ए ! प्रकृति
ए ! सृर्जनाकी खानी
ए ! सृष्टि कर्ता
ए! प्रकृतिको विधायक तिमी
कसलाई सोधौँ के भैरहेको छ ?
तिमी कति निष्ठुर ,भनौँ कि नभनौँ ?
हुन त तिम्रो वशको कुरा कति हो ?
सबै दोषारोपण तिमीलाई नै जान्छ
शिशिर ऋतु तिम्रै उपहार थियो
वसन्त ऋतु तिम्रै उपहार थियो
तिम्रो चर्चा विश्वभर गर्नेहरु
तिम्रो गुणगान गाउनेहरु ती सबै खै?
धेरै साहित्यिक मनहरु आज
तिमीलाई नै धारे हात लाउदैँ छन् अरे
तिम्रो विकल्प खोज्दैछन् अरे
कृत्रिमतालाई गुहार्दै छन्
एसी, कुलर पङ्खाले
तिम्रो अधिकारमाथि प्रकृष्ठता बढ्दै छ ।
थाहा पाइ राख कृत्रिमताले
अरुलाई काखी च्याप्न थालेका छन् अचेल
नजिकिदैँ छन् संवरहरु बिचार गर
ग्रीष्म, वर्षा शरद्, हेमन्त
सबै ऋतुका बखान गर्ने तिम्रै ती
समर्थक कलमहरु आज
चोक र चौताराबाट तिमीलाई सराप्दै कालो मसीले
तिमीसँग गरेका समरका कहानी लेख्दै छन्
तिम्रो रापले तातेर आगाका फिलिङ्गा फाल्दै छन्
ए ! प्रकृति तिमी
आज धप धप बलेकी छौ
धरालाई धपक्क बालेकी छौ
न्यानो वक्षस्थलमा राखेकी छौ
तिम्रो रसास्वादन गरेर
अरुलाई लोभ्याउने
अरुको आहारा बनिदिने वृक्षलाई
चुनौती दिँदै
कक्रक्क सक्रक्क पारेर
भित्तातिर ज्वाला सारेर
जल र जमिनको किन खै
लामो विछोड बनाएर
तिमी ४४ ° डिग्रीको तापक्रम शरीरमा बढाउँदै
उपहासको हाँसो हाँस्दै छौ
तिम्रो त्यो हाँसो कसैले बुझेनन
कि तिमीले बुझाउन सकिनौ
तिम्रो त्यो व्यङ्ग्यात्मक हाँसोले
आक्रमण गर्दैछ
कतै त्यो आफ्नो पीडा
हाँसोमा व्यक्त गरेकी छौ की त ?
मनुष्यका ती उद्वेगमाथि
चुनौतीपूर्ण जवाफ दिदैँ छौ की
कतै अवेगमा आएर कृत्रिममता र प्रकृतिको
समर निम्त्याउने पो हौ की ?
ए ! प्रकृति
तिमीलाई कसैले सोधेका छन्
के छ तिम्रो हालखबर
तिमी कतै सङ्घर्षरत छौ की
कतै कष्टकर पीड़ामा छौ की
त्यसैको झापड आज दिएकी छौ की
ए ! प्रकृति