
२०६३ सालतिरको कुरा हो जतिबेला मैले भर्खर एसएलसी परीक्षा उत्तीर्ण गरेकी थिएँ । कुन विषय पढ्ने ? भविष्यमा के हुने ? कतातिर जाने ? निकै अन्योलको अवस्था सबैमा देखिन्थ्यो । १४ वर्षे अल्लारे उमेरले त्यतिबेला यस बारेमा खासै केही सोचेन वा सोच्न जानेन यो कुरामा म अझै पनि अनभिज्ञ नै छु । खैर, शिक्षकहरुले दिनुभएको सल्लाह, अभिभावकको मार्गदर्शन र साथीहरुको देखासिकी यिनै आधारहरुले नै भविष्यको गोरेटो निर्माण हुने गर्थ्यो ।
मेरो रुचिको क्षेत्र साहित्य भएकाले पनि मेरो घरपरिवारले मलाई नेपाली पढाउने निधो गर्नुभयो । मलाई अझै पनि याद छ त्यो दिन जुन दिन मैले नेपाली मुख्य विषय बनाएर शिक्षाशास्त्र सङ्कायमा कक्षा ११ मा भर्ना भएकी थिएँ । के पढ्ने भयौ ? धेरैले सोध्नुहुन्थ्यो, मैले भन्थेँ नेपाली । मेरो मुखबाट नेपाली भन्ने शब्द सुन्दाबित्तिकै नाकमुख एकै ठाउँमा कच्याककुचुक बनाएर, निधार खुम्च्याएर तिमीले पनि नेपाली पढ्ने ? विस्मय भावमा उल्टै मलाई नै प्रश्नहरु तेर्स्याउनुहुन्थ्यो । यो सबैको पछाडि एउटा कारण थियो । म प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण भएकी थिएँ । त्यो समयमा सरकारी विद्यालय पढेर प्रथम श्रेणीमा उत्तीर्ण हुनुलाई अब्बल दर्जाकै विद्यार्थीका रुपमा गणना गरिन्थ्यो र नेपाली विषयलाई कमजोर विद्यार्थीले पढ्ने विषयका रुपमा हेरिन्थ्यो। जान्ने विद्यार्थीले नेपाली पढ्नु हुँदैन भन्ने गलत मानसिकताको शिकार बन्नु परेकोमा नराम्रो लाग्थ्यो अनि झन् नेपाली विषय नै पढेर राम्रो गरेर देखाउँछु भन्ने ईख मनमा जागृत हुन्थ्यो । सायद यसैको परिणाम होला आज म तीनओटा कलेजहरुमा आबद्ध छु र स्नातकोत्तर तहसम्मका विद्यार्थीहरुलाई नेपाली विषय अध्यापन गरिरहेकी छु ।
यो त भयो मेरो जीवनको वास्तविक कथा तर यतिका समय बितिसक्दा पनि नेपाली विषयप्रतिको दृष्टिकोण र मानसिकता नबदलिएको देख्दा सार्है चित्त दुख्दोरहेछ। नेपालमा जन्मिएर , भाषा किन र के का लागि भन्ने कुरा नबुझ्दैदेखि तोते बोलीमा नेपाली बोल्न सिक्दै गर्दाको “क“ जिब्रोमै लतपतिई कतिबेला “A“ बनेर आमाको न्यानो वात्सल्य “mom“ मा परिणत भयो र जाबो नेपाली बन्न पुग्यो यसको भेउ अझै पाउन सकेकी छैन। अचम्मको कुरा त यो छ कि विश्व समुदायले संस्कृत भाषाको महत्त्व र गरिमा बुझेर आफ्नो पाठ्यक्रममा समावेश गरिसक्दा पनि हामी भने त्यही संस्कृत भाषाबाट जन्मिएको नेपाली भाषा जो नेपालको राष्ट्र भाषासमेत छ, अनिवार्य विषयका रुपमा राख्ने वा नराख्ने भनेर बहस गर्छौँ । यो भन्दा लाजमर्दो कुरा अरु के हुन सक्ला र?
तपाईं हामीजस्ता नेपाली भाषा र नेपाली विषयसँग सम्बन्ध राख्नेका लागि । नेपालमै जन्मिएर नेपालमै हुर्किएर नेपाली पहिचान बोकेका आडम्बरीहरुलाई नेपाली विषयको महत्त्व बुझाउन खोज्नु निदाए झैँ गरेकालाई ब्युँझाउन कठिन भएजस्तै हो । चिनी र नुन हेर्दा दुवै उस्तै उस्तै देखिए पनि तरकारीमा चिनी राखेर त पकाइदैन होइन र ? समय र सन्दर्भ अनुसार त हरेक कुराको आफ्नै महत्त्व हुन्छ नि ! जिब्रो लट्पटाई लट्पटाई, नाक बङ्गाई बङ्गाई जानी नजानी सकि नसकी अर्काको भाषाको नक्कल गर्दा सभ्य र आधुनिक भइने अनि कोइलीको जस्तो मधुरता भएको, सुन्दै मन प्रफुल्ल हुने, आफ्नै जिब्रोको, आफ्नै टोलाखोलाको, आफ्नै देशको भाषा प्रयोग गर्दा चाहिँ पाखे भइने रे ! होइन यो पाखे र आधुनिकको निर्धारणकर्ता चाहिँ को रहेछ? खैर,यी कुरालाई यही छोड्दिनुस जति कुरा गर्यो त्यति नै मन छियाछिया हुन्छ । जति कुरा गरेपनि मलम पट्टि लाग्ने होइन बेकारमा चहराउनलाई कति कुरा गर्नु ?
