images

पाठ्यक्रम निर्माण तथा कार्यान्वयनका लागि पूर्वाञ्चल विश्वविद्यालय र सिबिफिनबीच सहकार्य गर्ने सम्झौता

images

काठमाण्डौ । नेपालको बैंकिङ क्षेत्रमा देखिएको वर्तमान आवश्यकता, बजारमा उपलब्ध मानवीय पुँजीको समग्र अवस्था, आमविद्यार्थीको बैंकिङ क्षेत्रप्रतिको आकर्षण एवं आकांक्षालाई मध्यनजर गर्दै आवश्यक दक्ष एवं प्रतिस्पर्धी मानवीय पुँजीको उत्पादन एवं उपयोगका लागि उत्कृष्ट पाठ्यक्रम निर्माण तथा कार्यान्वयनका लागि बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र पूर्वाञ्चल विश्वविद्यालयबीच सम्झौता भएको छ। सम्झौतापत्रमा सिबिफिनका तर्फबाट अध्यक्ष पवनकुमार गोल्यान र पूर्वाञ्चल विश्वविद्यालयका तर्फबाट उपकुलपति प्राडा यादवराज कोइरालाले हस्ताक्षर गरेका छन्।

शिक्षालाई सिपसँग, सीपलाई श्रमसँग र श्रमलाई व्यवहारिकता तथा उत्पादनसँग जोड्दै राष्ट्रिय एवं अन्तर्राष्ट्रिय बैंकिङ क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष एवं क्षमतावान् मानवीय पुँजीको उत्पादन तथा विकासका लागि अन्तर्राष्ट्रियस्तरको पाठ्यक्रम निर्माण गरी देशभित्र नै अध्ययन तथा अध्यापनको उपयुक्त अवसर सिर्जना गर्नु, देशैभित्र मानवीय पुँजीको उपयुक्त परिचालन तथा उपयोग गर्नु र नेपालको बैंकिङ क्षेत्रले प्राप्त गरेको विश्वास र प्रतिष्ठालाई अन्तर्राष्ट्रियकरण गर्नु उक्त सम्झौतापत्रको मुख्य उद्देश्य रहेको छ।

images

कर्जा जोखिम, सम्पत्ति व्यवस्थापन, तरलता र जोखिम मूल्यांकन, तरलता र जोखिम व्यवस्थापन, वित्तीय उपकरण विकास, वित्तीय इन्जिनियरिङ, डिजिटल तथा क्रिप्टो करेन्सी, वित्तीय मोडेलिङ, वित्तीय स्थायित्व, वित्तीय समावेशीकरण, डिजिटल फाइनान्स, छाँया बैंकिङ, स्टार्ट अप बिजनेस, स्वउद्यमशीलताजस्ता नवीन विषयहरु र बैंकिङ क्षेत्रमा प्रवेश गरिसकेपछि व्यवहारिक रुपमा सम्पादन गर्नुपर्ने कार्यहरुका विषयमा पाठ्यक्रम निर्माण हुनेछ।

त्यसैगरी विदेशी मुद्रा नीति, विदेशी विनिमय व्यवस्थापन तथा विदेशी विनिमय दर र विदेशी मुद्रा नीतिमा यसको प्रभाव, भुक्तानी प्रणाली विकास, भुक्तानी उपकरण, भुक्तानी प्रणाली पूर्वाधार, इलेक्ट्रोनिक भुक्तानी प्रणाली, ई–बैंकिङ तथा डिजिटल बैंकिङ, ब्याजदर, निक्षेप, कर्जा, पुँजीबजारको विकास, पुँजीबजारका साधन र पूर्वाधारजस्ता विषयहरुमा प्राप्त हुने व्यवहारिक ज्ञानले कार्यसम्पादनमा चुस्तता एवं निपूर्णताको विकास गर्ने र वर्तमान तथा भविष्यमा बैंकिङ क्षेत्रमा देखिने जोखिम व्यवस्थापनसहित बैंकिङ क्षेत्रको दिगो विकासमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा राखिएको छ।

प्रारम्भिक चरणमा स्नात्तकोत्तर तहमा लागू हुने यस पाठ्यक्रमलाई विस्तारै तल्लो तहबाट नै लागू हुने गरी थप पाठ्यक्रम निर्माण गर्ने लक्ष्य राखिएको छ। पाठ्यक्रम निर्माणका लागि ख्यातिप्राप्त विषयविज्ञहरु रहेको एक कार्यदल गठन गरी सरोकारवाला पक्षहरुसँग व्यापक छलफल तथा परामर्श गर्ने कार्य तत्काल आरम्भ गरिनेछ।

हस्ताक्षर कार्यक्रममा सिबिफिनका अध्यक्ष पवनकुमार गोल्यानले यस संझौताको प्रभावकारी कार्यान्वयनमा जोड दिँदै बैकिङ बजारको आवश्यकताको परिपूर्तिमात्र नभई स्तरीय शिक्षाका लागि ठूलो संख्यामा विदेशिने युवा जनशक्ति र धनराशीलाई रोक्दै शिक्षाका लागि विदेशी विद्यार्थीहरुलाई आकर्षित गर्न र नेपाललाई शैक्षिक पर्यटनका रुपमा विकास गर्न पनि यस संम्झौताको कार्यान्वयनले महत्वपूर्ण टेवा पुग्ने धारणा व्यक्त गरे।

 

त्यसैगरी पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा यादवराज कोइरालाले निर्माण हुने पाठ्यक्रम पूर्वाञ्चल विश्वविद्यालयमा लागू गर्ने बताउँदै, उक्त पाठ्यक्रमले बैंकिङ क्षेत्रका व्यवहारिक विषयहरुमा ज्ञान दिनुका साथै विश्वस्तरमै प्रतिस्पर्धा गर्न सक्ने सक्षम जनशक्तिको उत्पादनमा ठोस योगदान पुग्ने विश्वास व्यक्त गरे। यसका साथै उनले विद्यमान पाठ्यक्रमलाई समेत समयानुकूल परिमार्जन गरिनेसमेत बताए।

सुन्धारास्थित सिबिफिनको कार्यालयमा सम्पन्न भएको सम्झौता हस्ताक्षर कार्यक्रममा सिबिफिनका सचिव कुशप्रसाद मल्ली, कार्यकारी सदस्यद्वय उपेन्द्र प्रसाद पौडेल, महेन्द्रकुमार गोयल, महानिर्देशक डा गोपाल प्रसाद तिवारी र पूर्वाञ्चल विश्वविद्यालयका रजिष्ट्रार नीलमणि पोखरेल, डीन प्राडा बिजुकुमार थपलिया, निर्देशक (एमफिल÷पीएचडी कार्यक्रम) डा. उत्तम कुमार रेग्मी, विषय समितिका अध्यक्ष प्राडा सदय हमाल र वरिष्ठ अधिकृत विनय भट्टराईको उपस्थिति रहेको थियो।

images