सुर्खेत । नेकपा एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले एमालेलाई सिध्याउन सञ्चार माध्यमहरू लागि परेको आरोप लगाएका छन् ।
प्रेस चौतारी नेपाल कर्णाली प्रदेश समितिको प्रथम अधिवेशनमा बोल्दै उनले एमालेमाथि चौतर्फी घेराबन्दी भइरहँदा सञ्चारमाध्यमले पनि साथ दिएको भन्दै आक्रोश जनाए । प्रेस चौतारीका सह-इञ्चार्ज समेत रहेका रिजालले भने, ‘त्यसलाई तोड्न प्रेस चौतारीले महत्वपूर्ण भूमिका खेल्नुपर्छ । देशका सम्पूर्ण राजनीतिक दलहरु पनि एमालेविरोधी गतिविधिमा छन् ।’
आगामी निर्वाचनमा एमाले पहिलो शक्ति केन्द्रका रुपमा स्थापित हुनुपर्ने रिजालले खाँचो औंल्याए । ‘चुनावमा हामीलाई दोस्रो हुने छुट छैन । पार्टीको विजयका लागि लडाइँ लड्नुपर्ने र वर्तमान विकृत संसदीय अभ्यासका खेल भइरहेकाले त्यसलाई सही ट्रयाकमा ल्याउन एमाले लाग्नुपर्छ’, रिजालले भने ।