काठमाण्डौ । सेयर बजारमा बुधबार पनि ओरालो लागेको छ। बजार आज १९.६५ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २६३१.३२ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ५.२२ अंकले घटेर ४९७.३७ को विन्दुमा ओर्लेको छ। हिजोको तुलनामा कारोबार रकम पनि साढे २ अर्ब रुपैयाँमा सीमित बनेको छ।
आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये ३ वटा समूहमा हरियाली छाएको छ भने बाँकी १० वटामा रातो पोतिएको छ। यो दिन होटेल तथा पर्यटन समूह सर्वाधिक २.०९ प्रतिशतले उकालो लागेको छ। निर्जीवन बीमा समूह ०.६४ प्रतिशतले बढ्दा म्युचुअल फन्ड समूहमा ०.०२ प्रतिशतको गिरावट आएको छ। आज अन्य समूह सर्वाधिक २.४७ प्रतिशतले ओरालो लागेको छ। व्यापार समूह १.४२ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.७ प्रतिशत, विकास बैंक समूहमा १.३१ प्रतिशत, जलविद्युत समूहमा १.०६ प्रतिशत, वित्त समूहमा १.३३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.७१ प्रतिशत, लघुवित्त समूहमा ०.१८ प्रतिशत, जीवन बीमा समूहमा ०.३९ प्रतिशत र लगानी समूहमा ०.५४ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २३१ कम्पनीका ४९ लाख ६७ हजार ४७१ कित्ता सेयर २ अर्ब ५७ करोड ४ लाख १ हजार १८८ रुपैयाँमा किनबेच भएका छन्। यो दिन नेपाल टेलिकमको सर्वाधिक १६ करोड ३६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। गरिमा विकास बैंकको १२ करोड २४ लाख रुपैयाँबराबरको कारोबार भएको आज अपी पावरको १० करोड ७८ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ८ करोड ४४ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ७ करोड ४६ लाख रुपैयाँ, सोल्टी होटेलको ६ करोड ५७ लाख रुपैयाँ, नागरिक लगानी कोषको ६ करोड ५७ लाख रुपैयाँ, ग्लोबल आइएमई बैंकको ५ करोड ५७ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ४ करोड ८६ लाख रुपैयाँ र नेपाल पुनर्बीमा कम्पनीको ४ करोड ७४ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज इमर्जिङ नेपालका सेयरधनीहरु मालामाल भए। यो कम्पनीको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको छ। यो दिन युनाइटेड इदी मर्दीका सेयरधनीहरुले सर्वाधिक गुमाए। यो कम्पनीको सेयरभाउ ५ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ। अब सेयर बजार आउँदो आइतबार खुल्नेछ। भोलि बिहीबार फागु पूर्णिमाको बिदाका कारण सेयर बजार बन्द रहने भने शुक्रबार सेयर कारोबार हुँदैन।