images

अन्नपूर्ण केबलकारले आईपीओ जारी गर्दै, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

images

काठमाण्डौ । पर्यटकीय नगरी पोखरामा विगत दुई वर्षदेखि सञ्चालनमा रहेको अन्नपूर्ण केबलकारले साधारण सेयर (आईपीओ) जारी गर्ने तयारी गरेको छ । अन्नपूर्ण केबलकार नेपालमा सञ्चालित केबलकारमध्ये हिम शृङ्खलाको सबैभन्दा नजिक र विदेशी लगानी भएको एकमात्रै केबलकार हो ।

 

images

आईपीओ निष्कासनको प्रक्रिया अघि बढाउनका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिएको छ । बुधवार आयोजित कार्यक्रममा अन्नपूर्ण केबलकारका अध्यक्ष कालु गुरुङ र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कविन्द्र ध्वज जोशीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

 

२०७८ साल फागुन ६ देखि सञ्चालनमा आएको अन्नपूर्ण केबलकारले कम्पनीको जारी पुँजी १ अर्ब ५५ करोडको २० प्रतिशतले हुने ३१ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा सर्वसाधारणहरूलाई समेत बिक्री गर्न लागेको हो । केबलकारमा जनताको सहभागिता बढाउनको लागि २० प्रतिशत आईपीओ निकाल्ने निर्णय गरेको कम्पनीका अध्यक्ष गुरुङले जानकारी दिए । कम्पनीले अंकित मूल्य एक सय रुपैयाँको दरले आईपीओ निकाल्ने छ ।

पाँच वर्ष अगाडि निर्माण सुरु भएको केबलकार कोभिडको कारण तोकिएको भन्दा दुईवर्ष ढिला गरी सञ्चालनमा ल्याइएको थियो । आईपीओ निष्कासनपछि कम्पनीले थप परियोजनामा समेत लगानी गर्ने योजना बनाएको जानकारी गुरुङले दिए ।

 

पोखरा महानगरपालिका–१८ स्थित सेदीबगर स्थित अन्नपूर्ण केबलकारको बटम स्टेसन निर्माण गरिएको छ । जसको निर्माण लागत १ अर्ब ९७ करोड रुपैयाँ लागेको कम्पनीले जनाएको छ । जसमा कम्पनीका संस्थापकले सुरुमा इक्विटीमा ९० करोड लगानी गरेका थिए । केबलकार निर्माणको लागि कम्पनीले बैंकसँग १ अर्ब ७ करोड रुपैयाँ ऋण लिएको थियो ।

 

केबलकारको माथिल्लो स्टेसन सराङ्गकोटमा अहिले पञ्चमुखे गणेशको मूर्ति निर्माण भईरहेको छ । सो मूर्ति ४८ फिट अग्लो र ४४ फिट चौडाई रहेको छ । यो मूर्ति विश्वकै ठूलो मध्ये एक हो । यसबाहेक भ्यू टावर, मूर्तिसहित अन्य संरचना आगामी ६ महिनाभित्र निर्माण सम्पन्न गर्ने अध्यक्ष गुरुङले जानकारी दिए ।

 

केबलकार चढेर सराङ्गकोटबाट सूर्योदय, सूर्यास्त तथा हिमालको दृश्य हेर्न सकिन्छ । विश्वकै पर्यटकीय सूचीमा रहेको पर्यटकीय नगरी पोखराको अन्नपूर्ण केबलकारबाट तीन किसिमका दृश्यावलोकन गर्न सकिनेछ । सूर्योदय, सूर्यास्त, हिम शृङ्खलासहित तालको समेत एकै स्थानबाट अवलोकन गर्न सकिनेछ ।

images