images
images
images

“सरकारी कर्मचारी भएर पनि १०० रुपैयाँमा बार्गेनिङ गर्नुहुन्छ, म्याडम”

images
images

पहिलो घटना
भाइ तिम्रो गाडी जाने समय भएन? करिब ४५ मिनेटको कुराई पश्चात् मेरो मनको धैर्य टुट्यो, अनि सोधे अव जाने हो दिदी, ड्राइभरले भन्यो, मैले भने तपाईँको गाडीको टिकट लिएको छैन म अर्को गाडीमा जान्छु ढोका खोलिदिनुस्। अल्लि कडा स्वरमा मैले भने उसले झन् कडा भएर उत्तर दियो। त्यस्तो कहाँ हुन्छ दिदी ? “हजुरलाई त दलालले १०० रुपैयाँमा बेच्यो” हँ ? म झसङ्ग भएँ, उसले भन्यो भनाई को मतलब दिदी हजुरलाई प्यासेन्जरका रूपमा ल्याइदिए बापत उसले हामीबाट १०० रुपैयाँ लगिसक्यो, अघि कोटेश्वर पारीबाट हजुरको हातको सानो झोला बोकेर ल्याइदिने मानिस थियो नि, हो त्यो मानिसले मलाई दिदी हाम्रो गाडी ५ मिनेटमा जादैँछ बरु छिटो हिँड्नुस्, दिनुस्, हजुरको झोला मै बोकिदिन्छु भन्दै जबरजस्ती गर्ने त्यो व्यक्ति गाडी साहु नभएर प्यासेन्जर दलाल (ड्राइभरको भाषामा) पो रहेछ।

 

images

दोस्रो घटना
एकै नास हिँडिरहेको गाडी झ्याप्प रोकिन्छ, यसो बाहिर हेर्छु, एउटा मात्र होटेल रहेको छ। अनि रातको समय छ चकमन्न अँध्यारो गाडीको सहायकले भन्छ, ल है खाना खान झरौँ खाना खाने समय आधि घण्टा मात्र म पनि बाटोमा हिँड्दा हिँड्दै राम्रो खाना खाने उपयुक्त समय नमिलेको ले भोके छु, सोचेँ खाना त खानुपर्‍यो, गाडिबाट मन नलाई नलाई ‌ओर्लिए अनि लागेँ सिधै होटेल तर्फ। होटेलवालाले गाडी पर्खाई को धैर्य तोडिदा उ मख्ख थियो, सायद साँझमा खाना बनाएर राती १२ बजे सम्म त्यही गाडिलाई पर्खिएको थियो। म खाना खान बसेँ, खाली पेटमा मुसा कुदिरहेको अवस्थामा मैले हत्तपत्त मेरो हात खाना तर्फ अगाडी बढ्यो तर हात पुग्नासाथ दिमागमा झड्का लाग्यो खाना चिसो थियो, मैले खाना ल्याउने भाइलाई सोधेँ, भाइ खाना त चिसो छ तरु उसले टड्कारो जवाफ दियो अनि ‘खाना पकाएर पर्खेको २ घण्टा भइसक्यो सेलाइसक्छ नि’ म आफ्नो अनुहार ङिच्च पारेर सोही खाना खान बाध्य भएँ, हात धुन बाहिर निस्कँदा देखेँ एक छेउमा गाडीको ड्राइभरलाई देखेँ भर्खर बिहे गरेको ज्वाइँ पहिलो पटक ससुराली आएको जस्तो मेजमानी सँग खाई रहेको थिए।

 

तेस्रो घटना
जागिरको सिलसिलामा जागिर स्थल र घर गरिरहने क्रम चलिरहन्छ । बिदा आउने बित्तिकै परिवार भेट्ने हतार भई रहन्छ। यो सबै जागिरेको सार्वजनिक समस्या नै भनौँ। लाग्छ आएको तलब पनि घर र जागिर गर्दा गर्दै सकिन्छ। सधैँ फ्लाइटमा पनि सम्भव हुँदैन। अनि कुर्नु पर्‍यो माईक्रोबस। हिजोआज माईक्रोबसका ड्राइभरले पनि बिदा भयो कि ‘म्याम घर जान लाग्नुभएको भनेर पहिल्यै सोध्छन्। गाडीमा ‌ओहोर दोहोर गर्ने क्रममा कहिले टिकट काटिन्छ त कहिले बाटोमा भाडा दिएर हिँड्ने गरिन्छ। एक दिन म बाटोमै भाडा दिउला नि भनेर गाडी चढे, बाटोमा भाडा माग्ने क्रममा उसले नियमित भाडा भन्दा १०० रुपैयाँ बढी माग्यो, ड्राइभर नजिक बसेकी म हाँस्दै भने किन १०० रुपैयाँ बढी नि अघिल्लो हप्ता त म ११०० रुपैयाँमा गा को थिए त किन १२०० भाइ ? उसले भन्यो, ‘भाडा बढ्यो नि म्याम’ मैले भने यति छिट्टै बढ्छ र ? उसले हाँस्दै भन्यो ‘सरकारी कर्मचारी भएर नि १०० रुपैयाँमा पनि बार्गेनिङ गर्नुहुन्छ म्याम ?’ मैले भने अनि १०० रुपैयाँ पनि त्यत्तिकै आउँछ त ? उसले सोध्यो सरकारी कर्मचारी ले त टन्नै कमाउँछन् रे त ? मैले भने, कसले भन्यो टन्नै कमाउँछन् भनेर ? खै हामी त आफ्नो तलबमै सन्तुष्ट छौँ त। तिमिलाई कसले गफ लगायो, उसले मेरो कुरालाई जित्दै भन्यो, हैन म्याडम, हाम्रो सामान्य काम गर्दिनलाई पनि बार्गेनिङ गर्छन्, हुने कामलाई ढिला गर्छन्, तर त्यै काम बाहिर दलालले सजिलै सँग गर्दिन्छन्। मैले दलाल (उसकै भाषामा) भन्ने बित्तिकै उही पुरानो कोटेश्वरको दलाललाई सम्झिए। अनि मनमनै सोचेँ कस्तो छ है हाम्रो सिस्टम ? केही व्यक्तिको गलत मनसाय र क्रियाकलापले गर्दा सोझा र इमानदार बदनाम हुन्छन् र ठगिन्छन्।

