images

वीर अस्पतालका सात सय वटा बेड बिरामीलाई निःशुल्क, वार्षिक ५ करोड रुपैयाँ खर्च हुने अनुमान

काठमाण्डौ । वीर अस्पतालका ७ सयवटा जनरल बेड बिरामीलाई निःशुल्क उपलब्ध गराउने निर्णय गरिएको छ ।  चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को कार्यकारी परिषद्ले सो निर्णय गरेको हो । यसअघि अस्पतालले जनरल बेड शुल्क २ सय रुपैयाँ लिँदै आएको थियो ।

क्याबिन र आईसीयूका लागि भने बिरामीले शुल्क तिर्नुपर्नेछ । जनरल बेड निःशुल्क गर्दा वार्षिक ५ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले बताए । जनरल बेडमा लाग्ने शुल्क सरकारले व्यहोर्ने न्याम्सका उपकुलपति डा. भूपेन्द्र बस्नेतले बताए ।

त्यस्तै न्याम्सले अन्य आंगिक अस्पतालहरूसँग समन्वय गरेर त्यहाँको बिरामीको चापलाई व्यवस्थापन गर्ने कार्ययोजना बनाएको छ । स्वास्थ्यमा आम नागरिकको सहज पहुँचलाई सुनिश्चित गर्न सरकारले न्याम्स मार्फत काम अघि बढाउने तयारी गरेको हो ।

विहिबार न्याम्सको उपकुलपतिमा डा. भूपेन्द्र बस्नेत, रेक्टारमा डा. लोचन कार्की, रजिष्ट्रारमा डा. ज्ञानेन्द्र शाह र डिनमा डा. अशेष ढुंगाना नियुक्त भएका हुन् ।