‘फास्ट ट्रयाक’ निर्माणको कामलाई पर्याप्त बजेट छ : अर्थमन्त्री महत

images

बारा । अर्थमन्त्री डा.प्रकाशशरण महतले काठमाण्डौ–तराई/मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणका लागि पर्याप्त बजेट विनियोजन भएकाले बजेटको अभावमा काम नरोकिने बताएका छन् ।

३३ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा जीतपुर सिमरा उपमहानगर वडा नं ७ मा संजीवनी बाटिका वृद्धाश्रम भवन समुद्घाटन कार्यक्रममा अर्थमन्त्री महतले द्रुतमार्ग निर्माणका लागि चाहिने जति बजेट उपलब्ध गराइएको बताए । ‘द्रुतमार्गमा जति चाहिने बजेट हो, त्यति दिएका छौँ, बजेट बिना काम रोकिँदैन,’ अर्थमन्त्री महतले भने, ‘काम गर्न ढिलाइ भयो भने रोकिने हो, बजेट नपाएर रोकिँदैन ।’

images

मन्त्री महतले बारामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउनै पर्ने पनि प्रस्ट पारे । ‘पोखराभन्दा पहिला यहाँ बनाउनु पर्थ्यो, तर यहाँ सहर बनाउने कुरा उठ्यो, यहाँ सहर बनाउन आवश्यक छैन, पहिला विमानस्थल बनाउने हो,’ उनले भने । अर्थमन्त्रीले बारामा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माणको प्रयोजन बाहेक सहर बस्नका लागि जग्गा अधिग्रहण नगर्ने पनि प्रस्ट पारे । ‘सहर बसाउनका लागि हामीले जग्गा लिने काम छैन, जति एयरपोर्टका लागि आवश्यक छ, त्यतिमात्रै लिएर एयरपोर्टको कामलाई अगाडि बढाउने हाम्रो प्राथमिकता हो,’ अर्थमन्त्री महतले भने, ‘समग्र यो क्षेत्रको विकासका लागि मन, बचन र कर्मले लाग्छौँ ।’

 

अर्थमन्त्री महतले सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाले बारा, रौतहट, सर्लाही, धनुषा र महोत्तरीका केही क्षेत्रको विकासमा ठुलो टेवा पु¥याउने बताए । उनले उखु किसानहरुका लागि अनुदानको रकम छुट्याइसकेकाले केही दिनभित्र किसानले रकम प्राप्त गर्ने पनि प्रस्ट पारे । चालु आर्थिक वर्षको बजेटमा सबै मन्त्रालयको रकम कटौती भए पनि कृषि मन्त्रालयको यथावत् रहेको उनले बताए ।

 

अर्थमन्त्री महतसँगको भेटमा बाराका व्यवसायीहरुले नेपाल–भारत सीमा क्षेत्रमा रहेका छोटी भन्सारहरु सुचारु गर्न अनुरोध गरेका थिए । जवाफमा अर्थमन्त्री महतले भने, ‘अर्थ मन्त्रालयको टिम बनाएर अध्ययन पश्चातमात्रै व्यापारिक कारोबार बढी भएका ठाउँको मूल्याङ्कन गरेर छोटी भन्सारको बारेमा निर्णय गरिन्छ ।’

 

नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्व मन्त्री फरमुल्लाह मन्सुरले विभिन्न संघ, संस्थाको आर्थिक सहयोगमा वृद्धवृद्धाहरुका लागि संजीवनी बाटिका वृद्धाश्रम निर्माण गरेका हुन् । करिब एक करोड लागतमा निर्माण गरिएको वृद्धाश्रम भवन ८ कठ्ठा जग्गामा फैलिएको छ । एक सय जनासम्म ज्येष्ठ नागरिकलाई राख्ने क्षमता भएको सो वाटिकामा अहिले ६ जना वृद्धवृद्धा छन् ।

images