काठमाडौं । चितवनमा कृषि कर्जा मेला सुरु भएको छ। चैत १२ गतेसम्म आयोजना हुने मेला एशियाकै पहिलो तथा विश्वको दोस्रो भएको आयोजकको दाबी छ। चितवन एक्स्पो सेन्टर भरतपुरमा बुधबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उद्घाटन गरे। कृषि यान्त्रिकीकरण प्रदर्शनीको पाँचौं संस्करणमा कृषि कर्जा मेला आयोजना गरिएको हो। आर एन्ड डी इनोभेटिभ सोलुसन र नेपाल कृषि मेशिनरी व्यवसायी संघले संयुक्त रुपमा आयोजना गरेको मेलाको मुख्य प्रायोजकमा नबिल र कृषि विकास बैंकले गरेका छन्।
मेलाको उद्घाटन गर्दै गभर्नर अधिकारीले राज्यको नीति अर्थतन्त्रको ड्राइभर कृषि क्षेत्रलाई बनाउन खोजे पनि त्यसो हुन नसकेको बताए। ‘राज्यको नीति हेर्दा अर्थतन्त्रको ड्राइभर कृषि क्षेत्रलाई बनाउन खोजिएको देखिन्छ, तर अर्थतन्त्रको ड्राइभर भने रेमिट्यान्स हुन खोजिहेको छ,’ अधिकारीले भने, ‘कृषि र त्यसको इकोसिस्टमसँग गाँसिएको समस्या निकै जटिल छन्। युवामा कृषि प्रमुख पेसा हुन सक्छ, परिवार धान्न र कमाउन सक्छु भन्ने आत्मविश्वास जगाउनुपर्छ।’अधिकारीले कृषिका लागि आत्मविश्वास मात्रै भएर नहुने भन्दै जमिन, सिँचाइ, बिउ, मल, विषादी र प्रविधिकको व्यवस्था पनि हुनुपर्ने बताए।
कृषि क्षेत्रको विकासका लागि राज्यबाट चालिएका कदम भने कम नरहेको उनले बताए। ‘राज्यले सहुलियतपूर्ण कर्जा, राष्ट्र बैंकले २०८१/८२ सम्मको कुल कर्जाको १५ प्रतिशत कर्जा कृषिमा लगानी गर्नुपर्ने व्यवस्था गरेको छ। मलमा करिब ५५ प्रतिशत अनुदान सरकारले दिएको छ,’ उनले भने, ‘त्यही पनि के मिलेको छैन, जसले गर्दा सोचअनुसार कृषिबाट अर्थतन्त्रले योगदान पाउन सकेको छैन । कृषक सन्तुष्ट भएका छैनन्।’ उनले कृषि क्षेत्रमा कर्जा विस्तार हुँदै जाँदा कतिपय ठाउँमा गलत प्रयोग भएको छ कि भन्ने गुनासो आउने गरेको भन्दै तस्तो घटना सानो संख्यामा मात्रै रहेको हुनसक्ने बताए। कार्यक्रममा कृषि सचिव गोविन्द प्रसाद शर्माले अहिले पनि किसानहरुले धितोको कारण कृषि कर्जाबाट हामी बञ्चित भयौं भन्ने गुनासो गर्ने गरेको बताए।
नबिल बैंकका अध्यक्ष समेत रहेका ‘ग्लोबल एलायन्स फर बैंकिङ अन भ्याल्यु’का एशिया प्यासिफिक प्रतिनिधि उपेन्द्र पौडेलले निक्षेपकर्ताको पैसा सुरक्षित भएको र सम्भावित लगानी क्षेत्रमा कर्जा दिन बैंक तयार भएको बताए। मूल्य शृंखला बनाउन सके कृषिमा लगानी बढ्ने उनले बताए। बैंकर्स संघका अध्यक्ष अनिल उपाध्यायले पनि बैंकहरुले कृषि क्षेत्रमा पर्याप्त रुपमा कर्जा लगानी गरेको बताए। उनले कुल कर्जा ‘फोर्टफोलियो’बाट ५२५ अर्ब कृषि क्षेत्रमा लगानी गर्नुपर्ने राष्ट्र बैंकको निर्देशनमा ४४० अर्ब लगानी भइसकेको बताए।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले पनि कृषिमा समग्र ‘इको सिस्टम’ र ‘भ्यालु चेन’मा नै समस्या रहेको बताए। शाहले आफ्ने अनुभव सनाउँदै भने, ‘धेरै ठाउँमा जाँदा तपाईंहरु किसानलाई कर्जा दिनु हुँदैनरु बैंकले कर्जा दिएको भए किन युवा विदेश जानुपर्थ्योरु घरजग्गा र सेयरमा कर्जा दिनुहुन्छ तर किसानलाई पैसा दिनुहुन्न भन्ने गरेको सुनिन्छ,’ उनले सुनाए । “नबिल बैंकले ‘नबिल दिगो बैंकिङ’ गरेर हाम्रो टिमलाई गाउँमा किसनसँग पठायौं, गाउँमा खेत त छ तर किसान साउदी, मलेसिया र जापानमा रहेछन् । जो किसान रहेछन् उनीहरुले पैसा रोपेर केही हुँदैन बीज चाहियो भन्ने रहेछन्।’
उनले बैंकहरु कर्जा दिन तयार भएपनि निक्षेपकताको पैसा लगानी गर्दा त्यसको सावाँ र थोरै ब्याज फिर्ता हुने सुनिश्चितता खोज्नुपर्ने बताए। बैंक भनेको निक्षेपकर्ताको पैसाबाट चल्ने भएकोले जबसम्म इकोसिस्टम बनेर त्यो पैसा बैंकरले सुरक्षित देख्दैन कृषि क्षेत्रमा समस्या रहने उनले बताए। ग्लोबल आइएमई बैंकको सिइओ रत्नराज बज्राचार्यले कृषि क्षेत्रले जीडीपीमा दिएको योगदानको ५० प्रतिशत कर्जा जाँदा पनि कृषिमा बैंकहरुले लगानी गरेनन् भन्न नमिल्ने बताए।
बैंकले कृषिमा २र४ लाखदेखि अर्बौं पनि लगानी गरेको र कुनै किसानलाई एक त्रैमासमा ब्याज तिर्न अर्को त्रैमासमा तिर्नको लागि पनि छुट दिने गरेको उनले बताए। कृषिको नाममा कर्जा लिएर जग्गा खरिद गर्ने क्रम पनि बढेको भन्दै कृषकको नाममा त्यस्तो गलत कार्य हुने गरेको बताए। कृषिको विकासको लागि प्राइभेट सेक्टरको पब्लिक लिमिटेड कम्पनी खोल्नुपर्ने उनले बताए। बैंक वित्तीय संस्थाले जति कुरा गरे पनि अहिले कसरी धेरै भन्दा धेरै ब्याज लिने भन्ने प्रतिस्पर्धा अभियान चलेको र किसान ठगीएको उनले दाबी गरे।