
काठमाण्डौ । नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले चीनसँग भएको भैंसीको मासु निर्यातको सहमतिले देशको व्यापार घाटा न्युनीकरणका लागि महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन्। प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमणबारे जानकारी दिन पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन्।
उनले भने, ‘भैंसीको मासु निर्यात गर्ने कुरा भएको छ। नेपाल कृषिप्रधान देश हो। त्यसमा पनि पशुको कुरा गर्दा भैंसीपालन नै हो। त्यो हाम्रा लागि प्रचुर सम्भावना छ। यसमा पनि सहमति भएको छ।’उनले यस विषयमा दूरगामी महत्व, खोज र अनुसन्धान गरेर उत्पादन बढाउनुपर्ने बताए।
‘हामीले यसको दूरगामी महत्व, खोज अनुसन्धान गरेर उत्पादनलाई गुणात्मक ढंगले बढाउन सक्यौं भने हाम्रो व्यापार घाटा न्यूनिकरण गर्न धेरै महत्वपूर्ण भूमिका खेल्नेछ,’ उपाध्यक्ष समेत रहेका प्रवक्ता सापकोटाले भने।
प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको क्रममा नेपालमा उत्पादित भैंसीको मासु आयात स्वीकृति तथा अमिलो जातका फलफूल निर्यातको लागि प्रयोगशाला बनाउन चीनले सघाउने उल्लेख छ। विज्ञहरुले यो सम्झौतालाई ‘कार्यान्वयन गर्न कठिन र रहरका लागि गरिएको सम्झौता’का रुपमा अर्थ्याएका छन्।
नेपाल कृषि अनुसन्धान परिषद्, कृषि अनुसन्धान केन्द्र लुम्लेको ‘व्यावसायिक मासु उत्पादनका लागि पाडापालन प्रविधि’ विषयक प्रकाशनका अनुसार देशको कुल मासु उत्पादनमा भैंसीको योगदान ६५ प्रतिशत छ। तर, नेपालको भैंसी वा राँगाले मात्रै यहाँको माग धान्दैन। वर्षेनि भारतबाट ठूलो संख्यामा भैंसी–राँगा आयात गरिन्छ।