काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडको आईपीओमा आवेदन दिने आज फागुन २० गते अन्तिम दिन रहेको छ। कम्पनीले गत फागुन २ गतेबाट आयोजना प्रभावित स्थानीयका लागि आईपीओमा आवेदन खुला गरेको छ। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन पाइने धितोपत्र बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले जनाएको छ।
कम्पनीले जारी पुँजी ३ अर्ब १२ करोड रुपैयाँमध्ये १० प्रतिशतले हुन आउने १०० अंकित दरका कुल ३१ लाख २५ हजार कित्ता आयोजना प्रभावित ओखलढुंगा र रामेछापका स्थानीयका लागि निष्कासन गरेको छ। यो आईपीओमा ओखलढुंगाको खिजिदेम्बा गाउँपालिकाका वडा नं. १, २ र ३ तथा लिखु गाउँपालिका वडा नंं ९ का स्थानीय र रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा नं. १ र २ तथा उमाकुण्ड गाउँपालिका वडा नं. ७ का स्थानीयले आवेदन दिन सक्नेछन्।
आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। आवेदन रामेछापको मन्थलीस्थित लक्ष्मी बैंक र मेगा बैंक र लिखुस्थित नेपाल इन्भेस्टमेन्ट बैंक तथा खिजिदेम्बास्थित मेगा बैंकबाट आवेदन दिन सकिनेछ। पहिलो चरणमा स्थानीयलाई आईपीओ बिक्री गरेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि जारी पुँजी ३ अर्ब १२ करोड रुपैयाँमध्ये १० प्रतिशतले हुन आउने १०० अंकित दरका कुल ३१ लाख २५ हजार कित्ता निष्कासन गर्नेछ। यो आईपीओलाई नेपाल धितोपत्र बोर्डले गत माघ ९ गते निष्कासन अनुमति दिएको थियो।