काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको आईपीओ आज (फागुन १२ गते) बाँडफाँड हुँदैछ । कम्पनीले गत फागुन ४ गतेदेखि ८ गतेसम्म संस्थाको कर्मचारी, सामूहिक लगानी कोष र सर्वसाधारणका लागि गरी कुल ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५९ हजार कित्ता आइपीओ जारी गरेको थियो ।
तर, उक्त आईपोओको अन्तिम दिनसम्म अर्थात् फागुन ८ गतेसम्म कम्पनीको आईपीओका लागि ३ अर्ब ५ करोड २० लाख ८८ हजार रुपैयाँ बराबरको कुल ३ करोड ५ लाख ३१ हजार ३७० कित्ताका लागि आवेदन परेको छ । अन्तिम दिनसम्म २६ लाख ३४ हजार ६२६ जनाले ३ करोड ५ लाख ३१ हजार ३७० कित्ताका लागि आवेदन दिएको सीडीएसले जनाएको छ । यो कुल मागको ३८.४२ गुणा बढी आवेदन हो ।
यो हिसावले कम्पनीको आईपीओका लागि आवेदन दिनेहरुले सेयर हात पार्ने सम्भावना अत्यन्त न्यून छ । कुल ८ लाख ५९ हजार कित्ताका लागि मात्र आवेदन माग गरिएकोमा बढीमा ८५ हजार ९०० जनाले मात्र न्यूनतम १० कित्ताका दरले कम्पनीको आईपीओ पाउने छन् । बाँकी २५ लाख ४८ हजार ७२६ जनाको हात खाली हुने देखिन्छ ।
यो भनेको अधिकतम ९६.७४ प्रतिशत आवेदकहरुको हात खाली हुने हो । जम्मा ३।२७ प्रतिशतले मात्र कम्पनीको सेयर पाउनेछन् । कम्पनीले गत फागुन ४ गतेदेखि ८ गतेसम्म कुल ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५९ हजार कित्ता आईपीओ जारी गरेको थियो । जसमध्ये ४२ हजार ५ सय कित्ता सेयर अर्थात् ५ प्रतिशत सेयर सामूहिक लगानी कोष र १३ हजार कित्ता अर्थात् ०।५ प्रतिशत सेयर कर्मचारीहरुका लागि छुट्याइएर बाँकी रहेको ७ लाख ९४ हजार ५ सय कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएको थियो । आईपीओ बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल रहेको छ ।