
काठमाण्डौ । सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ। मुस्लिम धर्मालम्बीहरुको पर्व बकर इद (इद उल अजहा) का अवसरमा बिहीबार सार्वजनिक बिदा दिएको गृह मन्त्रालयले जनाएको छ।
ईद उल अजाह अर्थात् बकर ईद मुस्लिम समुदायको महान पर्व हो । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औं दिनमा बकर ईद मनाउने धार्मिक विधि छ । यस दिन मुस्लिम धर्मावलम्बीले बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने गरिएको छ ।
यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्ने गर्दछ ।
हिजरी संवत अनुसार १४४० वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको बताइन्छ ।