images

एनसीएचएलको कर्पोरेट पेमा आकर्षण बढ्दै, एक वर्षमा ५५ अर्बको कारोबार

  • फाल्गुन २२ २०७८, आईतवार
images

काठमाडौं । पछिल्लो समय ‘कर्पोरेट पे’मा नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ले अग्रसरता लिएको छ। कम्पनीले एक वर्ष अगाडि सञ्चालनमा ल्याएको कर्पोरेट पेमार्फत हुने कारोबारमा छलाङ मार्दै अगाडि बढेको छ।

कम्पनीले गत वर्षको माघ १ गतेदेखि सञ्चालनमा ल्याएको कर्पोरेट पे मार्फत कारोबार गर्ने बैंक तथा वित्तीय संस्थामा पनि उल्लेख्य बृद्धि भएको एनसीएचएलका प्रमुृख कार्यकारी अधिकृत (सीईओ) निलेशमान सिंह प्रधान बताउँछन्। बैंक तथा वित्त कम्पनीको सहभागिता बढेसँगै कारोबार पनि बढेको देखिन्छ। बैंक तथा वित्तीय संस्थाका व्यावसायिक ग्राहकहरुलाई लक्षित गर्दै सञ्चालन भएको कर्पोरेट पे प्रणाली सञ्चालनमा ल्याएको छोटो समयमै उल्लेख्य कारोबार गर्न सफल भएको उनी बताउँछन्।

images

प्रधानले यो एक वर्षको अवधिसम्म ५५ अर्ब रुपैयाँ बराबरको कारोबार भएको बताए। उनका अनुसार गत आर्थिक वर्ष (माघदेखि असारसम्म) ८ अर्ब ६० करोड रुपैयाँ र चालु आवको हालससम्म साढे ३२ अर्ब रुपैयाँ कारोबार भएको छ। गत वर्ष माघ १ गते नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कर्पोरेट पेको उद्घाटन गरेका थिए। त्यसयता विभिन्न बैंक तथा वित्तीय संस्था र व्यावसायिक प्रतिष्ठानहरुले यो प्रणालीमा आवद्ध हुँदै सजिलै अनलाइन भुक्तानीको काम गरिरहेका छन्। यसले ती बैंक तथा वित्तीय संस्थाका ग्राहकले हाल चेकबिनै सजिलै अनलाइन भुक्तानीको सुविधा पाइरहेका छन्।

राष्ट्र बैंकले विद्युतीय कारोबारलाई प्राथमिकता दिइरहेका बेला व्यवसायी तथा संस्थाहरुलाई लक्षित गर्दै एनसीएचएलले कर्पोरेट पे प्लेटफर्म सञ्चालनमा ल्याएर डिजिटल भुक्तानीमा धेरै सहयोग पुगेको बताएको छ। ठूलो रकमको भुक्तानीका लागि चेक नै काट्नुपर्ने बाध्यता हटाउँदै प्रयोगमा आएको कर्पोरेट पे प्रणाली क्रमिक रुपमा विस्तार हुँदै गएको छ।

वित्तीय संस्था पनि बढ्दै
एनसीएचएलले अहिले कर्पोरेट पे मा पनि ग्राहकहरु बढ्दै गएको बताएको छ। एनसीएचएलका अनुसार अहिले ४२ वटा बैंक तथा वित्तीय संस्थाहरु ‘कर्पोरेट पे’मा आवद्ध भइसकेका छन् भने १६ सयभन्दा बढी ग्राहकहरुले यसको सुविधा लिइरहेका छन्। कुनै एक बैंकमार्फत कर्पोरेट पे मा आवद्ध भइसकेपछि ग्राहकको अनुरोधमा विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेको खाता एउटै च्यालनमा लिंक गर्न सकिने पनि कम्पनीले जानकारी दिएको छ।

एनसीएचएको कर्पोरेट कारोबार शुल्कसमेत एनसीएचएल आईपीएस र कनेक्ट आईपीएसको विद्यमान शुल्क प्रणाली अनुसारै निर्धारण गरिएको छ। जसमा आवद्ध भएका बैंक तथा वित्तीय संस्थाका व्यावसायिक ग्राहकले फण्ड ट्रान्सफर, कर्मचारीको तलब भुक्तानी, कर तथा राजश्व भुक्तानी लगायत अन्य ठूला भुक्तानीसमेत कर्पोरेट पेमार्फत् गर्न सकिने कम्पनीले जाकनारी दियो। एनसीएचएलको यो सेवामा आवद्ध भएर १ करोड रुपैयाँदेखि २० करोड रुपैयाँसम्मको कारोबार गर्न सकिनेछ।

आवद्ध कसरी हुने ?
कर्पोरेट पेमा कुनै बैंक तथा वित्तीय संस्थाहरु आवद्ध भइसकेपछि मात्रै सो बैंक तथा वित्तीय संस्थाका ग्राहकले यसको सुविधा पाउँछन्। आफ्नो बैंक खाता रहेको व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले बैंकमा गएर आवश्यक कागजपत्र र प्रक्रिया पुर्‍याई इनरोलमेन्ट फारम भरी कर्पोरेट पे सञ्चालन गर्न सक्ने छन्। त्यसपछि बैंकले उक्त खातालाई कर्पोरेट पेसँग लिंक गरी सेवा सञ्चालन हुन्छ।

images