काठमाण्डौ । त्रिभुवन आर्मी कल्बका राजन रोकायाले प्रथम गैँडाकोट हाफ म्याराथन २०८० को उपाधि हात पारेका छन् । उनले निर्धारित २१ किलोमिटरको दुरी १ घण्टा ३ मिनेट ५ सेकेण्डमा पुरा गरेर उपाधी हात पारेका हुन् । विजयी भएसँगै उनले नगद १ लाख पुरस्कार शिल्ड मेडल पाएका छन् ।
त्यस्तै त्रिभुवन आर्मी कल्बकै नरेन्द्र सिंह राउत दोस्रो भए। उनले निर्धारित दुरी १ घण्टा ३ मिनेट ३० सेकेण्डमा पुरा गरी नगद ५० हजार पुरस्कार हात पारे ।
त्यस्तै तेस्रो स्थान धापाखेल काठमाडौँका अजित कुमार यादवले हात पारे । उनले निर्धारित दुरी १ घण्टा ५ मिनेट ५२ सेकेण्डमा पुरा गरेका थिए । विजयी भएसँगै उनले नगद २५ हजार पुरस्कार पाएका छन् ।
महिलातर्फ एपिएफका सिमा चौधरी प्रथम भइन् । उनले सोही दुरी १ घण्टा २७ मिनेट १४ सेकेण्डमा पार गरेकी थिइन । उनलाई २५ हजार पुरस्कार प्रदान गरिएको थियो ।
क्रमशः टप टेन भित्र पर्ने धावकलाई प्रोत्साहन स्वरुप जनही ५ हजार, टप ५० जनालाई मेडल प्रदान गरिएको थियो ।
त्यस्तै ५ किलोमिटर विद्यार्थी मैत्री दौड प्रतियोगितामा पश्चिम नवलपरासीका प्रेमलाल कोहार प्रथम भए। उनले निर्धारित दुरी १५ मिनेट १९ सेकेण्डमा पुरा गरेका थिए । विजयी भएसँगै उनले १० हजार पुरस्कार हात पारे ।
तनहुँ रिसिङका अमृत विकले १५ मिनेट ३६ सेकेण्डमा पुरा गरी दोस्रो भए । उनले ५ हजार पुरस्कार पाए । काठमाण्डौ चन्द्रागिरीका अनुज महत तेस्रो भए । १५ मिनेट ५५ सेकेण्डमा दुरी पार गरी उनले ३ हजार पुरस्कार पाए । यस प्रतियोगितामा ८ कक्षादेखि १० कक्षासम्मका विद्यार्थीले सहभागिता जनाएका थिए ।
विजय फाउण्डेसन नेपालको आयोजनामा भएको प्रथम गैँडाकोट हाफ म्याराथन २०८० मा २१ किलोमिटरका लागि २८ महिला सहित २५० जनाले नाम टिपाएका थिए भने ५ किलोमिटरको विद्यार्थीतर्फ १८० जनाले नाम टिपाएको संयोजक आदर्श सिग्देलले जानकारी दिए ।
विजय फाउण्डेसनका अध्यक्ष त्रिलोचन सापकोटाले ‘नेपाली पन, नेपाली मन र नेपाली धन’ सहित भन्ने नारा सहित स्थापित फाउण्डेशनले गैँडाकोटको नाम अन्तर्राष्ट्रिय स्तरमा पहिचान गराउन प्रतियोगिता आयोजना गरिएको बताए । स्वास्थ्य र खेलकुदमा अब गैँडाकोट अघि बढेको बताउँदै हरेक वर्ष पौष १५ गतेका दिन प्रतियोगिता गरिने बताए ।
गैँडाकोट नगरपालिका नगर प्रमुख मदनभक्त अधिकारीले खेलकुद स्वास्थ्यका लागि महत्त्वपूर्ण रहेको बताउँदै विजय परिवारको कामको प्रशंसा गरे ।
विशिष्ट अतिथि अन्तर्राष्ट्रिय म्याराथुन धावक वैकुण्ठ मानन्धरले मोफसलमा यस खालका कार्यक्रमको लागि विजय फाउण्डेशनसँगै विजय परिवारको कामले प्रभावित भएको बताए ।
विजय विकास स्रोत केन्द्रका अध्यक्ष कृष्णप्रसाद सापकोटाले सामाजिक कार्यमा विजय परिवार निरन्तर लागिरहेको बताउँदै आगामी दिनमा समेत यस खालका कार्यक्रमलाई निरन्तरता दिइने बताए ।
भेट्रान धावक बुद्धविर लामाले आर्थिक रुपमा ठूला भार पर्ने भएपनि आयोजकको यस खालको प्रयासले धावकहरुमा उत्साह थपिने बताए ।
गैँडाकोटका चोक–चोकमा गैँडाकोटबासीले घडा स्थापना गरी स्वागत गर्नुका साथै धावकलाई हौसला प्रदान गरेका थिए । ५० बढी चोकमा प्रहरी, ट्राफिक प्रहरी, स्वयम्सेवक खटाइएको थियो ।
गैँडाकोट ५ विजय सामुदायिक शिक्षा सदनबाट सुरु भएको दौड गैँडाकोट ८ विजय विकास स्रोत केन्द्रलाई देब्रे पार्दै नन्दन वन, भानु चोक, गैँडाकोट ७ गैरी, जयश्री पुल, गैँडाकोट ९ थुम्सीबाट जयश्री फुड्सबाट गैँडाकोट ७ टेम्पो पार्कहुँदै पिसपार्क, गैँडाकोट ६ गैँडाचोक, गैँडाकोट ५ नारायणी नदी किनार, गैँडाकोट २ इलाका प्रहरी कार्यालयदेखी शिलान्यास चोक, गैँडाकोट १ विकास चोक, बैंकटेश मन्दिर, मौलाकाली फेदीबाट मिलनचोक हुँदै गैँडाकोट ४ कालिगण्डकी करिडोर, गैँडाकोट पम्पिङ, लखनचोक, गैँडाकोट ५ काँग्रेसचोक, गणेश मन्दिर, कालिकाचोक, जनक स्कूल हुँदै विजय सामुदायिक शिक्षा सदन पुगेको थियो ।
© 2025: मा सुरक्षित । हाम्रो टिम | सम्पर्क | हाम्रो बारेमा
Developed by: Corporate Times