
काठमाण्डौ । सहकारीमा ऋण लिनु भनेको पिडा नभइ लगानी भएको सहकारीकर्मीहरुले बताएका छन् । सहकारीबाट ऋण लिएकाहरु पिडित नभइ उद्यमी भएको बताउँदै सदस्यहरुले व्यवसाय गरी आर्थिक उन्नती गरेको उनीहरुले तर्क गरेका छन् ।
अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा सहकारी समन्वय मञ्च गैँडाकोट र गैँडाकोट नगरपालिकाको संयुक्त आयोजनामा भएको ‘गैँडाकोटमा सहकारीको वर्तमान अवस्था र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीले जसले छलछाम गर्न खोजे उनीहरु आफै समस्यामा पर्ने उनीहरुको भनाई थियो ।
सहकारी समन्वय मञ्च गैँडाकोटका संस्थापक अध्यक्ष एवम् सहकारीकर्मी खेमराज सापकोटाले ‘दिगो विकासमा सहकारीको भूमिका’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै सहकारीले अब दिगो विकासका लागि प्रबिधिमा बढी जोड दिनुपर्ने बताए ।
गण्डकी साकोसका संस्थापक अध्यक्ष गोबिन्द सुवेदीले ‘सञ्चालकको भूमिका, सहकारीका समस्या र समाधानका उपाय’ बारे प्रस्तुती दिँदै सदस्यमैत्री बन्न सके सहकारीको अवस्था राम्रो हुने बताए ।
गैँडाकोट नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख देवेन्द्र गौतमले ‘सहकारीको वर्तमान अवस्था र चुनौती, नियामक निकायको भूमिका’का विषयमा प्रस्तुती दिँदै एउटै व्यक्ति एकै प्रकृतिका विभिन्न संस्थामा आवद्ध हुँदा यस्तो समस्या आएको बताए । उनले ऋण लिएर म पिडित हो भन्न नमिल्ने बताउनुभयो । सहकारीले चक्रिय ब्याज वा नियम भन्दा बढी ब्याज लिएर कारोबार गरेको भए नियमन गर्नुपर्ने उनले बताए ।
कार्यक्रमका प्रमुख अतिथि गैँडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीले सहकारीबाट ऋण लिएको भए तिर्नु सबैको दायित्व हुन आउने बताए । उनले सहकारी सञ्चालकले पनि नीति बिधिमा टेकेर सञ्चालन गर्नुपर्ने बताए ।
राष्ट्रिय सहकारी बैंक लिमिटेडका लेखा सुपरिवेक्षण समिति सदस्य केशवप्रसाद सापकोटाले सहकारीलाई स्वस्थ रुपमा सञ्चालन गर्नुपर्ने सबैको दायित्व भएको बताए । उनले सञ्चालक समितिमा भागवण्डा भन्दा योग्य व्यक्ति आउनुपर्ने, सदस्यसँगको सामिप्यता बढाउनुपर्ने, ऋणको अवधि जस्तै बचतको समयाबधि पनि बढाउनुपर्ने लगायतको काम गर्नुपर्ने बताए ।
जिल्ला सहकारी संघ नवलपुरका अध्यक्ष तिलकप्रसाद पराजुलीले सबै मिलेर सहकारीका विकृतिहरु हटाई सरकारीलाई सुरक्षित बनाउनुपर्ने बताए । जिल्ला बचत तथा ऋण सहकारी संघका पूर्वअध्यक्ष माधवप्रसाद गौतमले सहकारीलाई नीति अनुरुप सञ्चालन गर्नुपर्ने बताए ।
सहकारी समन्वय मञ्च गैँडाकोटका अध्यक्ष प्रेमप्रसाद सापकोटा ‘राजु’ ले सहकारीको ऋण मिनाहा नहुने र ऋण तिनुपर्ने बताउनुभयो । अहिले विभिन्न व्यक्ति र समूहले ऋण तिर्नु नपर्ने भनी गलत हल्ला फैलाएको बताउँदै यस्ता कुरामा सजग भई सबै सदस्यलाई समयमै ऋण तिर्न आग्रह गरे । साथै उहाँले सहकारीले पनि सदस्यमैत्री भएर ऋण तिर्ने सहज वातावरण बनाउनुपर्ने बताए ।