काठमाण्डौ । अर्थमन्त्री डा.प्रकाशशरण महतले सोमबार प्रतिनिधि सभामा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८० पेस गर्ने भएका छन् । संघीय सरकार प्रतिनिधि सभाको हिउँदे अधिवेशन आजबाट सुरु हुँदैछ । बैठक अपराह्न चार बजेका लागि बोलाइएको छ ।
सोही बैठकमा विद्युत् व्यापार विधेयक २०८० र राष्ट्रिय मर्यादा सम्बन्धी विधेयकसँगै अर्थमन्त्री डा।महतले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८० पेस गर्नेछन् ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी व्यवस्था गर्न बनेको ऐन संघीय सञ्चित कोष र अन्य सरकारी कोषको सञ्चालन तथा व्यवस्थापन, बजेट तर्जुमा, निकासा तथा खरिद, आर्थिक कारोबारको लेखाङ्कन तथा प्रतिवेदन, आन्तरिक नियन्त्रण, लेखापरीक्षण तथा अन्य आर्थिक गतिविधिलाई व्यवस्थित गरी संघीय वित्तीय व्यवस्थापन प्रणालीलाई जिम्मेवार, पारदर्शी, नतिजामूलक तथा उत्तरदायी बनाउन, समष्टिगत आर्थिक स्थायित्व कायम गर्न र संघ, प्रदेश तथा स्थानीय तहको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्ने सम्बन्धमा आवश्यक व्यवस्था गर्न ऐनको व्यवस्था गरिएको हो ।
यसै ऐनलाई थप व्यवस्थित र कार्यमुखी बनाउन सरकारले संशोधनको प्रस्ताव संसद्मा लैजादैछ । मन्त्रिपरिषद्को निर्णय अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले गत माघ ४ गते बिहीबार आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८० जारी गरेका थिए ।