
ढकाल सर, हजुरलाई हाकिम सरले आफ्नो क्याबिनमा बोलाउनुभएको छ, ५ मिनेट भित्रै जानु है कार्यालय सहयोगीको यो वाक्य कानमा पर्नासाथ आज ढकाल सरलाई डर होइन, रिस उठ्यो, किन बोलाए फेरी ?? गर्दै गरेको काम छोडेर माथिल्लो तलामा रहेका हाकिम सा’ब तर्फ ढकाल सरको पाइला लम्कियो। आज फेरी किन बोलाका हुन खै हाकिम सा’ब ले ??? यो २ वर्ष यता ढकाल सरलाई हाकिम साबले बोलाउने क्रम अनगिन्ती छ। आज पनि उही पुराना हाकिमका जस्तै कुरा दोहोर्याउन त बोलाका होलान् नि, २/४ दिन देखि उनलाई उनका अन्यत्र काम गर्ने सहकर्मीको कुरा सुन्दा सुन्दै जागिरप्रति निराशा साथै आक्रोश भरिएको छ। आज उनी पहिला हाकिम सा’ब लाई जस्तो निहुरिएर “हस् सर” भन्ने मनस्थितिमा छैनन्। उनको मन सँगै पाइला पनि पहिले जस्तो छैन। उनका लम्किएका पाइला भर्याङ चढ्दै गर्दा टिपटप रूपमा सजिएका छिटोछरितो स्वभावका टल्केका जुत्ता सहित टक टक गर्दै झरेका हरि सर सँग जम्का भेट हुन्छ, के छ ढकाल सर ? छिटो छिटो प्रश्न सोधी उत्तर पनि नपर्खी भर्याङ झरेका हरि सरलाई पछाडिबाट हेर्दै ढकाल सर मनमनै सोच्छन्, म पनि जवानमा हरि सरभन्दा कम फुर्तिलो थिइन, २ जना कर्मचारीले नभ्याउने काम दिनभरिमा कति छिटो सक्थे, दुईचोटी त उत्कृष्ट कर्मचारीको रूपमा पुरस्कृत भएको पनि सम्झिन्छन् । उनी सोच्दा सोच्दै हाकिम सा’बको क्याबिननेर पुग्छन् ।
सरले मलाई बोलाउनुभएको हो ?
हजुर हो।
टिपटप रूपमा सजिएका करिब ३५ वर्ष जतिका हाकिम साबले सोफामा बस्ने इसारा गर्छन् र ढकाल सर पनि नबोली टुक्रुक्क सोफामा बस्छन्।
अनि ढकाल सर के छ खबर ? काम कस्तो छ ?
ठिकै छ सर ।
ठिकै छ कि ठिक छ ढकाल सर ? गिज्याए जसरी हाकिम सा’ब ले प्रश्न गर्छन् । कति वर्ष पुग्नु भो रे ढकाल सर ? अनि हिजोआज हजुरको काममा अलि सुस्तता आएको जानकारी पाइरहेको छु, अनि अफिस पनि ढिला आइपुग्नुहुन्छ अरे, बिदामा पनि बसिरहनुहुन्छ, काममा अलि मन छैन कि कसो हो ढकाल सर ?
त्यस्तो हजुरले भने जस्तो त होइन सर, पारिवारिक मान्छे परे, कहिले काम, कहिले बिरामी अनि कहिले के यस्तै भइराखेको छ। तर मैले मेरो जिम्मेवारी पुरा गरिरहेकै छु।
खै, हजुरको हिजोआज अल्लि गुनासा धेरे आइरहेका छन् । युवा कर्मचारीले जस्तो प्रविधिमा ज्ञान छैन, काममा ढिलासुस्ती, विविध नयाँ प्रक्रियागत कुरामा खाली त्रुटि भेटिइरहन्छ, काम छिटो छरितो पनि छैन। कहिले बिरामी पर्नुहुन्छ २/३ दिन आउनहुन्न के भन्नु खै ढकाल सर” बरु जागिर अव सोच्ने हो की ?” यसरी त संस्थालाई त गाह्रो पो पर्छ, हाकिम सा’ब का यस्ता कुराले ढकाल सरको कन्सिरी नतात्ने कुरै भएन।
यसरी नभन्नु भो सर, म सँग २० वर्षको अनुभव छ, हजुर जस्तो उमेरमा म २/२ पटक उत्कृष्ट कर्मचारी भएकै हुँ। समय र प्रविधिसँगै परिवर्तनका लागि हामीलाई पनि वृत्ति विकास तालिम दिनुपर्यो नि, प्रविधिसँग साक्षात्कार हुन हामीलाई प्रविधि सम्बन्धी वार्षिक रूपमा दिइने कुनै पनि प्रकारका तालिम दिइँदैन, सृजनशीलता त पर कै कुरा, संस्थागत अन्तरक्रियात्मक कार्यक्रम पनि आयोजना गरिँदैन र सहभागिता पनि गराइँदैन, सबैलाई समानान्तर रूपमा व्यवहार पनि गरिँदैन।
बिहान सात बजे आएर बेलुका काम नसकुन्जेल पनि बसेकै हो, त्यो अतिरिक्त कामको भत्ता पनि दिइएन, प्रोत्साहन भत्ताको त कुरै छोडौँ यो संस्था दुई कोठाबाट सुरुवात भएर चार बिल्डिङ सम्म पुग्नुमा कतै न कतै मेरो पनि केही योगदान त अवश्य होला, अनि हामीलाई स्वास्थ्य बिमा खोइ ? सामाजिक सुरक्षाको व्यवस्थाका बारेमा पनि सुनेको थिए त्यसको पनि कुनै सुरुवात भएको छैन, यी र यस्ता कहीँ व्यवस्था छैन । ल, आखिर हामी काम गर्न नसक्ने भयौ, ठिकै छ, खै त हामीलाई यत्रो वर्ष यो संस्थालाई योगदान गरेवापतको निवृत्ति भरण तथा रिटायर लाइफका लागि के सुविधा छन् त ?? आदि इत्यादि…..
