काठमाण्डौ । चालु आर्थिक वर्षको चार महिनामा (साउन–कात्तिक) मा १८ अर्ब रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार साउनदेखि कात्तिक महिनासम्म १ सय ७८ परियोजनामार्फत १८ अर्ब ३५ करोड ४३ लाख तीन हजार रुपैयाँ एफडीआई आएको हो ।
कात्तिक महिनामा मात्र २७ परियोजनामार्फत एक अर्ब ७५ करोड रुपैयाँ विदेशी लगानी प्रतिबद्धता भित्रिएको हो । चार महिनामा सबैभन्दा धेरै साना उद्योग १ सय ७०, मझौला ५ र ३ वटा ठूला उद्योगमा लगानी प्रतिबद्धता आएको छ ।
नेपालमा सबैभन्दा सेवामूलक, उत्पादनमूलक, पर्यटन, सूचना प्रविधिमूलक क्षेत्रमा बढी विदेशी लगानी भित्रिने गरेको छ । सेवामूलक उद्योग ६९, उत्पादनमूलक १२, पर्यटन ८६, सूचना प्रविधि पाँच, पूर्वाधारमूलक चार, खानीजन्य र कृषिजन्य उद्योग एकर एक उद्योगमा लगानी प्रतिबद्धता आएको छ ।
गत असोज महिनामा १६ अर्ब ६० करोड ४३ लाख लगानी प्रतिबद्धता आएको थियो । अघिल्लो भदौ महिनामा मात्र ५१ वटा परियोजनामार्फत दुई अर्ब ७२ करोड २४ लाख रुपैयाँ प्रतिबद्धता आएको विभागले जनाएको छ । गत साउन महिनामा ६० उद्योगमार्फत ११ अर्ब ९३ करोड १८ लाख ३० हजार रुपैयाँ लगानीको प्रतिबद्धता आएको हो ।
साउन महिनामा सबैभन्दा धेरै विदेशी लगानीको प्रतिबद्धता आएको थियो । सुरुदेखि हालसम्म ६ हजार ३७ परियोजनामा चार खर्ब ६८ अर्ब ३२ करोड ३२ लाख २४ हजार रुपैयाँ विदेशी लगानीको प्रतिबद्धता आएको छ ।
नेपालमा प्रतिबद्धताको ३० देखि ३५ प्रतिशत रकम मात्र भित्रिने गरेको छ। नेपालमा लगानी गर्ने भनेर प्रतिबद्धता गरे पनि लगानी भने न्यून मात्र भित्रिने गरेको पाइएको छ।
© 2024: Arthachautari मा सुरक्षित । हाम्रो टिम | सम्पर्क | हाम्रो बारेमा
Developed by: Corporate Times