images
images

शेयर कर्जा सीमा कति बढाउने तयारीमा गभर्नर अधिकारी

images
images
काठमाण्डौ । शेयर कर्जाका बारेमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी केही लचक हुने संकेत गरेका छन्। उनले शुक्रवार राष्ट्र बैककै विभागीय प्रमुखहरूसँग मागे शेयर कर्जा सीमा बारे सुझाव  मागेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक रूपमै गभर्नर अधिकारीसँग कुरा गर्ने भनेपछि उनी दबाबमा देखिएका हुन्।
शेयर बजारमा लगाइएको १२ करोडको सीमा हटाउनु पर्ने माग लगानीकर्ताले धेरै अघिबाट उठाउँदै आए पनि नेकपा एमालेका पूर्व अर्थमन्त्रीहरूले नै सार्वजनिक रूपमै विरोध जनाएपछि गभर्नर अधिकारी नैतिक रूपमै संकटमा आएका हुन् । यसअघि अर्थमन्त्री प्रकाश शरण महतले यस विषयमा गभर्नरलाई धेरै पटक उक्त सीमा हटाउन वा फराकिलो पार्न अनुरोध गर्दै आएका छन्। तर गभर्नर कसैले भनेको कुरा सुन्न तयार देखिएका छैनन्।
तर पछिल्लो पटक उच्च स्तरीय वित्तीय समन्वय समितिको छलफलमा गभर्नर अधिकारी एक्लिएका थिए। उनले आफूले उक्त सीमा बढाए पनि केही नहुनेसम्म भन्न भ्याएका थिए। गभर्नर अधिकारी नेकपा एमालेका पूर्व अर्थमन्त्री युवराज खतिवडाका उत्तराधिकारीका रूपमा चिनिँदै आएकाले पनि उनी एमाले अध्यक्षको सार्वजनिक अभिव्यक्तिले केही लचक भएका हुन् ।
अधिकारीले लिएको सोही नीतिपछि नै शेयर बजारले ओरालो यात्रा तय गर्न सुरु गरेको थियो। चौतर्फी रूपमा दबाब बढ्दै गएपछि अधिकारीले शेयर बजारसँग सम्बन्धित निकाय धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाललाई बोलाएरै छलफल गरेको थिए। छलफलमा हमालले समेत व्यक्तिगत लगानीकर्ताको सीमा कम्तीमा २० करोड र संस्थागत लगानीकर्तालाई सीमा नराख्न उनले सुझाएका थिए। हमालले प्राइभेट इक्युटी र भेन्चर क्यापिटलमा बैंक वित्तीय संस्थालाई लगानी गर्न छुट दिन अनुरोध गरे। भेटमा गभर्नरले ती विषय सम्बोधन गर्न आफू सकारात्मक भएको आश्वासन हमाललाई दिएका थिए।
हमालसँगको भेटपछि सोही विषयमा गभर्नरले आफ्नै कार्यालयमा समेत कुराकानी गर्न थालेका छन्। उनले राष्ट्र बैंक भित्रकै विभागीय प्रमुखहरूलाई शेयर कर्जामा के कति सीमा राख्दा राम्रो हुन्छ भनेर सुझाव मागेको नेपाल राष्ट्र बैंक स्रोत बताउँछ। स्रोतका अनुसार गभर्नरले आउने साता भित्रमा सर्कुलर जारी गर्न सक्ने सम्भावना छ।
सामाजिक सञ्जालदेखि आम सर्वसाधारणसम्मले गभर्नर अधिकारले गर्दा नै शेयर बजार घटेको आरोप लगाउँदै आइरहेका छन्। आफ्नो कार्यकालमा केही सम्झना योग्य काम गरेर जान खोजेका अधिकारीको जन मानसमा भने नराम्रो छवि बन्दै गएपछि उनी पनि अहिले आएर आफ्नो निर्णयबाट पछि हटे राम्रो भन्ने मनस्थितिमा पुगेका छन्। तर उनी सेफ ल्यान्डिङ कसरी गर्ने भन्ने दुबिधामा छन्।