images

बैंकहरुको कर्जा लगानी घट्यो, बढ्दो तरलताले लगानीको वातावरण बन्दै

  • फाल्गुन ३० २०७८, सोमबार

काठमाडौं । यस साता बैंकिङ च्यानलमा थप २ अर्ब रुपैयाँ तरलता (लगानीयोग्य पुँजी) थपिएको छ । अघिल्लो हप्ता अर्थात गत फागुन १३ गतेदेखि २० गतेसम्म वाणिज्य बैंकहरुको निक्षेप संकलन ११ अर्बले बढेकोमा पछिल्लो हप्ता अर्थात् फागुन २० गतेदेखि २७ गतेसम्म थप २ अर्बले बढेको हो ।

नेपाल बैंकर्स संघका अनुसार यो साता वाणिज्य बैंकहरू निक्षेप २ अर्बले बढेर कुल ४३ खर्ब २६ अर्ब पुगेको छ । अघिल्लो हप्ता यस्तो निक्षेप ११ अर्बले वृद्धि गर्दै २७ वटा वाणिज्य बैंकहरुले कुल ४३ खर्ब २४ अर्ब संकलन गर्न सफल भएका थिए । तर, यता कर्जा लगानी तर्फ भने बैंकहरुले अघिल्लो हप्ताको भन्दा पनि घटाएको संघको रिपोर्टले देखाएको छ ।

अघिल्लो हप्ता अर्थात् फागुन १३ गतेदेखि २० गतेसम्म ५ अर्बले कर्जा लगानी बढाएका बैंकहरुले यस हप्ता एक अर्बले निक्षेप घटाउँदै कुल ४१ खर्ब ६९ अर्ब रुपैयाँ लगानी गरेका छन् । अघिल्लो हप्ता २७ वटा वाणिज्य बैंकहरुले कुल ४१ खर्ब ७० अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए । बजारमा तरलता अभावको समस्या चुलिँदै गएपनि कर्जा लगानीमा गरेको कडाई सोको प्रभाव यस हप्तामा देखिएको हो । केही दिन यता बढ्दै गएको निक्षप र घट्दो क्रममा रहेको कर्जा लगानीले तरलता व्यवस्थापनको संकेत देखिएको छ ।