउजुको सम्बन्ध
मन्त्री रामकुमारी झाँक्रीलाई सुब्बा गिरीले भाउजु सम्बोधन गर्छन् । मन्त्री झाँक्रीले पनि सचिव र अन्य कर्मचारीलाई भन्दा उनैलाई बढी महत्त्व दिने गर्छन् । केही दिनअघि मन्त्रीले आयोजना गरेको पत्रकार सम्मेलनमा पनि मन्त्रीमाथि सचिवालयमा कर्मचारीको भूमिको सन्दर्भमा प्रश्न उठेको थियो । तर, मन्त्री झाँक्रीले उचित जवाफ दिन सकिनन्। उहाँले सबैले आ–आफ्नो स्थानमा रहेर काम गरेको दाबी गरे पनि मन्त्रालयमा त्यस्तो अवस्था देखिँदैन ।
यसअघि भएका मन्त्रीहरूलाई पनि गिरीले आफ्नो पक्षमा पार्न नखोजेका होइनन् । केही मानेनन् भने केहीले उनलाई टेरेनन् । तर, अहिले भने उनले मन्त्रालय नै आफूले चलाइरहेका छन् । मन्त्रालयका योजना, नीतिगत निर्णय र सरुवाबढुवा देखि अन्य निर्णयमा पनि उनको प्रत्यक्ष संलग्नता रहने गरेको मन्त्रालय उच्च स्रोत बताउँछ । सामान्यतया मन्त्रीले सचिव, उपसचिव र कर्मचारीहरूलाई खटनपटन गर्ने गर्छन् । तर, शहरी विकास मन्त्रालयमा भने मन्त्रीको पूर्ण समर्थन पाएर सुब्बासाप राज गरिरहेका छन् । उनलाई मन नपरेको र आफू अनुकुलका कर्मचारी नआए सरुवा समेत गराउने हैसियत गिरीले राखेको मन्त्रालय उच्च स्रोतको भनाइ छ ।
त्यत्तिमात्रै होइन, मन्त्री झाँक्रीलाई सचिवालयमा कर्मचारी हाबी भएको विषयमा पार्टीबाटसमेत प्रश्न तेर्सिएको छ । तर, मन्त्रीले सुब्बासापको संरक्षण गर्न छाडेकी छैनन् । सुब्बासापप्रति मन्त्रीको यति धेरै संरक्षण गर्दै काखी च्याप्नुका पछाडि निहीत स्वार्थ जोडिएको यसै पुष्टि हुन्छ । मन्त्रालयका सामान्य सुब्बाको यति धेरै संरक्षण किन भइरहेको छ भन्ने प्रश्नको उत्तर या मन्त्रीज्यूलाई थाहा होला या त सिंगो मन्त्रालय चलाइरहेका सुब्बासापलाई !