काठमाण्डौ । सरकारले समयमै सडक मर्मत नगर्दा दसैँका यात्रुहरूले समयमै गन्तव्यमा पुग्न कठिनाइ हुनसक्ने यातायात व्यवसायीले बताएका छन् । दसैँका लागि आजबाट सुरु भएको अग्रिम टिकट बुकिङमा यात्रुहरूको उल्लेख्य चाप रहे पनि सडकको अवस्थाले गर्दा यात्रुहरूले सोचेजस्तो सहजै यात्रा नहुन सक्ने उनीहरुले बताएका हुन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले यात्रुहरूको सुरक्षा र सहज सेवा प्रदान गर्न यातायात व्यवसायीले सक्दो प्रयास गरिरहेपनि कतिपय स्थानमा सडकको जीर्ण अवस्थाले केही कठिनाइ उत्पन्न हुनसक्ने बताए । उनले चाडवाड र भीडभाडका बेला यात्रुहरूले पनि सजगता अपनाउनुपर्ने भन्दै भाडामा नठगिउन् भनेर यातायात व्यवस्था विभागको वेबसाइटमा भाडादर राख्न लगाएको बताए ।
यात्रुहरूको सहजताका लागि काठमाण्डौका १४ स्थानमा नागरिक सहायता कक्ष राखिने भन्दै जतिसक्दो छिटो यात्रुहरूलाई गन्तव्यमा पुर्याउन आफ्नोतर्फबाट पहल हुने उनको भनाई छ । ‘मुग्लिन–पोखरा ८० किमी सडक अस्तव्यस्त छ । बुटवल, विराटनगर, काभ्रेको भकुण्डेलगायतका सडक मर्मत भएका छैनन् । हामीले बिग्रेका सडक मर्मत गर्न पटकपटक भनेका छौ’, सिटौलाले भने, ‘ती सडक मर्मत भए र ट्राफिक प्रहरीले पनि चेकजाँचको बहानामा अनावश्यक समस्या नदिए यात्रा सहज हुन्छ ।’
उनले यात्रुहरूलाई पनि आधिकारिक काउन्टरमा पुगेर टिकट काट्न तथा जानुपर्ने स्थान र आफूले तिरेको पैसा खुलाएको टिकट मात्र लिन आग्रह गरे । सिटौलाले व्यवसायीले दशैका बेला भाडा नबढाएको भन्दै भाडा बढेको भन्ने हल्लामा सत्यता नरहेको बताए ।
© 2024: मा सुरक्षित । हाम्रो टिम | सम्पर्क | हाम्रो बारेमा
Developed by: Corporate Times