images

४ वर्षभित्र टप ५ मा पुग्ने युनाइटेड अजोड इन्स्योरेन्सको उद्घोष

images

काठमाण्डौ । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड र अजोड इन्स्योरेन्स लिमिटेड एकआपसमा गाभिएर बनेको युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडको एकीकृत कारोबार आयतबार सुरु भएको छ।

एकीकृत कारोबार सुरु गरेको कम्पनीले आगामी ४ वर्षभित्र सर्वश्रेष्ठ ५ निर्जीवन बीमा कम्पनीभित्र पर्ने उद्घोष गरेको छ। नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले आइतबार काठमाडौंमा आयोजित विशेष समारोहमा नयाँ कम्पनीका अध्यक्ष आजाद श्रेष्ठलाई इन्स्योरेन्स अपरेसन्स लाइसेन्स हस्तान्तरण गरेका थिए।

images

मर्जरसँगै कम्पनीको चुक्तापुँजी १ अर्ब ९० करोड ४६ लाख रुपैयाँ पुगेको छ। कम्पनीको सामान्य जगेडा कोषमा ५९ करोड ६७ लाख र बीमा कोषमा ७२ करोड ६४ लाख रुपैयाँ छ। कम्पनीको नेटवर्थ ३ अर्ब २६ करोड ३५ लाख पुगेको छ। त्यसैगरी शाखा संख्या १०० र कर्मचारी संख्या ५८१ कायम भएको छ। बीमालेख संख्या १ लाख ९२ हजार ८२५ र कुल प्रिमियम २३९ करोड ७९ लाख रुपैयाँ पुगेको छ। नियमनकारी निकायले तोकेका क्षेत्रहरुमा गरिएको कम्पनीको लगानी ३ अर्ब ९८ करोड ७९ लाख रुपैयाँभन्दा माथि पुगेको छ।

 

समारोहलाई सम्बोधन गर्दै बीमा प्राधिकरणका अध्यक्ष सिलवालले बीमा कम्पनीहरुले ग्राहकमाझ विश्वास बढाउनुपर्नेमा जोड दिए। बीमा क्षेत्रमा असीमित जोखिम तर सीमित पैसाले गर्दा बेथिति समेत बढेको पाएपछि प्राधिकरणले कम्पनीहरु गाभ्ने नीति ल्याएको उहाँले बताउनुभयो। मर्जरपछिको कम्पनीमा सिनर्जी ल्याएर उत्कृष्ट सेवा प्रदान गर्न उनले सुझाए।

अध्यक्ष सिलवालले बीमालेखको लागत घटाउन र भइरहेका बीमालेखमा थप सुविधा के दिन सकिन्छ खोज्न पनि सल्लाह दिए। अबउप्रान्त बीमा कम्पनीहरुलाई मापदण्ड पूरा नगरी शाखा खोल्ने अनुमति नदिने पनि उनले बताए। निश्चित रकमसम्मको दाबी क्षेत्रीय कार्यालयबाट भुक्तानी गर्ने व्यवस्था मिलाउनुपर्ने तथा सुशासन र पारदर्शिता कायम गर्नुपर्नेमा उनको जोड थियो।

 

कार्यक्रममा साबिक युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल)का अध्यक्ष रविभक्त श्रेष्ठले गुणस्तरीय सेवा दिन र बीमाको लागत घटाउन कम्पनी मर्जरमा गएको बताए। कम्पनीको पुँजी बढाएर ठूलो बनाउनुपर्ने आवश्यकता महसुस भइरहेकै बेला नियामकले चुक्तापुँजी बढाउनुपर्ने नियम ल्याएपछि दुई कम्पनीबीच मर्जर भएको उनको भनाइ छ। अब कम्पनीले नयाँ नयाँ क्षेत्रमा लगानी गर्र्दै लगानीकर्तालाई उच्चतम प्रतिफल र सेवाग्राहीलाई गुणस्तरीय सेवा दिने उनले बताए।

 

भारत र बंगलादेशसँग तुलना गर्दा जनसंख्याको अनुपातमा बीमा कम्पनी धेरै भएको आफूहरुले पनि अनुभव गरेको श्रेष्ठले बताए। युनाइटेड अजोड इन्स्योरेन्सका अध्यक्ष आजाद श्रेष्ठले ४ वर्षमा कम्पनीलाई प्रतिस्पर्धी मूल्य, स्तरीय सेवा र नवीन प्रडक्टसहितको निर्जीवन बीमा सेवा दिने ५ सर्वश्रेष्ठ कम्पनीको पंक्तिमा उभ्याउने बताए।

 

चार वर्षभित्रै व्यक्ति, व्यवसाय एवं संस्थाहरुलाई वित्तीय सुरक्षा प्रदान गर्दै समाजमा सकारात्मक प्रभाव ल्याउने निकायको सूचीमा कम्पनीलाई समावेश गराउने, प्रविधिको उच्चतम प्रयोग गर्दै बीमा सेवालाई डिजिटल इन्स्योरेन्समा परिणत गर्ने र चीरस्थायी एवं नैतिक तवरले कम्पनी सञ्चालन गरी असल कर्पोरेट नागरिक बनाउने योजना उनले सुनाए। ‘पुरानोको अनुभव र नयाँको भिजनको फ्युजनबाट अभूतपूर्व सिनर्जी उत्पन्न हुने हाम्रो विश्वास छ,’ श्रेष्ठले भने, ‘आगामी दिनमा अझ सन्तुलित र व्यावसायिक व्यवस्थापनमार्फत अगाडि बढ्दै सर्वश्रेष्ठ सेवाको ग्यारेन्टी गर्नेछौँ। उपलब्ध आधुनिक प्रविधिको अधिकतम उपयोग गर्दै देशका दूर दराजसम्म बीमा सेवा विस्तार गर्नेछौँ।’

 

सेवा प्रवाहलाई अझ छिटोछरितो र विश्वसनीय बनाउँदै मित्रवत वातावरणमा सेवा प्रवाह एवं दाबी भुक्तानीलाई शीघ्र र सहज बनाउनेतर्फ केन्द्रित हुने पनि श्रेष्ठले बताए। कम्पनीलाई नयाँ उचाइमा पु¥याउन स्पष्ट भिजन, नवीन कार्यशैली, अटल इमानदारी र समर्पणका साथ अघि बढ्ने उनको भनाइ थियो। ‘राज्यलाई सक्दो बढी योगदान र सेयरधनीलाई उच्चतम प्रतिफलको ग्यारेन्टी गर्नुपर्ने कुरालाई हमेसा मनमा राखेर कदम चाल्नेछौँ’, उनले भने।

 

निर्जीवन बीमा व्यवसायी संघका अध्यक्ष तथा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले कम्पनीलाई शुभकामना दिने क्रममा नयाँ कम्पनीलाई अनुमति दिँदा नियामकले विचार पुर्याउनुपर्ने बताए। नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले बीमा कम्पनीहरु बीमा सेवा नपुगेको जनसंख्यामा पुग्नुपर्नेमा जोड दिए।

 

समारोहमा नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड, कम्पनी रजिस्ट्रारको कार्यालय र सिडिएस एन्ड क्लियरिङ लिमिटेडका प्रमुख तथा उच्च अधिकारीहरु सहभागी थिए। त्यसैगरी विभिन्न बैंक वित्तीय संस्था र बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत, दुवै कम्पनीका संस्थापक सेयरधनीलगायतको सहभागिता थियो।

images