images

सेयर बजारमा निर्वाचनको प्रभाव

  • February 2, 2022

काठमाडौं । सत्ता गठबन्धनमा स्थानीय तहको निर्वाचन जेठभित्र गर्ने सहमति जुटेसँगै सेयर बजारमा उत्साह छाएको छ। चुनाव पछाडि सर्ने हल्लाले गत साता निरन्तर ओरालो लागेको सेयर बजार यो साताको पहिलो कारोबार दिन आइतबार १०५.५५ अंकले बढेर २८८५.५३ बिन्दुमा उक्लिएको थियो। सोमबार घटे पनि मंगलबार पुनस् दोहोरो अंकले बढेको छ।

शनिबार बसेको सत्ता गठबन्धनको बैठकले आगामी जेठभित्र चुनाव गर्ने सहमति जुटाएको थियो। उक्त सहमतिसँगै आइतबार सेयर बजारमा उत्साह छाएको सेयर बजारका जानकार तथा सेयर लगानीकर्ता संघका उपाध्यक्ष ताराप्रसाद फुल्लेल बताउँछन्। उनी भन्छन्, ‘सेयर बजार घटबढ हुने यसको आफ्नै प्रोसेस हो। अहिले बढेको बजारलाई निर्वाचनको कारण नै बढेको भन्न त नमिल्ला। तर, चुनावले सेयर बजार बढ्नलाई मद्दत भने अवश्य पुर्‍याउने गरेको हुन्छ।’

images

सेयर बजार र चुनावको सम्बन्ध
निर्वाचन समयमै हुँदा तरलता सहज हुने र सेयर बजारमा पनि लगानी बढ्ने नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल बताउँछन्। उनी भन्छन्, ‘निर्वाचनसँग सेयर बजारको सम्बन्ध भनेकै सेयर बजारमा दूरदराजबाट बैंकिङ प्रणालीमा लगानी आउँछ। यसैगरी चुनाव हुने समयसँगै स्थानीय तहमार्फत् विकासका आयोजनाको काम पनि द्रूतगतिमा हुने गर्दछ।’

निर्वाचनमा सरकारदेखि स्थानीय तहका उम्मेदवारहरुसम्मले खर्च गर्ने भएका कारण यसले बैंकिङ क्षेत्रमा तरलता सहज बनाउने ढकाल बताउँछन्। उनी भन्छन्, ‘आगामी स्थानीय निर्वाचनले दिगो सरकारको गठन हुनेमा लगानीकर्ता विश्वस्त रहेका छन्। यसअघिका वर्षहरूमा पनि निर्वाचनको समयमा बजारले राम्रै गति लिएकाले यस वर्ष पनि सोही गतिलाई पछ्याउने अपेक्षा गर्न सकिन्छ।’

यसैगरी चुनाव हुँदै गर्दा पैसा खर्च बढ्ने र त्यसको सकारात्मक असर सेयर बजारमा देखिने उपाध्यक्ष फुल्लेल बताउँछन्। उनी भन्छन्, ‘खर्च भएको पैसा बैंकिङ प्रणालीबाट आउँछ। अहिले तरलता अभावको कारण ऋण नपाएर लगानी गर्न नपाएका लगानीकर्ताले यो समयमा सजिलै ऋण लिन पाउँछन्। बैंकिङ क्षेत्रमा पैसा आउन थालेपछि ब्याजदर पनि घट्न थाल्छ।’

अहिलेको सेयर बजार नियामक निकायको विभिन्न नीतिका कारण चेपुवामा परिरहेको अवस्थामा रहेको उनको बुझाइ छ। उपाध्यक्ष फुल्लेल थप्छन्, ‘नयाँ सरकार आए पनि सेयर बजारको लागि नयाँ नीति तथा अहिले भएको नीतिगत व्यवस्थामा केही सहज हुन्छ कि भन्ने लगानीकर्ताको मनोविज्ञान हुन्छ। जसले गर्दा सेयर बजारलाई सकारात्मक बाटोतिर लग्ने देखिन्छ।’

इन्भेस्टर्स फोरमका अध्यक्ष ढकालका अनुसार अहिले एउटा गतिमा चलिरहेको राजनीतिक व्यवस्था चुनावपछि परिवर्तन हुनसक्छ। ढकाल थप्छन्, ुसंसदीय चुनावपछि नयाँ सरकार आउँछ। नयाँ सरकारसँगै नयाँ सोच आउँछ। नयाँ नीति तथा नियमहरु निर्धारण हुन्छन्। जसले गर्दा सेयर बजारलाई पनि सकारात्मक लयमा ल्याउन मदत पुर्‍याउँछ।’

विगतको अनुभव
यसअघिका निर्वाचनहरुमा पनि सेयर बजार उकालो लाग्ने गरेको विगत १५ वर्षदेखि सेयर बजारमा लगानी गरिरहेका लगानीकर्ता तथा नेपाल इन्भेष्टर्स फोरमका पूर्वअध्यक्ष छोटेलाल रौनियार बताउँछन्। उनी भन्छन्, ‘२०७४ सालमा भएको निर्वाचनले पनि सेयर बजार सकारात्मक बनेको थियो। त्यो बेला ११ सय बिन्दुको हाहाहारीमा भएको सेयर बजारले १७ सय बिन्दुसम्म आफ्नो गति बढाएको थियो।ु

यसअघि २०७४ वैशाखको अन्तिममा पहिलो चरणको स्थानीय निर्वाचन सम्पन्न भएको थियो। त्यतिबेला वैशाख १ देखि मसान्तसम्म सेयर बजार १६ सयदेखि १७ सय बिन्दुको बीचका कारोबार भएको नेप्सेको तथ्यांकले देखाउँछ। निर्वाचन घोषणा हुनुभन्दा अगाडि २०७३ सालको सुरुआततिर सेयर बजार ११ सय बिन्दुको हाराहारीमा रहेको थियो। निर्वाचनको समय उकालो लागेको सेयर बजार पछि फेरि घटेर ११ सय बिन्दुमै आएको थियो।

कोरोना महामारीको सुरुआत र महामारीका कारण व्यवसाय बन्द हुँदा पछिल्लो दुई वर्षयता बजारले पनि नयाँ उचाई कायम गरेको छ। यसैगरी पछिल्लो केही समययता सेयर बजारमा नयाँ कम्पनीको प्रवेश पनि उल्लेख्य रुपमा बढेको छ। जसले गर्दा पनि सेयर बजारमा नयाँ लगानीकर्ताको उत्साह बढ्दो छ। सबै कुरा सकारात्मक रहेको बेला चुनावपछि पनि सेयर बजार सकारात्मक लयमै रहने जानकारहरुको भनाइ छ।

यसैबीच, मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगका पदाधिकारीहरुसँग स्थानीय तह निर्वाचनबारे छलफल गरेका छन्। उक्त छलफलमा प्रधानमन्त्री देउवा र आयोगका पदाधिकारीहरुबीच जेठ ४ मा स्थानीय निर्वाचन गर्ने सहमति भएको जानकारी दिइएको छ। यो सहमतिले सेयर बजारलाई कुन दिशामा लैजान्छ, त्यो भने हेर्न बाँकी नै छ।