बैंक वित्तीय संस्थासँगै भुक्तानी सेवा प्रदायकलाई पनि जोड्दै एनसीएचएल

  • चैत्र १३ २०७८, आईतवार
images

काठमाण्डौ । सन् २०११ मा चेक क्लियरिङ गर्ने निकायको रुपमा सुरु भएको एनसीएचएल (नेपाल क्लियरिङ हाउस) अहिले जटिल तथा महत्त्वपूर्ण भुक्तानी प्रणालीको पूर्वाधारको रुपमा स्थापित भइरहेको छ। दोस्रो चरणमा बैंक खाताबाटै गरिने ठूलो रकमको कारोबारका लागि कम्पनीले इन्टर–बैंक पेमेन्ट सिस्टम (आईपीएस) सुरु गरेको थियो।

कनेक्ट आईपीएस (नेसनल पेमेन्ट इन्टरफेस) यसको तेस्रो पेमेन्ट सिस्टम हो। जसले सबै बैंक वित्तीय संस्थासँगै भुक्तानी सेवा प्रदायक (वालेट), भुक्तानी प्रणाली सञ्चालक, ठूलो कारोबार गर्ने सरकारी तथा अर्धसरकारी निकाय, कर्पोरेट संस्थाबीच अन्तरसञ्चालन र कारोबार गर्न सकिने माध्यमको रुप्मा जोड्दै लगेको छ। अहिले कनेक्ट आईपीएसमा सबैजसो बैंक तथा वित्तीय संस्था, असोजसम्मको तथ्यांक अनुसार १६ वटा वालेट तथा एउटा पीएसओ (भुक्तानी प्रणाली सञ्चालक) आवद्ध भइसकेका छन्। जसमध्ये खल्ती, आईएमई पे, पे टाइम, प्रभु पे, मोरु र क्यू पे गरी छ वटा वालेट सेवाप्रदायकको कारोबार कनेक्ट आईपीएसमा सम्भव भइसकेको छ।

images

यसबाट अब कनेक्ट आईपीएसमा आवद्ध सबै बैंक खाताबाट वालेटमा र वालेटबाट बैंकमा रकम ट्रान्सफर गर्न सकिनेछ। यतिमात्र होइन, कनेक्ट आईपीएमा आवद्ध भएका विभिन्न सेवा तथा उत्पादनको भुक्तानीमा समेत विभिन्न वालेटबाट गर्न सकिने छ। कनेक्ट आईपीएसको एपीआईमा आवद्ध भएसँगै वालेटले आपसमा पनि रकम ट्रान्सफरको सुविधा ल्याउन सकिने आधार तयार भएको छ। अहिले मोबाइल बैंकिङ एपहरूमा रहेको कनेक्ट आईपीएसबाट फण्ड ट्रान्सफर मात्र गर्न सकिन्छ। कनेक्ट आईपीएसमा आवद्ध भएका वालेटमा लोड गर्न र सरकारी राजस्व तिर्न सकिने गरी बैंकहरूका लागि आईपीएसको एपीआई खुला छोडिएको छ।

यसको मतलव ती सबै भुक्तानी सम्बन्धित बैंकले चाहेको खण्डमा सुरु गराउन सक्ने पूर्वाधार कनेक्ट आईपीएसले नै तयार पारिदिएको छ। एनसीएचएलमा अहिले भुक्तानीका लागि मोबाइल वालेट, कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आईपीएसको एप, आरटीजीएस र चेक जस्ता विकल्प विद्यमान छन्। जसमध्येबाट ग्राहकले आफ्नो सहजता र अनुकूलतामा जुनसुकै विकल्प रोजेर आर्थिक कारोबार गर्न सक्ने सजिलो पूर्वाधार तयार भएको छ। नगदरहित भुक्तानी भन्ने बित्तिकै एउटा खाता (बैंक वा वालेट खाता) बाट अर्को खातामा रकम जाने नै हो। यस्तोमा सहजतासँगै भुक्तानीका विकल्प, लाग्ने शुल्क, कारोबार रकमको सीमालगायतले एउटा माध्यम अर्को माध्यमभन्दा फरक हुने गर्दछ। कतिपयलाई फोन पे र कनेक्ट आईपीएसको सेवा उस्तै लाग्न पनि सक्छ। वास्तवमा फोन पेले विभिन्न मोबाइल बैंकिङ सिस्टम तथा मोबाइल वालेटलाई अन्तरआवद्ध गराउँदै नेटवर्कको रुपमा एउटा बैंकबाट अर्को बैंकमा रकम ट्रान्सफर र भुक्तानीको सहजता प्रदान गर्दै आएको छ।

तर, फास्टर पेमेन्ट सिस्टम पूर्वाधारको रुपमा रहेको कनेक्ट आईपीएसले भने पेमेन्ट स्वीच र नेटवर्कसँगै नयाँ सेवा समेत थप्न मिल्नेगरी एपीआई नै खुला गरेको छ। यस हिसाबले नेपालको नगदरहित तथा डिजिटल भुक्तानी सेवाको ईकोसिस्टममा कनेक्ट आईपीएसको भूमिका छोटो समयमै अहम् बनेको छ। अहिले कनेक्ट आईपीएसको एपीआई कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, पूँजीबजार तथा स्टक एक्सचेञ्ज, बीमा कम्पनी, ठूला कर्पोरेट हाउस आदिमा समेत जोडिएको छ। बिलिङ सिस्टम, ईआरपी तथा आन्तरिक सिस्टममा कनेक्ट आईपीएसको एपीआई जोडेर विभिन्न कारोबार गर्न सकिन्छ। अर्थात्, विभिन्न सेवाप्रदायकले आफ्नो भुक्तानी प्राप्त गर्ने प्रक्रियामा समेत कनेक्ट आईपीएसको ओपन एपीआई प्रयोग गर्न सक्छन्। कनेक्ट आईपीएसको पूर्वाधारले एकातर्फ आफ्नो मोबाइल एप तथा वेबसाइटबाट खुद्रा भुक्तानीमा सहजीकरण गरिरहेको छ भने अर्कोतर्फ विभिन्न व्यावसायिक निकायहरूलाई समेत आपसमा जोड्दै लगेको छ।

कम्पनीले जी टू सी (सरकारले जनतालाई गर्ने भुक्तानी), सी टू जी (जनताले सरकारलाई गर्ने भुक्तानी) अर्थात राजस्व तथा कर भुक्तानी, बी टू बी (एउटा व्यवसायले अर्को व्यवसायलाई गर्ने भुक्तानी) मा बढी केन्द्रित छ। अहिले विद्यालय तथा क्याम्पसको शुल्क भुक्तानी, डिस्ट्रिब्युटरको भुक्तानी, रिचार्ज जस्ता सेवाहरूलाई विभिन्न बैंक तथा वित्तीय संस्थाहरूले कनेक्ट आईपीएसको नेटवर्कमा ल्याइरहेका छन्। यस किसिमको कारोबारका लागि एनसीएचएलले नियामक नेपाल राष्ट्र बैंकबाट पीएसओको लाइसेन्स पाएको छ। कनेक्ट आईपीएसको नेटवर्कमा आवद्ध बैंक तथा वित्तीय संस्था, पीएसपी तथा अन्य पीएसओले नै सेवाहरूलाई यो प्लेटफर्ममा ल्याउने काम गर्दछन्। जसमा कनेक्ट आईपीएस सहजीकरणको भूमिकामा रहने गरेको छ।

images