ढकाल सरको वोलिको प्रवाह नरोकिने छाँट देखेपछि बिचमा हाकिम सा’ब सोधे
चिया पिउ है ढकाल सर??
हैन सर, आज मेरो मन साह्रै दुखेको छ। ढकाल सरको वोलिको प्रवाह चलिरहन्छ ।
हिजो आज मलाई जागिरप्रतिको असन्तुष्टि बढ्दो छ, मेरो साथी एउटा स्कुलमा कार्यालय सहयोगीको रूपमा १५ वर्ष योगदान गर्यो, बिचरा उ उक्त स्कुलको सुरुवात टहराबाट हुँदा उ पहिलो एकल गेटमा थियो, त्यो स्कुललाई उकास्न उसले कति गर्यो, विद्यार्थीका सिँगान पुछ्ने देखि लिएर घर घर सम्म विद्यार्थी लिएर पुग्दा साँझ घर पुग्थ्यो,हाल उक्त स्कुल मा करिब ५०० विद्यार्थी छन् भने ३ वटा ठुलठुला भवन छन् र उक्त स्कुल नाम चलेको विद्यालय अन्तर्गत पर्दछ। तर नयाँ विद्यालय कमिटी आएर अस्तिको हप्ता खाली हात जागिर बाट निकाली दिएछन्, ‘संस्कार र शिक्षा दिने विद्यालयले आफ्नो कर्मचारीलाई तिरस्कार पूर्ण व्यवहार गरेर निकालेछन्
।
रुमालले पसिना पुछ्दै पुन सुरु हुन्छन् ढकाल सर
मेरो सम्धीको पनि त्यस्तै छ हालत, सामाजिक संस्थामा थुप्रो वर्ष काम गरे सामाजिक संस्थाले दुखी, पीडितलाई न्याय दिनुपर्छ भनेर सरकारलाई कानुन बनाउन प्रेसर दिने संस्थाले आफ्नै कर्मचारी सम्बन्धमा नियम बनाउन सक्दैन, समाजको हित र नागरिक हितमा खुलेका सार्वजनिक सङ्घ संस्थाले आफ्नै कर्मचारीलाई हेपाहा प्रवृत्तिको व्यवहार गर्छन् यो पनि कतै न्याय भयो त…………….?
हैन, हैन, यस्तो होइन, ढकाल सर, मैले जागिर छोड्नु भनेको होइन, समय क्रमसँगै युवा कर्मचारी जस्तै छिटो छरितो तथा कार्यसम्पादनमा अझ राम्रो गर्नुपर्यो भन्न खोजेको मात्र हजुरलाई बोलाएको थिएँ। हजुरले सायद गलत सम्झनुभयो । हाकिम सा’ब को नम्र बोलिबाट ढकाल सरको अनवरत रूपमा बहिरहेको वाक्यहरू केही छिनका लागि रोकिनछन् अनि लामो श्वास र नम्रताका साथ उत्तर दिन्छन्।
सर,हरेक नयाँ हाकिम सा’ब आएपछि हामी उमेरले उत्तरार्धमा पुगेका हरेक कर्मचारीलाई टाउको दुखाइको विषय बन्छ । हामी पनि उमेरमा हजुर जत्तिकै ऊर्जाशील भई काममा खट्थ्यौ, संस्थालाई कसरी राम्रो हुन्छ भनेर लागि पर्थ्यौ र अहिले पनि परेका छौ । तर हाम्रो उमेरलाई दाँजेर अनि कार्यसम्पादनमा असन्तुष्टि जनाई हामीलाई असक्षम जसरी हेपाहा प्रवृत्ति गर्दा मन चसक्क हुन्छ । हामीसँग अनुभव छ, हामीसँग धैर्यता छ, अनुशासन पनि छ, तर हामीलाई समय क्रम अनुसार वृत्ति विकासका तालिम दिइएन, सुविधा दिइएन अनि समय क्रम अनुसार चल्ने ऊर्जाशील मनस्थिति निर्माण गरिएन । यसमा हामी कर्मचारीको गल्ती होइन, सरकार लगायत सम्बन्धित निकायको हो, हामीलाई समय क्रम अनुसार चल्न सिकाइएन अनि उमेरको उत्तरार्धमा “चाहिँदाको भाँडो नचाहिँदाको ठाडो “(नेपाली उखान) बनाउन त भएन नि । कर्मचारी व्यवस्थापन सेवा सर्त सम्बन्धी एन २०७६ जस्ता कानुन बनेका छन् वा संस्था आफैले संस्थागत नियमावली बनाएर म जस्ता लाखौँ कर्मचारीलाई योगदानको कदर पूर्वक सम्मान सहित निवृत्त जीवनका लागि गरिनु अत्यावश्यक छ । आशा छ यो प्रक्रिया यस संस्थाबाट सुरुवात होस् अनि म जस्ता लाखौँ कर्मचारी यसको लाभ उठाउन् । ता कि जागिरे जीवनमा गरेको योगदानको आधारमा निवृत्त जीवनमा अपमानित नभई सम्मान पूर्वक बिदाइ होस । यत्ति भन्दै सेलाई सकेको टेबलको चिया अलि पर सारेर दुई हात जोड्दै ढोका बाहिर निस्कन्छन्।
ढकाल सर त केवल वर्तमान कर्मचारीको एक पात्र मात्र हुन उनी जस्ता हजारौँ र उनिभन्दा पनि अझ अप्ठेरो र कठिन परिस्थिति झेल्ने लाखौँ कर्मचारीको तितो यथार्थ बाहिर आएकै छैन।
कर्मचारी भन्ने बित्तिकै नेपाल सरकारका स्थायी कर्मचारी भन्ने बुझिन्छ भने झट्ट मानसपटलमा सुखी खुसी र धनी जीवन बिताउने समूह अन्तर्गत बुझिन्छ तर स्थायी, अस्थायी, करार तथा ज्यालादारी कर्मचारी कर्मचारीहरूको भित्री पिडा सुनी नसक्नु छ । दैनिक कार्यको बोझ बिदाका दिन पनि अतिरिक्त कार्य ठुलाबडा हाकिमको चाकडी तथा कति ठाउँमा त रिझाउनका लागि थप खर्च गर्नुपर्ने बाध्यता बाहिर आउन सकेको छैन र नसकेर भित्रभित्रै दबिएका समस्याका रूपमा रहेका छन्।
उमेर छउन्जेल र चाकडी हुन्जेल दिनरात काममा खटिने कर्मचारीहरूलाई वृत्ति विकास सम्बन्धी तालिम तथा सुरक्षाका लागि सामाजिक सुरक्षाको सैद्धान्तिक कुरा उठाईएपनि व्यवहारिक रूपमा कार्यान्वयन नभइरहेको तितो यथार्थ यथावत् छ । जल्दो बल्दो उमेरमा परिश्रमी बनेर देश संस्था र व्यक्तिगत कम्पनीका लागि खटेका कर्मचारी शरीरले साथ नदिँदा समयसँगै कार्यरत संस्थाले गर्ने तिता नमिठा व्यवहारका साथै योगदान विहीन रित्तो हात घर फर्किनु जागिरे जीवनको सबैभन्दा नमिठो र अपमानजनक अनुभव सिवाय हात केही नलाग्दा जागिरे जीवनमा निराशा अवश्य आउँछ।
बाहिर सेवा तथा कार्यदक्षता र क्षमता ब्यानरमा टाँगेर मात्र कुनै पनि संस्था उँभो लाग्न सक्दैन । सरकारी सामुदायिक होस् वा व्यक्तिगत कुनै पनि संस्थालाई बाहिर देखावटी सजावट भन्दा पनि कार्यसम्पादनमा सर्वोकृष्टता ल्याउनका लागि उक्त संस्थामा कार्यरत कर्मचारी वा सेवा प्रवाहकर्तामा सकारात्मक मनोभावना र उत्प्रेरणाको विकास गर्नु अत्यावश्यक छ । असन्तुष्टि र असहजताका वावजुत प्रवाह हुने सेवा शत प्रतिशत शुद्ध हुन्छ भन्न सकिँदैन त्यसैले संस्थाले दिने सेवालाई प्रभावकारिताका लागि उक्त संस्थामा कार्यरत कर्मचारीलाई सहज वातावरण र सृजनशील मनोभावना कायम राखिरहनु जरुरी छ । जागिरबाट आवश्यकता परिपूर्ति हुन नसक्दा अवैध कार्यमा मन जाने सम्भावनाका साथै उत्प्रेरणामा पनि कमी आउनुले सेवाग्राहीलाई पनि सकस भइरहने हुँदा संस्थालाई अर्थोपार्जनका हिसाबले मात्र नलिई कर्मचारीको सुरक्षा तथा सेवाग्राहीको सन्तुष्टिलाई ध्यान दिनु जरुरी छ।
लेखिका हाल जिल्ला अदालत धनुषामा इजलास अधिकृतमा कार्यरत हुनुहुन्छ ।