काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले पुनर्बीमा अर्थात् रि–इन्स्योरेन्स कम्पनीहरुले पनि चुक्ता पुँजी बढाउनु पर्ने निर्णय गरेको छ । बुधबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले पुनर्बीमा कम्पनीले चुक्ता पुँजी बढाउनुपर्ने निर्णय गरेको हो ।
बीमा कम्पनीको जोखिम बहन गर्ने क्षमता बढाएपछि अब पुनर्बीमाको पनि बढाउनुपर्ने भएको प्राधिकरणका प्रवक्ता राजुरमण पौडेलले बताए । उनका अनुसार अब रि–इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी २० अर्ब रुपैयाँ पु¥याउनुपर्नेछ । नेपालमा अहिले पुनर्बीमा कम्पनी २ वटा मात्रै छन्। नेपालमा अहिले सरकारी स्वामित्वको नेपाल पुनर्बीमा कम्पनी र निजी स्वामित्वको हिमालयन रि–इन्स्योरेन्स छन्।
असार मसान्तसम्मको वित्तीय विवरणअनुसार नेपाल पुनर्बीमा कम्पनीको चुक्ता पुँजी १२ अर्ब ८१ करोड रुपैयाँ र हिमालयन रि–इन्स्योरेन्सको चुक्ता पूँजी १० अर्ब रुपैयाँ रहेको छ । अब यी दुबै कम्पनीले चुक्ता पूँजी २०/ २० अर्ब रुपैयाँ पु¥याउनुपर्ने छ ।