
काठमाण्डौ । सोनापुर मिनरल्स एण्ड आयलले आज असोज १४ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । उद्योग प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बिक्री गरेपछि सर्वसाधारणलाई बिक्री खुला गरेको हो ।
कम्पनीले जारी पूँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँको ४० प्रतिशत अर्थात् १ अर्ब २३ करोड २० हजार रुपैयाँ बराबरको १ करोड २३ लाख २ सय कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये उद्योग प्रभावित क्षेत्रका स्थानीयलाई १२५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २२५ रुपैयाँमा १५ लाख ३७ हजार ५२५ कित्ता बिक्री गरेको थियो । रीतपूर्वक आवेदन परेको १ लाख ३४ हजार ५२० कित्ता सेयर बाँडफाँट गरिसकेको छ ।
त्यस्तै, कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १२ लाख १६ हजार ५६८ कित्ता र सामूहिक लगानी कोषलाई ६ लाख ८ हजार २८४ कित्ता सेयर बिक्री गरी बाँडफाँट गरिसकेको छ । कर्मचारीलाई प्रतिकित्ता २२५ रुपैयाँमा ६ लाख ८ हजार २८४ कित्ता सेयर सुरक्षित राखिएको छ । दोस्रो चरणमा अंकित मूल्य १ सय रुपैयाँमा १३७.५८ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३७.५८ रुपैयाँमा स्थानीयले खरिद नगरेको सेयरसहित ९७ लाख ३२ हजार ५४४ कित्ता सेयर सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरेको हो ।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १५ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा छिटोमा असोज १७ गते र ढिलोमा असोज २८ गतेसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत् आवेदन दिन सक्नेछन् । इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन ट्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।
कम्पनीको आईपीओ न्यूनतम १० कित्ता आवेदन दिन मिल्ने भएकाले लगानीकर्ताले उक्त सेयर खरिद गर्न २ हजार ३७५.८० रुपैयाँको जोहो गर्नु पर्ने हुन्छ ।