images
images

मापसे र लापसे कारबाहीमा ४ करोड राजश्व सङ्कलन

images

काठमाण्डौ । नेपाल प्रहरीले गत ६ महिनामा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ३९ हजार २७२ चालकलाई कारबाही गरेको छ । सोही अवधिमा लागू पदार्थ सेवन (लापसे) गरी सवारी चलाउने २४२ चालक पनि कारबाहीमा परेका छन् ।

 

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकालले मापसेविरुद्धको कारबाहीबाट ४ करोड रुपैयाँ राजश्व सङ्कलन भएको जानकारी दिए । यात्रु, सवारी र सडकलाई सुरक्षित बनाउँदै गन्तव्यमा पुर्‍याउन तथा दुर्घटना न्यूनीकरण गर्न मापसे तथा लापसे जाँचलाई प्राथमिकता दिँदै आइएको उनले बताए ।

 

 

लामो दूरीको यात्राका क्रममा मापसे गरी सवारी साधन चलाउने प्रवृत्तिले आकस्मिक र गम्भीर दुर्घटना निम्त्याउने गरेको तथ्याङ्कले देखाएको छ । सिसिटिभीको पहुँच न्यून र सीमित ठाउँमा मात्र ट्राफिक प्रहरीको उपस्थितिका कारण मापसे गरी सवारी चलाउने प्रवृत्ति बढ्दो रहेको प्रहरीको निष्कर्ष छ । त्यस्तो प्रवृत्तिलाई निरूत्साहित गर्दै मापसे र लापसे नियन्त्रणलाई प्रभावकारी बनाउन प्रहरीले विभिन्न समयमा विविध नीति लागू गरी कार्यान्वयन गर्दै आएको छ । “दुर्घटनाबाट आफ्नो र यात्रुको ज्यान बचाउनका लागि प्रत्येक चालकले सही अवस्थामा सवारी साधन चलाउनुपर्छ । यो कुरालाई स्थानीयस्तरमा सबै नागरिकले बुझ्न र पालना गर्न आवश्यक छ”, प्रहरीका केन्द्रीय प्रवक्ता ढकालले भने ।

 

चालु आर्थिक वर्षको ६ महिनामा मापसे गरी सवारी चलाउने काठमाण्डौ उपत्यकामा १८ हजार ६२७, कोशी प्रदेशमा २ हजार ५२४, मधेशमा २ हजार २१, बागमतीमा १ हजार ९८, गण्डकीमा ८ हजार ९२३, लुम्बिनीमा २ हजार ७७३, कर्णालीमा १ हजार २६४ र सुदूरपश्चिम प्रदेशमा २ हजार ४२ जना कारबाहीमा परेका उनले बताए । काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले उपत्यकाका धेरै ठाउँमा सवारी साधन जाँच गर्ने, लापसे सेवनमा मुद्दा चलाउने गरेकाले पछिल्लो समयमा चालक सजग र सचेत हुन थालेका बताए ।

 

उनका अनुसार उक्त कारबाही अभियानमा काठमाण्डौ उपत्यकामा १ करोड ८६ लाख २७ हजार रुपैयाँ, कोशी प्रदेशमा २५ लाख ३९ हजार ५ सय रुपैयाँ, मधेशमा २० लाख ४२ हजार ५ सय रुपैयाँ, बागमतीमा ११ लाख १७ हजार रुपैयाँ, गण्डकीमा ९५ लाख ६८ हजार रुपैयाँ, लुम्बिनीमा २७ लाख ७३ हजार रुपैयाँ, कर्णालीमा १२ लाख ६० हजार रुपैयाँ र सुदूरपश्चिम प्रदेशमा २० लाख ४२ हजार रुपैयाँ राजश्व सङ्कलन भएको छ । सो अवधिमा लापसे गरी सवारी चलाउने काठमाण्डौ उपत्यकामा ८१ जना, कोशी प्रदेशमा २८, गण्डकीमा ८८, लुम्बिनीमा २० र सुदूरपश्चिम प्रदेशमा २५ जना कारवाहीमा परेका छन् ।

images