images
images

‘कुलमानले आफू लोकप्रिय बन्न उद्योगीको लाइन काटे’

images

काठमाण्डौ । उद्योगीहरुले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गले आफू लोकप्रिय बन्न बिजुलीको लाइन काटेको आरोप लगाएका छन् । डेडिकेटेड तथा ट्रंक लाइन विवादसम्बन्धी उद्योगीहरुले आइतबार एभरेष्ट होटलमा गरेको पत्रकार सम्मेलनमा यस्तो आरोप लगाएका हुन् ।

 

‘कुलमान घिसिङले आफू भावनात्मक भएर उद्योगी व्यवसायीलाई गलत सावित गर्न खोजेका छन्,’ सम्मेलनमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले बताए । सरकारले उद्योगीलाई सुन्ने भन्दा थुन्ने प्रवृति देखाएको भन्दै उनले कुलमानले जे बोले त्यहि कानुन नहुने उनले बताए । त्यस्तै, प्राधिकरणले विभिन्न समिति तथा निकायले दिएको सुझावलाई समेत ध्यानमा नराखी एकलौटी गर्न खोजेको समेत श्रेष्ठले बताए ।

 

प्राधिकरणलाई पनि आयकर लाग्ने भएकाले स्वयमले विद्युत उपभोग गरेको प्रमाण राख्नु पर्ने र प्रमाण नराख्ने संस्थालाई कारवाही हुनुपर्ने उनको भनाई छ । साथै, अहिले तत्काल सबै उद्योगमा बिजुली जडान गरेर समस्याको समाधान गर्नुपर्ने उनको माग छ ।

 

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारकाले पनि बिजुली उपयोग गरेको प्रमाण प्राधिकरणले दिए सबै भुक्तानी गर्ने बताएका छन् । ‘प्राधिकरणले बिजुली उपभोग गरेको प्रमाण दिन सक्यो भने हामी बिजुलीको बिल तिर्न तयार छौं,’ थप बोल्दै उनले भने- ‘सायद सुरुमा बिल पठाएको भए बिल तिर्थ्यौं तर चार वर्षपछि बिल पठाएपछि तिर्दैनौं ।’

 

आफूहरुको उद्योग प्राधिकरणको ठूला उपभोक्ता भएको बताउँदै ती उद्योग बन्द भए भने प्राधिकरणलाई पनि धक्का लाग्न सक्ने उनको भनाई छ । साथै, उनले टीओडी मिटरको तथ्यांक नराख्ने प्राधिकरणमा जिम्मेवारी लिन पनि गाह्रो हुने बताएका छन् ।

 

त्यसैगरी, नेपाल धागो उद्योग महासंघका अध्यक्ष पवन गोल्यानले प्राधिकरणले आफूले गरेको गल्तीको दोषी उद्योगलाई बोकाउन खोजेको बताएका छन् । ‘तिनुपर्ने साढे ४ अर्बलाई प्राधिकरणले २२ अर्ब तिर्नुपर्ने बनायो । मेरो रिलायन्स उद्योगले एक रुपैयाँ तिर्न बाँकि छ भने म रगत बगाउन तयार छु,’ दुःख व्यक्त गर्दै उनले भने, ‘एकातिर धेरै निर्यात गरेको भन्दै सम्मान गरेको राज्यले अर्कातिर दोषी करार गर्यो ।’

 

‘के उद्योग सञ्चालन गरेर ५ हजारलाई रोजगारी दिनु अपराध हो ?’ प्रश्न गर्दै गौल्यानले भने- ‘आज मलाई मेरा उद्योगमा काम गर्ने मजदुरको भविष्य के हुन्छ भनेर मलाई निद्रा नै लाग्न छोडिसक्यो । अब सडकमा आन्दोलन छौँ,’ प्रश्न गर्दै गौल्यानले भने । त्यस्तै, उद्योग वाणिज्य महासंघ उपाध्यक्ष हेमराज ढकालले समस्याको समाधन गर्नुको साटो दादागिरी ढंगबाट काटिएको लाइन जोड्नु पर्ने बताए ।

 

त्यसैगरी, उद्योगी तथा शंकर ग्रुपका प्रबन्धक सञ्चालक शाहिल अग्रवालले प्राधिकरणले अर्बको बिल पठाएर उद्योग बन्द गराउन खोजेको आरोप लगाएका छन् । प्राधिकरणले नाफा देखाउन र आफूले काम गरेको देखाउन अनावश्यक शुल्क उठाउन खोजेको बताउँदै उनले तथ्यांक नराखेको कारण कुलमान घिसिङले आफूले गल्ती गरेपछि जेल जाने डरले हामीलाई दोषी दिएका बताए ,।

images