काठमाण्डौ । चितवनको भरतपुर महानगरपालिकाले नगर प्रहरी नायब उपरीक्षकसहित २८ जनालाई दर्जयानी चिन्ह प्रदान गरेको छ ।
आज भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी र प्रमुख प्रशासकीय प्रमुख नरेन्द्रकुमार रानाले २८ जना नगर प्रहरीलाई संयुक्तरुपमा दर्जयानी प्रदान गरेका हुन् ।
महानगरको नगर प्रहरीको कमाण्ड नगर प्रहरी नायव उपरीक्षक हरि कृष्ण ढकालले सम्हालेका छन् । नेपाली सेनाको प्रमुख सेनानीबाट अवकाश पाएका ढकालले भरतपुर महानगर प्रहरीमा प्रवेश गरेका हुन् । दर्ज्यानी चिन्ह ग्रहण गरेसँगै पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै ढकालले मध्य नेपाल सभ्य, सुन्दर र सुसंस्कृत भरतपुर महानगर बनाउने अभियानमा प्रतिबद्ध रहेको बताए ।
नगर प्रहरीले गर्नुपर्ने महानगरपालिकामा देखिएका प्रमुख समस्यालाई समधान गर्न नगर प्रहरी कुनै पनि त्रास बिना अगाडि बढ्ने उनको भनाइ छ । गत असोज १४ गते नगर प्रहरी नयाब उपरीक्षकसहित ३० जना नगर प्रहरी माग गरेको थियो । ३० जना माग भएकोमा २८ जनामात्रै छनोट भएका छन् । महानगरमा भइरहेको सहरीकरणसँगै महानगरपालिकाभित्र नगर प्रहरीले गर्नुपर्ने काम वृद्धि भएपछि आवेदन माग गरेको थियो ।
महानगरपालिकामा नयाँ २८ जना नगर प्रहरी थप भएसँगै नगर प्रहरीको संख्या ८३ जना पुगेको महानगरका प्रशासन शाखा प्रमुख झलककुमार श्रेष्ठले जानकारी दिए ।
नगर प्रहरीको संख्या थप भएसँगै महानगरका अवैध संरचना हटाउने, सार्वजनिक अतिक्रमणमा परेको जग्गा फिर्ता, महानगरको सौन्दर्यकरणलगायतका कामहरु अगाडि बढाउने महानगरको लक्ष्य रहेको छ ।
नगर प्रहरीको जिम्मेवारी महानगरपालिकाको नीति, कानुन, मापदण्ड तथा निर्णय कार्यान्वन गर्ने गराउने, सार्वजनिक सम्पतिको सुरक्षा, संरक्षण र अतिक्रमण रोकथाम तथा नियन्त्रण गर्ने, न्यायिक समितिले गरेका मिलापत्र तथा निर्णयहरुको कार्यान्वन गराउने, बजार तथा पार्किङ स्थलको रेखदेख र व्यवस्थापन गर्ने र विपद् व्यवस्थापन सम्बन्धी कार्य गर्ने लगायतका छन् ।
© 2025: मा सुरक्षित । हाम्रो टिम | सम्पर्क | हाम्रो बारेमा
Developed by: Corporate Times