काठमाडौँ ।सनराइज बैंकले आफ्ना ग्राहकहरुको आवश्यकता र सुविधालाई मध्य नजर गर्दै विभिन्न सेवा सुविधाहरुका स्वास्थ्य सुविधालाई पनि प्राथमिकता दिँदै आएको छ।
सनराइज बैंकमा बचत गर्दा ग्राहकहरुले बचत र ब्याज मात्र हैन, बचतकर्ताको स्वास्थ्यमा केही समस्या आइपरेमा त्यसको उपचार गर्दा लाग्ने खर्च समेत पाउन सक्नेछन्। २०७४ चैत १ गतेदेखि सनराइज बैंकले आफ्ना सबै बचत खातामा उक्त स्वास्थ्य योजना दिदै आएकोमा यस वर्ष त्यसलाई परिमार्जन गरी थप सुविधा दिन बैंकले जनाएको छ।
बैंकले स्वास्थ्य बीमाअन्तर्गत अस्पताल भर्ना र ओपीडी खर्च गरी १ लाख रुपैयाँसम्मको बीमा दिएको छ। उक्त बीमा रकम वर्षमा तीन पटकसम्म गरी दाबी गर्न सकिनेछ। साथै ५ लाखसम्म दुर्घटना बीमा पनि दिइएको छ। पहिले नेपाल र भारतका १५ वटा अस्पतालमा गरिएको उपचारमा मात्र बीमा दिँदै आएकोमा यस वर्षदेखि नेपाललगायत भारतका ७० वटा अस्पताल तथा सिंगापुर र थाइल्यान्डका अस्पतालमा उपचार गराउँदाको खर्च समेत स्वास्थ्य योजनाअन्तर्गत दाबी गर्न सकिनेछ।
साथै नारीहरुलाई बचत गर्न उत्प्रेरणा र उनीहरुको स्वास्थ्य सुरक्षामा साथ दिने उद्देश्यस्वरुप बैंकले नारी बचत खाता भएका महिलाहरुलाई ५ लाखसम्मको घातक रोग खर्च दिने भएको छ। महिलाहरुमा हुनसक्ने पाठेघर क्यान्सर, स्तन क्यान्सर, मुटु रोग आदि सहितका १८ घातक रोगहरु यसले समेट्नेछ। साथै महिलाहरुलाई प्रसूति खर्चस्वरुप १० हजार रुपैयाँसम्म दिइने बैंकले जनाएको छ। उक्त प्रसूति खर्च भने सरकारी तथा अर्ध सरकारी अस्पतालमा प्रसूति गराउँदा लिन सकिनेछ।
ग्राहकहरुलाई सधैँ प्राथमिकतामा राख्दै आएको बैंकले ग्राहकहरुको बचत मात्र नभई उनीहरुको स्वास्थ्यमा पनि साथ दिएको र यसले हाल सम्म हजारौँ ग्राहकहरु लाभान्वित भइसकेको बैंकको भनाइ छ। हाल उपलब्ध सबै खाले बचत खातामा यो सुविधा उपलब्ध छ। हालसम्म सनराइज बैंकले १३९ वटा शाखा, ८७ वटा शाखारहित बैंकिङ्ग सेवा, १३ वटा एक्सटेन्सन काउण्टर र १५९ वटा एटीएममार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ।