काठमाडौं । राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले सरकार समक्ष छ बुँदे मागपत्र पेश गर्दै माग पूरा नभए आन्दोलन गर्ने चेतावनी दिएको छ । समितिले नेपाल आयल निगम समक्ष मागपत्र पुनः पेश गरेको छ र सो माग पूरा नभए चैत ५ गतेबाट आन्दोलन गर्ने जनाएको छ ।
नेपाल एलपि ग्यास उद्योग संघ, नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशन तथा नेपाल पेट्रोलियम दुवानी व्यवसायी महासंघ आवद्ध व्यवसायीहरु सम्मिलित उक्त समितिले आन्दोलनका कार्यक्रम समेत सार्वजनिक गरेको छ । समितिले पेट्रोलियम ऐन बनाई तत्काल लागू गर्नु पर्ने तथा एलपिजि विनियमावली, विक्रेता विनियमावली तथा दुवानी नियमावली सम्बन्धित व्यवसायीक संस्थाको प्रतिनिधि सहितको सहभागीतामा परिमार्जन सहित संशोधन गर्नु पर्ने माग राखेको छ ।
माग पत्रमा आयल निगम मार्फत पेट्रोलियम व्यवसायीक प्रतिष्ठानको कारोबारमा हालको अवस्था तथा भविष्यमा गरिनु पर्ने सुधार तथा योजनाबारे अध्ययन गरी लागू गर्नुपर्ने, सरकारले यातायात क्षेत्रमा लागू गरेको वैज्ञानिक भाडादर पेट्रोलियम ढुवानी साधनमा समेत लागू हुनु पर्ने तथा पेट्रोलियम बिक्रेताले प्रतिशतमा पाउदै आएको कमिशन स्थगन भएकोमा फागुन १९ गतेबाट नै पाउनु पर्ने माग गरिएको छ । यस्तै, एलपि ग्यास ढुवानी गर्ने साधनको भाडादर स्वचालित हुनुपर्ने माग पनि रहेको छ।
समितिले अघि सारेका आन्दोलनका कार्यक्रमहरूमा चैत ५ गतेदेखि १५ गतेसम्म स्थानीय स्तरका पेट्रोलियम ब्यवसायीहरु स्थानीय एशोसिएशन, पेट्रोलियम ढुवानी ब्यवसायी संघ, तथा एलपीग्याँस उद्योग संघका स्थानीय प्रतिनिधिहरुबाट स्थानीय स्तरका आन्दोलन समिति गठन गर्ने रहेको छ । चैत ६ गतेबाट सम्पूर्ण एलपी ग्याँस उद्योगहरुले नेपाल आयल निगमबाट पिडिओ खरिद नगर्ने तथा चैत १० गतेबाट सम्पूर्ण एलपि ग्याँस उद्योगहरुले भारतका सबै रिफाईनरीहरुबाट एलपि ग्यास लोड बन्द गर्ने आन्दोलनका कार्यक्रम अघि सारिएको छ ।
चैत १४ गतेबाट एलपि ग्याँस उद्योगहरुले सबै नाकाहरुबाट भन्सार छुटाउने कार्य नगर्ने, चैत १६ गतेबाट राज्यभरका पेट्रोलियम पदार्थको ढ्वानी टैंकरहरुले पिडिओ नलिने भनिएको छ । समितिले चैत १७ गतेबाट राज्यभरका एलपी ग्याँस उद्योगहरुबाट विक्रेताहरुलाई बिक्री बितरण बन्द गर्ने, चैत १८ गतेबाट पेट्रोलियम ढुवानी टैंकरहरुले लोडिङ अनलोडिङ्ग बन्द गर्ने तथा बिक्रेताहरुले निगमको डिपोबाट पेट्रोलियम पदार्थको खरिद बन्द गर्ने जनाइएको छ । आन्दोलनका कार्यक्रम अन्तर्गत चैत २० गतेबाट उल्लेखित मागहरु पूरा नभएसम्म राज्यभरी एलपी ग्यास उद्योग र ग्याँस बिक्रेताहरुले ग्याँस बिक्री बन्द गर्ने र पेट्रोलियम ढुवानी टैंकरहरुले ढ्वानी कार्य बन्द गर्ने जनाइएको छ ।
© 2025: मा सुरक्षित । हाम्रो टिम | सम्पर्क | हाम्रो बारेमा
Developed by: Corporate Times