काठमाण्डौ । नारायणगढ–मुग्लिन सडकखण्ड पुनह अवरुद्ध बनेको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा सोमबार बिहान पहिरो खसेपछि सडक दुईतर्फी नै अवरुद्ध बनेको हो ।
पहिरोले एउटा ट्रक पल्टिएको छ भने पहिरो हटाउन सुरु गरिएको छ । अहिले सडक दुईतर्फी नै ठप्प भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए ।
पहिरो गएको स्थानमा ना६ख ७१० नम्बरको ट्रक पल्टिएको हो । ट्रकका चालक सामान्य घाइते भएका छन् । अहिले पहिरो पन्छाउने र ट्रकलाई उठाउने तयारी भइरहेको प्रहरी निरीक्षक तामाङले जानकारी दिए । उक्त स्थानमा पटक–पटक पहिरो खसेको छ ।
आइतबार झण्डै १८ घण्टा अवरुद्ध भएको यो सडक साँझबाट सञ्चालन भएको थियो । यसको केही समयमा फेरि पहिरो खसेकोमा पहिरो पन्छाएर सडक सञ्चालन गरिएको थियो । यो सडक हुँदै दैनिक हजारौँ सवारीसाधन आउजाउ गर्ने गर्दछन् ।