images

नयाँ वर्षको अवसरमा बसन्तपुरमा ‘नेपाल टूरिजम फेस्टिभल’ हुने

images

काठमाण्डौ । नयाँ वर्षको अवसरमा बैशाख १ र २ गते काठमाण्डौको बसन्तपुरमा ‘नेपाल टूरिजम फेस्टिभल’ हुने भएको छ ।

 

images

नेपाल पर्यटन बोर्ड र काठमाण्डौ महानगरपालिकाको सहयोग र एनटीपी मल्टिमिडिया ग्रुपको आयोजनामा पहिलोपटक नेपालमा पर्यटनको नीतिगत छलफल र बहस गर्ने उद्धेश्यले खुल्ला रुपमा नेपाल टूरिजम फेस्टिभल हुन लागेको हो ।

 

 

 

आइतबार अनामनगरको युनियन हाउसमा पत्रकार सम्मेलन गरेर नेपाल टूरिजम फेस्टिभलको घोषणा गरिएको हो । यस वर्षदेखि सुरु हुने फेस्टिभल हरेक वर्ष हुनेछ । नेपालको आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनसँगै पर्यटनको नीतिगत कुरालाई केलाउन फेस्टिभलको आयोजना गरिएको आयोजक एनटीपी मल्टिमिडिया ग्रुपका अध्यक्ष तथा फेस्टिभल संयोजक विष्णु विवेकले जानकारी दिए ।

 

 

दुई दिने फेस्टिभलमा न्युनतम १० देखि अधिकतम १५ वटा सेसनहरु सञ्चालन हुनेछन् । फेस्टिभलको उद्घाटन सेसन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको हुनेछ । यस्तै अन्तिम सेसन ‘पर्यटनमा राजनीति मिसन, भिजन र भिजिट नेपाल’ पर्यटनमन्त्री सुदन किराँतीको हुने आयोजक एनटीपी मल्टिमिडिया ग्रुपले जनाएको छ । फेस्टिभलमा विभिन्न विधामा पर्यटन केन्द्रित गरेर सेसन सञ्चालन हुनेछन् ।

 

 

यस्तै अन्य सेसनमा ‘पर्यटन प्रवद्र्धन र पूर्वाधार विकास’, ‘स्वास्थ्य पर्यटन ः स्वास्थ्य सदृश्य र संसार’, ‘चलचित्र पर्यटन : सिन, सिनेमा र सेलिबे्रटी’ हुनेछन् । यस्तै ‘व्यावसायिक पर्यटन : रहर, सहर र पर्यटन बजार’, ‘पर्यटनमा जलवायू परिवर्तनको असर : हिउँ हिमाल र हिमालय’ सेसन पनि सञ्चालन हुनेछ ।
यस्तै ‘युवा पर्यटन अभियन्ता : ट्राभलर एण्ड एक्सप्लोरर’, ‘सात प्रदेशको पर्यटन ः सम्भावना र चुनौति’, ‘हेरिटूज टुरिजम : काठमाडौं उपत्यका र विश्वसम्पदा’, ‘एयरलाइन्स टूरिजम : उडान, उड्डयन र नेपाली आकाश’ सेसन पनि सञ्चालन हुनेछन् । यस्तै नेपालमा रहेका विभिन्न विदेशी राजदूतको ‘नेपाल अनुभव’ सेसन पनि सञ्चालन हुने फेस्टिभल संयोजक विष्णु विवेकले जानकारी दिए ।

 

 

यस्तै ‘खेल पर्यटन : खेल, खेलाडी र गोर्खाली’ तथा ‘कला पर्यटन : संगीत, सौन्दर्य र सुनौलो नेपाल’, ‘कृषि पर्यटन : माटो, बाटो र दोबाटो’ सेसन पनि सञ्चालन गर्ने तयारी छ । यसबाहेक शिक्षा पर्यटन, युद्ध पर्यटन, साहित्य पर्यटन लगायतका विषयले पनि प्राथमिकता पाउने आयोजकको भनाई छ ।

 

नेपालीको नयाँ वर्ष बैशाख १ गतेलाई नेपाल पर्यटन दिवसका रुपमा घोषणा गर्ने अभियान चलाउँदै फेस्टिभल आयोजना गर्न लागिएको आयोजक एनटीपी मल्टिमिडिया ग्रुपका अध्यक्ष विवेकले जानकारी दिए ।

 

 

‘नेपालको आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन केन्द्रित नीतिगत बहस गर्ने उद्धेश्यले नेपालमा पहिलोपटक नेपाल टूरिजम फेस्टिभल आयोजना गर्न लागेका हौँ’ फेस्टिभल संयोजक विष्णु विवेकले भने, ‘बैशाख १ र २ गते हुने कार्यक्रममा सरकार, निजी क्षेत्र, पर्यटन क्षेत्रका सरोकारवालाबीच गम्भीर छलफल, बहस तथा अन्तरक्रिया हुनेछ ।’ नेपाली तथा विदेशीलाई समेत नेपालका विभिन्न ठाउँमा घुम्ने, घुमाउने र घुम्न प्रेरित गर्ने उद्धेश्यले सञ्चालन हुन लागेको फेस्टिभल पहिलोपटक आयोजना भएर वर्षेनी सञ्चालन हुने पनि उनले बताए ।