 

सार्वजनिक यातायातमा यातायात गर्नु नेपालका करिब ८० प्रतिशत नेपालीको अपरिहार्यता र आवश्यकता हो। भने माथिका ३ वटा घटनाक्रम मा कुनै न कुनै समयमा ठक्कर खानु बाध्यता हो। नेपालमा सार्वजनिक यातायातको सुरुवात भएको ७० को दशकमा आइपुग्दा पनि व्यवस्थित हुन नसक्नु आफैमा दुखद कुरा हो। नेपालमा दैनिक करिब ८० हजार भन्दा बढी सार्वजनिक यातायात गुड्छन् भने त्यसमा यात्रा गर्ने करिब १२÷१५ लाख मानिस दिनहुँ कहीँ न कहीँ यात्राका क्रममा मारमा परेका हुन्छन्। दैनिक यत्ति अत्यावश्यक आवश्यकतामा पनि सरकार किन मौन रहन्छ ?

 

सार्वजनिक यातायात गुणस्तरीय, सुविधाजनक यात्रु मैत्री बनाउने उद्देश्यका साथ बनाइएका सवारी यातायात व्यवस्था ऐन २०४९ नियमावली २०५४, सार्वजनिक यातायात आचार संहिता २०६७, यातायात निर्देशिका २०६० जस्ता व्यवस्था हुँदाहुँदै पनि यसको व्यवहारिक प्रयोग नहुनु, ट्राफिक प्रहरी को दैनिक निगरानी का साथै ट्राफिक नियम उल्लङ्घनमा दण्ड जरिवानाको व्यवस्था हुँदाहुँदै पनि हामीजस्ता दिनहुँ यात्रा गर्ने युवाहरू त यति ठगिन्छौ भने ट्राफिक प्रहरीको अनुपस्थित हुने स्थान एवम् कानुनी र व्यवस्था सम्बन्धी जानकारी नहुने यात्रीलाई कति ठगिन्छन् होला ?

 

माथि भोगिएका अप्ठ्यारा त छदै छन्, त्यसभन्दा पनि बढी यात्रामा रहँदा यात्रुमाथि गरिने अशिष्ट भाषाको प्रयोग, तोकिएका भन्दा बढी भाडा, तोकिएको स्थानबाट समयमै नछुट्ने, समयमै नपुर्‍याउने, बिच बाटोमा रोकेर अन्यमा तीव्र गतिमा कुदाउने, बिच बाटोमै छोडिदिने, साथै झुट बोलेर यात्रु बोकी पछि मेल गरिदिने (उनीहरूकै भाषामा) जस्ता कार्यले दैनिक यात्रा नगरी नहुने यात्रुलाई, खाऊ भने कान्छा बाउको अनुहार नखाऊ भने दिन भरीको सिकारु भने जस्तो भएको छ।

 

आफ्ना अधिकार तथा मागलाई ठाडो आदेश तथा निर्देशन सरकारबाट नभए दैनिक चल्ने सार्वजनिक यातायात ठप्प पार्ने चेतावनी दिई माग पुर्‍याउने बानी परेको यातायात व्यवसायी सङ्घले पनि यी र यस्ता कमजोरीलाई सुधार्ने भन्दा पनि देखिएका कमजोरीलाई नजर अन्दाज गर्दै आफ्नै थैली ठुलो बनाउनमा नै कस्सिएको छ भने सरकारले पनि यस बारे दीर्घकालीन समस्याको समाधानको बाटो पहिल्याएको छैन।

 

बाहिर नदेखिएका, कानुन, ऐन र नियमावली तथा निर्देशिकामा प्रस्ट उल्लेख नगरिएका यी र यस्ता समस्याहरूले हाम्रा दैनिक यात्राहरूलाई अझ कठिन बनाउँदै लगिरहेको छ। रेल्वे सेवाको विस्तार हुन नसक्नु र हवाई सेवा सधैँ र सबै नागरिकको पहुँचमा पुग्न नसकेको कारण सार्वजनिक यातायातमा यात्रा गर्नु हामी सबैको बाध्यता हो। यात्रा गर्दा लागेको आफ्नो भाडा दिईसकेपश्चात यात्रीहरूले यातायातका कर्मचारीहरूबाट सदाचार, सद्भाव, सुरक्षा, शिष्टता र मर्यादाको आशा राख्नु स्वाभाविक हो तर त्यसको ठिक विपरीत सितैमा लग्नेजस्तो व्यवहार सहित यात्रा गर्नु हामी सबै बाध्य छौ।

images