काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले अमेरिकी आर्थिक सहयोग परियोजना अनुमोदन पछिको विवाद समाधानका लागि पार्टीभित्र साझा धारणा बनाउने भएको छ।
त्यसका लागि शनिबार विहान कार्यालयको विस्तारित बैठक डाकिएको छ। पुसको आठौं महाधिवेशनपछि शुक्रबार बसेको दोस्रो केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले धारणा राखेका थिए। जसमा वरिष्ठ नेता श्रेष्ठले एमसीसीबारे भिन्न मत राखेपछि कार्यालयको विस्तारित बैठकमा छलफल गरेर साझा धारणा बनाउन लागिएको हो।
माओवादी केन्द्रले स्थायी समिति गठन नभएसम्मको लागि पूर्वस्थायी समिति सदस्यहरुलाई समेटेर विस्तारित कार्यालय बनाएको छ। शुक्रबारको बैठक एमसीसीमै केन्द्रित भएको छ। एमसीसी अनुमोदन गरेर सही गरेको भन्ने पक्षधर र एमसीसी अनुमोदन गरेर गल्ती गरेको भन्ने दुईपक्षमा नेताहरु विभाजित भएपछि एमसीसीमा साझा धारणा बनाउन कार्यालयको विस्तारित बैठक बस्ने निर्णय भएको एक केन्द्रीय सदस्यले नेपालखबरलाई जानकारी दिए।
‘बैठक जारी छ, शुक्रबारको बैठक एमसीसीमै केन्द्रित भयो,’ ती नेताले भने, ‘अध्यक्ष प्रचण्डले एमसीसी अनुमोदनमा पार्टीले समर्थन गर्नुपर्नाका सबै राजनीतिक कारणहरु पेश गर्नुभयो, तर, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले एमसीसीमा पार्टीले गलत गरेको भन्ने धारणासहित भिन्न मत राख्नुभयो। अब भोलि विस्तारित बैठकमा छलफल गरेर यसबारे साझा धारणा बनाइनेछ।’ प्रचण्डले एमसीसीबारे गरेको पुनर्व्याख्याप्रति नेता श्रेष्ठले असन्तुष्टि जनाउँदै भिन्न मत राखेका हुन्।
संभवतः भोलि शनिबार दिनभर छलफल गरेर भएपनि एउटै निष्कर्ष सहित आइतबारको बैठकमा प्रस्तुत हुने र बाँकी अन्य एजेण्डामा छलफल गर्ने निर्णय भएको केन्द्रीय सदस्य माधव सापकोटाले जानकारी दिए। ‘हाम्रो पार्टीको दोस्रो केन्द्रीय समिति बैठकमा ६ वटा एजेण्डा तय भएका छन्। आजको बैठकमा एमसीसीबारे अध्यक्ष र वरिष्ठ नेताले धारणा राख्नुभयो,’ केन्द्रीय सदस्य सापकोटाले नेपालखबरसँग भने, ‘आइतबार बाँकी रहेका एजेण्डामाथि छलफल हुन्छ।’
उनका अनुसार स्थानीय चुनाव लगायतका एजेण्डा आइतबारको बैठकमा छलफल हुनेछ। कार्यविभाजन, पोलिटव्युरो गठन, स्थायी समिति गठन र पदाधिकारी चयन गर्नेबारेको निर्णय पनि शनिबार बस्ने कार्यालयको विस्तारित बैठकले टुंगो लगाउनेछ। पुस ११ देखि १८ सम्म महाधिवेशन गरेको माओवादी केन्द्रले पुस १९ गते प्रचण्डलाई अध्यक्ष निर्वाचित गरेपनि अन्य पदाधिकारी चयन गरेको छैन।
यसैगरी माओवादीको केन्द्रीय सदस्य संख्या पनि थप भएको छैन। महाधिवेशनमा २ सय ४६ मात्र निर्वाचित भएका छन्। बाँकी सदस्य नियुक्त गर्न बाँकी छ। त्यसबारे पनि कार्यालयको बैठकले एउटा मापदण्ड बनाउनेछ। केन्द्रीय समितिको शुक्रबारको बैठकमा कृष्णबहादुर महरा, देव गुरुङ र लीलामणि पोखरेलले लिखित फरक मत राखेका हुन्। उनीहरुले पार्टी निर्णयलाई स्वीकार गर्दै आफ्ना लिखित फरक मत बैठकमा राखेका हुन्। वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले भने मौखिक फरक मत राखेका छन्। उनले राखेको फरक मतमाथि आइतबारदेखि छलफल गर्ने तय भएको छ।