images

आर्थिक वृद्धिका लागि नेपाली उत्पादन मौलिक हुनुपर्छः अर्थमन्त्री महत

काठमाण्डौ । अर्थमन्त्री डा.प्रकाशशरण महतले नेपाली उत्पादन मौलिक हुनुपर्नेमा जोड दिएका छन् । निर्यात व्यवसायी महासंघ नेपाल (फिन) को स्थापना दिवस तथा चौथो वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री महतलेअर्थतन्त्रका लागि निर्यात हुने हरेक नेपाली उत्पादन मौलिक हुनुपर्नेमा जोड दिएका हुन् । निर्यात व्यापारलाई देशको अर्थतन्त्रको मेरुदण्डका रुपमा विकास गर्न आवश्यक रहेको औंल्याए ।

 

images

आर्थिक वृद्धि, रोजगारी सृजना, राजश्व बृद्धि, र दिगो विकासलाई प्रवर्द्धन गर्न निर्यातकर्ताहरूले खेल्दै आएको भूमिका महत्वपूर्ण रहेको बताउँदै अर्थमन्त्री महतले थप निर्यात वृद्धिमा ध्यान दिन समेत उनले आग्रह गरे । निर्यात क्षेत्रको भविष्य निकै राम्रो रहेको बताउँदै मन्त्री महतले निर्यातमुखी अर्थतन्त्रका लागि सरकारले वातावरण तयार पार्न सक्दो प्रयास जारी राख्ने बताए । सोही अवसरमा डा.महतले नेपाली उत्पादनहरु उच्च प्रविधियुक्त भन्दा पनि मौलिक हुनुपर्नेमा जोड दिए ।

उत्कृष्ट निर्यातकर्ताहरू सम्मानित वार्षिकोत्सवको अवसरमा महासंघले उत्कृष्ट निर्यातकर्ताहरूलाई सम्मान गरेको छ । सम्मानित हुनेहरूमा नेपाल पस्मिना इन्ड्रष्टिज एसोसिएशनबाट कर्केन कुमार गुरुङ, नेपाल ऊल फेल्ट प्रड्युसर्स एण्ड एक्पोर्टस एसोसिएशनबाट महेश्वर श्रेष्ठ, गार्मेन्ट एसोसिएशन अफ नेपालबाट शक्तिकुमार गोल्यान र फेडेरेशन अफ लार्ज कार्डामोम इन्टरप्रेनर्स अफ नेपालबाट इन्द्रकुमार अग्रवाल सम्मानित भएका छन् ।

यसैगरी नेपाल ह्याण्डमेड पेपर एसोसिएशनबाट पद्मरत्न धाख्वा, नेपाल हर्बस एण्ड हर्बल प्रोडक्ट्स एसोसिएशनबाट प्रसुन सत्याल, नेपाल कार्पेट प्रड्युसर एण्ड एक्सपोर्ट एसोसिएशनबाट छेवाङ्ग डाम्डुल लामा, नेपाल जिन्जर प्रोडुसर्स एशोसिएसनबाट श्याम लिम्बु, अर्गानिक एशोसियसन अफ नेपालबाट तारा बास्कोटा, फेयर टेड ग्रुपबाट मिलन भटराई, हिमालयन अर्थोडक्स टिमबाट निरज राठी, फुटवेयर म्यानुफयाक्चरर एशोसियसन नेपालबाट अमिर प्रतापजंग राना, नेपाल कथ्था उत्पादक संघबाट कैलाशचन्द्र गोयल, ह्याण्डिक्राप्ट ग्लास उद्योग फ्रफोसन एशोसियसन अफ नेपालबाट गोपीप्रसाद कँडेल, नेपाल बरुम एशोसियसनबाट सञ्जीव शाह, नेपाल प्लाई म्यानुफयाक्चरर एशोसियसनबाट बिष्णु मदोगदिया, नेपाल डेरी एशोसियसनबाट निराजन कोइराला, रुद्राक्ष व्यवसायी संघबाट शालिकराम थापा र नेपाल कफी प्रोड्युसर्स एशोसियसनबाट बोधराज अर्याल सम्मानित भएका छन् ।