
मलाई चोट लाग्दा ऐय्या! भन्ने तिमी
मेरो सफलतामा मभन्दा पनि
बढ्ता खुसी हुने तिमी
मेरो सपनालाई आफ्नो सपना बनाउने तिमी
कसरी बदलियौ आज तिमी????
तिम्रो मायामा राजनीतिको गन्ध मिसिएको छ
जता आफ्नो दुनो सोझिन्छ
त्यतै माया खिचिएको छ
कसैको दिल परित्याग
अनि अर्को दिलमा प्रवेश
यी त तिम्रा नित्यकर्म बनेका छन् ।
आज खुसीको झण्डा फर्फराउने ती हातहरु
भोलि कसैको दिल तोडिएको केसमा
हतकडीभित्र नपरुन् !
चोक्टा खान गएकी बुढी
झोलमा डुबी मरी, भनेको त सुनेको थिएँ
तर तिमी त मायाको खेलाडी
अरुलाई डुबाउन र आफू उत्रिन माहिर छौ!
डुब्नेहरु विचरा! गुहार गुहार गरिरहेछन्
तिमी भने अन्त अन्त दिल जोड्दै
प्यार प्यार गरिरहेछौ!
अनि भन्छौ नियमित आकस्मिकता!
काँडाले घोच्न छोड्यो भने
सम्झनुस त्यो काँडा रहेन!
त्यसैले तिमी बदलिन नछोड्नु
शुभकामना! तिमीलाई
सधैँ यसरी नै बदलिरहनु!
- कविः रञ्जना लामिछाने