न त आजभोलिका विद्यार्थीलाई नै नेपाली विषयप्रति मोह छ न त आफ्ना छोराछोरीले नेपाली विषय पढोस् भन्ने चाहना अभिभावकमा नै छ । सकिनसकी अङ्ग्रेजी पढ्न लगाउने र अष्ट्रेलिया, अमेरिका, क्यानडा पठाउँला भन्दै औँला भाँचेर दिन गनी बसेका अभिभावकले आफ्ना सन्तानलाई घरबाट नै हाम्रा भाषा, धर्म, संस्कार, चाडपर्व, रीतिरिवाजका बारेमा पनि बुझाउँदै जाने हो भने नेपाली विषयप्रति यति धेरै वितृष्णा पैदा हुने थिएन होला । त्यसैले अब हामी सबै अभिभावक, विद्यार्थी र शिक्षक मिलेर नेपाली विषयप्रतिको धारणा परिवर्तन गर्नु जरुरी छ। सर्वप्रथम त राज्यस्तरबाट नै नेपाली भाषा र नेपाली विषयलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनु जरुरी छ। सरकारी कामकाजको भाषा, जनसम्पर्क एवम् पठनपाठनको माध्यम भाषाका रुपमा समेत रहेको नेपाली भाषालाई उपेक्षा गर्नु पक्कै पनि युक्तिसङत छैन । विद्यालय/ विश्वविद्यालयमा पठनपाठन हुने सबै विषय उत्तिकै महत्त्वका छन् जसरी हत्केलाका लागि पाँचै औँलाको महत्त्व छ। चाहे विज्ञान होस्, चाहे अङ्ग्रेजी होस् चाहे नेपाली यी सबैको महत्त्व आ-आफ्नो ठाउँमा उत्तिकै छ ।
नेपाली पढ्दा वा पढाउँदा सानो भइने अनि अन्य विषय पढ्दा वा पढाउँदा ठूलो भइने भ्रममा अझै कति दिन रुमलिने ?
नेपाली भाषाप्रतिको सम्मान आजै र अहिले बाटै सुरु गरौँ र आफैबाट गरौँ । म नेपाली हुनुमा र नेपाली भाषाको प्रयोग गर्न पाउनुमा गर्व महसुस गर्छु । मैले विद्यालयका कक्षाकोठामा नेपाली शिक्षण गर्दै गर्दा मेरा विद्यार्थीले आहा ! नेपाली भन्न सक्ने वातावरण निर्माणमा म सजग र सचेत रहन्छु । चाहे कथा पढून चाहे कविता साहित्यिक रसस्वादनको पाटो त छँदै छ भाषाका चार सिप सुनाइ, बोलाइ, पढाइ र लेखाइ यी सिपमा दक्ष भएको थाहा नै पाउदैनन् । पढाइलाई बोझको रुपमा नभइ मनोरञ्जनका रुपमा सिकाउन सकिने विषय नै नेपाली हो भने यही विषय निरसिलो किन बन्दै गइरहेको छ ? यसको खोजी अब पनि गरिएन भने हामी धेरै ढिला भइसकेका हुनेछौँ ।
त्यसैले नेपाली विषयप्रतिको मोह जगाउन घरबाटै सुरु गरौँ । प्रत्येक घरघरमा सानो पुस्तकालय होस्, त्यो पुस्तकालयमा कथा, कविता, निबन्ध, उपन्यास लगायतका रसिला पुस्तकहरु होऊन, जन्मदिनमा पुस्तक उपहार दिने बानी बसालियोस, आफ्ना नानीबाबुहरुसँगै बसेर ती पुस्तकहरु पढौँ, विद्यालयमा पनि आफ्नो भाषा धर्म अनि संस्कृतिका बारेमा सिकाइयोस, मनोरञ्जनात्मक र रसिलो शिक्षण विधि उपयोग गरियोस् अनि त हरेक तहमा नेपाली पढ्ने विद्यार्थीको घुइँचो लाग्छ ।
साथै नेपाली विषय कमजोरले पढ्ने हो भन्ने ट्याग हटाइनुपर्छ र नेपाली विषयलाई मुख्य विषयका रुपमा पढ्ने विद्यार्थीहरुलाई हाँसोमजाकको पात्र बनाइनु हुँदैन । उनीहरु भनेका राष्ट्रको अमूल्य सम्पत्ति हुन् किनकि जुन देशको भाषा, साहित्य अनि कला समृद्ध हुन्छ त्यो देशको पहिचान पनि विशिष्ट हुन्छ र यस्तो विशिष्टता नेपाली विषयको अध्ययन अध्यापनबाट मात्रै जीवन्त राख्न सकिन्छ । विद्यार्थीले आफुले रोजेको विषय राम्रोसँग पढ्ने हो र अब्बल भएर निस्कने हो भने अहिलेको समयमा जुनसुकै विषयको पनि उत्तिकै महत्त्व छ । यो कुरा हामी सबैले बुझ्नु जरुरी छ । हामीमा नेपाल र नेपाली हुनुको गर्वबोध छ र हाम्रो नसामा बग्ने रगतमा, हाम्रो मुटुको धड्कनमा अलिकति भएपनि राष्ट्रप्रेम छ भने सबैले नेपाली पढ्नुपर्छ ।
आलेखकर्ता रञ्जना लामिछाने बालकुमारी कलेज चितवनका सहायक प्राध्यापक हुनुहुन्छ ।