images

नयाँ खिम्ती सबस्टेसन उद्घाटन गर्न प्रधानमन्त्री रामेछापमा

  • March 19, 2022

काठमाडौँ । राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् परियोजनाअन्तर्गत रामेछापको मन्थलीमा निर्मित ‘न्यु खिम्ती सबस्टेसन’ उद्घाटन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा रामेछाप पुगेका छन्। उनका प्रेस संयोजक गोविन्द परियारका अनुसार न्यु खिम्ती सबस्टेसन उद्घाटनका लागि प्रधानमन्त्री देउवा केही बेरअघि रामेछाप पुगेका हुन्। ढल्केबरस्थित ४०० केभी क्षमताको ढल्केबर सबस्टेसनपछि यो देशकै दोस्रो ठूलो सबस्टेसन भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

रामेछापको मन्थली नगरपालिका–१३ देवीटारमा निर्माण भएको सबस्टेसनले दोलखाको गोंगरबाट आएको डबल सर्किट २२० केभी क्षमताको प्रसारण लाइनलाई ढल्केबरसम्म जोडेको छ। सोही सबस्टेसन हुँदै १३२ केभी क्षमतामार्फत काठमाडौं जोडिएको छ। सबस्टेसनमा १०० एमभीए क्षमताको ट्रान्सफर्मर जडान गरिएको छ। सो सबस्टेसनबाट धनुषाको ढल्केबरमा बिजुली प्रवाह भइरहेको छ। प्राधिकरणका अनुसार ढल्केबरमा १३२, २२० र ४०० केभी क्षमताका तीनवटा सबस्टेसन सञ्चालनमा छन्। न्यु खिम्ती सबस्टेसनका इलेक्ट्रिकल इन्जिनियर प्रदीप दाहालका अनुसार शनिबार प्रधानमन्त्रीबाट हुने उद्घाटन कार्यक्रमको तयारी पूरा भएको छ। वि। सं २०७५ देखि बनाउन थालिएको सो सबस्टेसन गत असारमा निर्माण पूरा भएको हो।

images

सुरुवाती लागत १ अर्ब ५० करोड रुपैयाँ बराबर भएपछि प्राकृतिक विपत्ति, कोरोना त्रासलगायत कारणले गर्दा थप केही ‘भेरिएसन’ भएको छ। नयाँ खिम्ती सबस्टेसनमा ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको बिजुली जोडिएको छ। यस्तै, ५२.४ मेगावाट क्षमताको लिखु दोस्रो र २४.१ मेगावाट क्षमताको लिखु ए जलविद्युत आयोजनाबाट उत्पादित बिजुली जोडिएको छ। यस्तै गर्ज्याङ हाइड्रोपावर, खिम्ती-२ को बिजुलीसमेत सोही सबस्टेसनमा जोडिने छ। हालको क्षमताअनुसार सो सबस्टेसनमा कूल ९०० मेगावाट बराबर बिजुली जोड्न सकिने फोरम्यान सिभिल विश्वासकुमार भण्डारीले राससलाई जानकारी दिएका छन्। रामेछाप, दोलखालगायत जिल्लामा निर्माण सम्पन्न भएका र निर्माणमा जाने तयारीमा रहेका आयोजनाको बिजुली जोडिने भएकाले सो सबस्टेसन प्राधिकरणको भाषामा हब सबस्टेसनका रूपमा विकास हुनेछ।

गत साउनको अन्तिम साता सो सबस्टेसन चार्ज गरिएको थियो। राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको माथिल्लो तामाकोसीको बिजुली देशभर उपलब्ध गराउन महत्त्वपूर्ण मानिएको सो सबस्टेसनको सञ्चालनपछि बिजुली प्रवाहमा थप सहजता उत्पन्न हुने विश्वास प्राधिकरणले व्यक्त गरेको छ। माथिल्लो तामाकोसीको झण्डै १ अर्ब युनिट बिजुली सोही सबस्टेसन भएर प्रवाह भइसकेको छ।सबस्टेसनमा चारवटा पावर ट्रान्सफर्मर जडान भएका छन्। जडान भएका ट्रान्सफर्मरमध्ये तीनवटा नियमित सञ्चालनमा ल्याइने र एउटा भने जगेडामा रहनेछ। सरकारको विशेष चासोका साथ मार्गदर्शन, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियमित अनुगमनपछि आयोजना सम्पन्न भएको न्यु खिम्ती सबस्टेसनका कर्मचारीको भनाइ छ।