
काठमाण्डौ । आज बुधबार नेपाल स्कट एक्सचेञ्ज (नेप्से)मा ३९.४८ अंकको वृद्धि आएको छ । कारोबार सुरु भएदेखि नै बढ्न थालेको नेप्से परिसूचक अन्तिमसम्म निरन्तर बढ्दै २००७ अंकमा पुगेर रोकिएको हो ।
यसक्रममा आज नेप्सेमा १ अर्ब ४९ करोड ५५ लाख रुपैयाँ बराबरको ५१ लाख ४४ हजार कित्ता सेयर किनबेच भएको छ । यस्तै, आज २१३ कम्पनीको सेयर मूल्य बढ्दा ११ वटाको भने घटेको छ । ४ कम्पनीको सेयर मूल्य भने स्थिर कायम रहेको छ । परिसूचकमा उत्साहजनक वृद्धि आउँदा वरुण हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता २२ रुपैयाँ बढेर २४२ रुपैयाँ पुगेको छ । यसबाहेक, शुभव पावर लिमिटेडको सेयर मूल्य ९.९९ प्रतिशत र समता घरेलु लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.८६ प्रतिशतले बढेको छ ।
परिसूचक बढेपनि थ्री स्टार हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा भने ८ प्रतिशतको गिरावट आएको छ । यससँगै, कम्पनीको सेयर मूल्य प्रतिकित्ता २७ रुपैयाँले घटेर ३१३ रुपैयाँ पुगेको छ । यस्तै आज एनआईसी एसिया बैंकको सेयर सबैभन्दा धेरै कारोबार भएको छ । आज यो कम्पनीको ७ करोड ९३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
आज नेप्सेमा कारोबार भएका सबै समूहमा उत्साहजनक वृद्धि आएको छ । यसमध्ये जीवन बीमा समूहको सूचकमा २७३ अंकको सुधार आएको छ । यसबाहेक, निर्जीवन बीमा समूहको सूचक २४० अंक, होटल एण्ड टुरिजम समूहको सूचक १५७ अंक र विकास बैंक समूहको सूचक १०६ अंकले बढेको छ । यसबाहेक अन्य समूहको सूचकमा समेत उत्साहजनक वृद्धि आएको छ ।