images
images

राहुघाट जलविद्युत् आयोजनाको डिसेन्डर निर्माण गर्न खोला फर्काइयो

images

काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणद्वारा यहाँ निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको डिसेन्डर (बालुवा थिग्राउने पोखरी) निर्माणका लागि आज राहुघाट नदीलाई फर्काइएको छ ।

रघुगङ्गा गाउँपालिका–४ दग्नाम र वडा न ५ झिँ को फेदीमा एक सय १९ दशमलव सात मिटर लामो, ३१ मिटर चौडाइ र १६ मिटर अग्लो डिसेन्टर बनाउनका लागि खोला फर्काइएको हो । दग्नामतर्फको भूगोलमा डिसेन्डर बनाउन झिँतर्फको भूगोलमा निर्माण भएको एक सय १२ मिटर लामो, एक सय १९ दशमलव सात मिटर अग्लो र पाँच मिटर फराकिलो अण्डर सुलुसबाट खोला बगाइएको राहुघाट जलविद्युत् आयोजनाका व्यवस्थापक राज विष्टले जानकारी दिए । नदी फर्काउने काम जलविद्युत् आयोजना निर्माणका लागि एउटा महत्त्वपूर्ण कोशेढुङ्गा र फड्को भएको विष्टले बताए ।

राहुघाट जलविद्युत् आयोजनाको आगामी २०२५ मार्च महिनाभित्र विद्युत् उत्पादन सुरु गर्ने कार्ययोजनासहित काम भइरहेको छ । विसं २०७४ मङ्सिरमा रु छ अर्बमा ठेक्का सम्झौता गरेको सिभिल ठेकेदार भारतको जयप्रकाश एसोशियटले हालसम्म ६५ प्रतिशत काम गरेको प्रवर्द्धक कम्पनी रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले बताए । आयोजनाको करिब ५० प्रतिशत वित्तीय प्रगति भएको छ ।

सुरुङ ९० प्रतिशत र विद्युत्गृह निर्माणको काम ५० प्रतिशतभन्दा बढी सकिएको छ । छ किलोमिटर दुई सय मिटर सुरुङमध्ये पाच किलोमिटर पाँच सय ९८ मिटर सुरुङ निर्माण सकिएको जयप्रकाश एसोशियटसका आयोजना व्यवस्थापक हरिश अग्रवालले बताए ।

अब छ सय दुई मिटर मात्र सुरुङ निर्माण गर्न बाँकी छ । अबको दुई महिनाभित्र सुरुङको ‘ब्रेक थ्रु’ गर्ने लक्ष्यसहित काम भइरहेको छ । सिभिल ठेकेदारले विसं २०७५ असारमा पहुँचमार्ग र विसं २०७६ असारमा सुरुङ खन्न सुरु गरेको थियो । बाँध, अँधेरीखोला, पिप्ले र तिल्केनीचौरका चार अडिटबाट सुरुङ निर्माणलाई तीव्रता दिइएको छ ।

सुरुङबाट आउने पानीलाई रघुगङ्गा–३ पिप्लेदेखि तिल्केनीचौरमा निर्माणाधीन विद्युत्गृहमा खसाल्ने एक सय ९६ मिटर ठाडो सुरुङलाई फिनिसिङ गर्ने काम अन्तिम चरणमा पुगेको छ । पिप्लेमा ६१ मिटर गहिरो सर्च साफ्ट निर्माण सकिएको छ । विद्युत्गृह निर्माणस्थलबाट भर्टिकल प्रेसर साफ्टसँग जोड्ने तीन सय २९ मिटर बटम प्रेसर साफ्टको सुरुङ यसअघि नै जोडिएको थियो । अडिट नम्बर ३ देखि भर्टिकल प्रेसर साफ्टसम्मको पाँच सय ४१ मिटरमध्ये चार सय ५० मिटर सुरुङ निर्माण सकिएको छ ।

विद्युत्गृहको संरचना निर्माण सकेर टर्वाइनका उपकरण जडान गर्न थालिएको छ । विसं २०७६ कात्तिकमा एक करोड दुई लाख ९३ हजार २२ दशमलव ३५ अमेरिकी डलरमा इलेक्ट्रोमेकानिकल ठेक्का सम्झौता गरेको भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड ९भेल०ले विद्युत्गृहका उपकरण आयात गर्न थालेको छ ।

भारतीय आयात निर्यात ९एक्जीम० बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र सरकारको संयुक्त लगानीमा कम्पनीको अवधारणा तथा इञ्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्रयाक्ट (इपीसी) प्रारुपमा राहुघाट जलविद्युत् आयोजना निर्माण भइरहेको छ ।

प्राकृतिक विपद्, कोरोना (भाइरस)को महामारी र कालीगण्डकीबाट नदीजन्य निर्माण सामग्री उत्खनन गर्न नपाउँदा समस्या भएको निर्माण व्यवसायीले बताएका छन् । सर्वोच्च अदालतको विसं २०७८ असारको आदेशका कारण कालीगण्डकी नदीबाट ढुङ्गा, गिटी र बालुवा उत्खनन गर्न नपाउँदा नदीजन्य निर्माण सामग्रीको अभाव भएको हो ।

यस आयोजनाले सन् २०२३ को जनवरी ३१ देखि वार्षिक रु २४ करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित २०७५ चैतमा विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) गरेको थियो । राहुघाटबाट उत्पादन हुने विद्युत् केन्द्रीय ग्रिडमा जोड्न कालीगण्डकी कोरीडोरअन्तर्गत २२० केभी (डबल सर्किट) क्षमताको दाना–कुश्मा प्रसारण लाइनमा जोड्न ‘लुप इन लुप आउट’ (लिलो)का चार टावर तयार भएका छन् । रासस

images