 

पत्रकार सम्मेलनमा नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले नेपाल टूरिजम फेस्टिभलले पर्यटन क्षेत्रका विविध विधालाई जोड्ने र पर्यटनका नीतिगत सवाललाई उजागर गर्ने बताए ।
‘विगतमा यस्ता कार्यक्रम गरेर पनि निरन्तरता दिन पाएका थिएनौँ । यसपटक नेपाल टूरिजम फेस्टिभल सूरु भएर वर्षेनी सञ्चालन हुँदा यसले नेपालको पर्यटन विकासमा सकारात्मक प्रभाव पर्नेछ’, उनले भने ।
पर्यटनसँग कृषि, शिक्षा, स्वास्थ्य लगायत विषय जोडिएपनि यसबारे निरन्तर बहस तथा छलफल र सार्वजनिक कार्यक्रम नभएकाले सकारात्मक प्रभाव भएपनि त्यो दिगो रुपमा सुरु नहुँदा सम्बन्धित निकायहरुले उल्टै प्रश्न गरिरहेको उनको भनाइ छ ।
‘नेपाल टूरिजम फेस्टिभलमा खेल, स्वास्थ्य, सिनेमा लगायतका पर्यटन क्षेत्रका नीतिगत सवालको विषय जोडिएका छन् । त्यसलाई हेर्ने विभिन्न निकायहरुको समन्वय हुन जरुरी छ । त्यसमा ठूलो ग्याप भइरहेको छ । यो टूरिजम फेस्टिभल सबैलाई जोड्ने माध्यम बन्नेछ’ उनले भने ।

 

 

यस्तै फेस्टिभलका प्रमुख सल्लाहकार तथा नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट नाट्टाका निवर्तमान अध्यक्ष अच्युत गुरागाईंले नेपालमा वर्षेनी गर्ने उद्धेश्यले सुरु हुन लागेको नेपाल टूरिजम फेस्टिभलले नेपालको पर्यटन क्षेत्रमा ठूलो प्रभाव पार्ने बताए । पर्यटन क्षेत्रका नीति निर्माता, जनप्रतिनिधि, सरोकारवाला, पर्यटन क्षेत्रका संघ संस्थाका प्रतिनिधि र निजी क्षेत्रका व्यवसायी तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय व्यक्तित्व एकै ठाउँमा आएर बहस, छलफल र आफ्ना घुमघामको अनुभव साझा गर्न पाउनु धेरै महत्वपूर्ण भएको नाट्टाका निवर्तमान अध्यक्ष गुरागार्इंले बताए ।
‘हाम्रो तीनवटै निकायहरु छन् । स्थानीय स्तरमा चाहे त्यो गाउँपालिका होस् वा नगरपालिका होस् पर्यटन विकासका लागि बजेट छुट्याएका छन् । तर, त्यो सही ढंगले उपयोग भएको छैन । हामीले उनीहरुका लागि पनि दिशानिर्देश हुने खालको कार्यक्रम गर्न लागेका हौँ’ फेस्टिभलका प्रमुख सल्लाहकार गुरागार्इंले भने ।

 

 

नेपाल टूरिजम फेस्टिभलले सरकारलाई र सरकारमा रहेका व्यक्तिहरुलाई, मन्त्रीलाई झक्झक्याएको खण्डमा नेपालको पर्यटन विकासलाई ठूलो टेवा पुग्ने पनि उनले बताए । फेस्टिभलमा सात प्रदेश सरकारका पर्यटन मन्त्रालय, काठमाण्डौ र ललितपुर महानगरपालिका तथा भक्तपुर नगरपालिकासँग विशेष सहकार्य हुने संयोजक विष्णु विवेकले जानकारी दिए । यसबाहेक पर्यटकीय क्षेत्रका स्थानीय तह र जनप्रतिनिधिको सहभागिता रहने पनि आयोजकले जनाएको छ ।

 

 

नेपाल टूरिजम फेस्टिभलको सूचना प्रविधि अथवा आइटी पार्टनर जरुवा रहेको छ भने मिडिया मार्केटिङ पार्टनर ग्रे मिडिया रहेको छ । यस्तै अनलाइन मिडिया पार्टनर खबरहब डटकम रहेको छ । एनटीपी मल्टिमिडिया ग्रुपको आयोजनामा हुने फेस्टिभलमा नेपाल पर्यटन बोर्डसँगै हान, टान, नाट्टा, पाटा, टुर्गान, भिटोफ, रेवान, टेवान, नगरपालिका संघ, गाउँपालिका महासंघ, महानगर परिषद् लगायत संघ संस्थासँग पनि सहकार्य हुनेछ ।

 

 

यसबाहेक अरु सरकारी निकाय, पर्यटन संघ संस्था, निजी क्षेत्र, व्यवसायिक संघ संस्थासँग पनि सहकार्य हुने आयोजक एनटीपी मल्टिमिडिया ग्रुपले जनाएको छ । फेस्टिभलका वक्ता तथा मोडरेटर एवं अन्य कार्यक्रम क्रमशः सार्वजनिक गरिने पनि पत्रकार सम्मेलनमा बताइएको छ ।

images